चितवनमा ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो

आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घर जग्गा तथा सजावट र फर्निचरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका २ वटा एक्स्पो आयोजना हुने भएका छन् । भरतपुर महानगरपालिका– १० स्थित चितवन प्रदर्शनी स्थलमा माघ ८ देखि ११ गतेसम्म नेपाल ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एन्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको हो ।
ए एस इभेन्ट एन्ड मार्केटिङ प्रालि र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा दुवै मेलाको आयोजना हुन लागेको हो । पछिल्लो समय आधुनिक शैलीमा घर तथा आवासीय भवनको निर्माण तीव्र बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै चितवन प्रदर्शनीस्थलमा मेला आयोजना गर्न लागिएको हो ।
घर जग्गा तथा निर्माण मेलामा आधुनिक शैलीका गुणस्तरीय निर्माण सामग्री र प्रविधि आकार्षण बन्ने ए एस इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । “जगदेखि निर्माण पछिको अन्तिम सजावटसम्मका सबै सामग्री र त्यसको प्रविधिका बारेमा सर्वसाधारण, व्यवसायी र सम्बद्ध पक्षलाई जानकारी गराउन एकै छानामुनी दुइटा मेला आयोजना गर्न लागिएको हो,” श्रेष्ठले भने ।
फर्निचर तथा सजावट मेलाको टाइटल स्पन्सरमा जेम फ्लोरिङ छ भने हाइटेक्स कार्पेटले मुख्य प्रायोजन गर्नेछ ।
त्यसै गरी दुवै मेलालाई उद्योग परिसंघ र चितवन उद्योग संघले प्रवद्र्धन गर्ने छन् । रेस्ट्रोलोजी, अधिकारी क्रिएटिभ कन्सर्न र ब्रिज एजुकेशन फाउन्डेसनले दुवै मेलालाई सपोर्ट गर्ने छन् ।
विलासिताबाट अपरिहार्य बन्दै गएको फर्निचर तथा सजावटका उत्पादनलाई पनि एकै पटक मेलामा आकर्षणका रूपमा समावेश गरिएको अर्को आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । ४ दिनसम्म चल्ने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।