Logo

नेपालगन्जमा फोहोरबाट मोहर कमाउने योजना असफल

नेपालगन्ज– नेपालगन्जमा ‘फोहोरबाट मोहर आर्जन गर्ने’ लक्ष्यका साथ सञ्चालनमा आएको ल्याण्डफिल साइट अव्यवस्थित हुँदा फोहोरमैला व्यवस्थापन कार्य चुनौतीपूर्ण बनेको छ । फोहोर व्यवस्थापनको वैज्ञानिक विधि नअपनाउँदा फोहोरबाट मोहर आर्जन गर्नु त परको कुरा एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र लथालिंग हुने सम्भावना बढेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले २०७६ सालमा नगरको फोहोर व्यवस्थापन गरी फोहोरबाट मोहर आर्जन गर्ने महत्त्वाकांक्षी योजनाका साथ नेपालगन्ज–२३ मा एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र ल्याण्डफिल साइट सञ्चालन गरेको थियो । उद्देश्यअनुसार सड्ने फोहोरबाट प्रांगारिक मल उत्पादन गरेर बिक्री गर्ने र नसड्ने प्लास्टिक, फलामलगायत सामान बेच्ने भनिए पनि फोहोरको प्रशोधन नहुँदा यो योजना सफल हुन सकेको छैन ।

ल्याण्डफिल्ड साइटमा फोहोर थुपार्न ४ वटा ठूला खाडल बनाइएका छन् । ३२ वर्षको योजनाअनुसार एउटा खाल्डोले ८ वर्षसम्म सहरको फोहोर धान्न सक्ने अनुमान गरिएकोमा सबैखाले फोहोर एकै ठाउँमा फाल्दा ५ वर्षमा भरिएको छ । कुहिने र नकुहिने फोहोर नछुट्टयाएर यसरी एउटैमा फालिए डम्पिङ साइटका बाँकी तीन खाल्डा पनि समय अगावै भरिने छन् ।

एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र ल्याण्डफिल साइटका साइट इन्चार्ज शिव लम्सालले छुट्टा–छुट्टै रुपमा फोहोरमैला व्यवस्थापन गर्न समस्या भएको बताए । सुरुमा राम्रैसँग सञ्चालन भएपनि पछि समस्या भएको भन्दै कर्मचारी पनि कटौती भएपछि सबै फोहोर एकै ठाउँमा फाल्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । ‘यसले फोहोर व्यवस्थापन कार्यमा सोचेअनुसार काम गर्न सकिएको छैन’ उनले भने ।

सुरुको एक वर्षसम्म कुहिने र नकुहिने फोहोर छुट्टयाउने कार्य गरिएपनि त्यसपछि उपमहानगरलाई आर्थिक भार पर्ने भन्दै कर्मचारी कटौती गरिएपछि सबैखाले फोहोर एकै ठाउँमा फाल्ने गरिएको छ । जसका कारण सञचालन नहुँदा हाल प्रशोधन केन्द्रका मेसिनसमेत बिग्रिएको नेपालगन्ज उपमहानगरपालिका वातावरण इन्जिनियर प्रकाश डिसीले बताए । ल्याण्डफिल साइटलाई पूर्णरुपमा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति थप गरी प्रशोधन कार्य प्रभावकारी हुनुपर्ने उनको भनाइ छ ।

यता नगरको फोहोर व्यवस्थापनका लागि नागरिकस्तरबाटै अभियान चलाउँदासमेत उपमहानगरपालिका गैरजिम्मेवार भएर पन्छिएको भन्दै त्यसको आलोचना हुने गरेको छ । सरसफाई अभियन्ता गोपाल गिरीले उपमहामनगरका प्रमुख जिम्मेवारीमा रहेका व्यक्तिले नै फोहोर व्यवस्थापनमा चासो नदिँदा शहर दुर्गन्धित हुँदै गएको बताए । ‘नगरमा जताततै फोहोर छ, यसको व्यवस्थापनमा सघाउन नागरिकस्तरबाटै अभियान चलाएका थियौं’ उनले भने, ‘तर मेयर, उपमेयर र वातावरण इन्जिनियरले चासो नदिँदा उक्त कार्यसमेत लथालिंग भएको छ ।’

हाल ल्याण्डफिल साइटमा दैनिक २४ देखि ३० टन फोहोर संकलन हुँदै आएको छ । जसमध्ये मेसिन सञ्चालन नहुँदा मासिक ४० टनसम्म मात्रै फोहोर प्रशोधन हुने गरेको बताइएको छ । यसले फोहोरबाट मोहर कमाउने योजना असफल बनेको छ । सहरी विकास मन्त्रालयको १५ प्रतिशत, एसियाली विकास बैंकको ५५ प्रतिशत, नगर विकास कोषको १५ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकाको ५ प्रतिशत गरी ३८ करोड ९३ लाख ४२ हजार रुपैयाँको लागतमा ल्याण्डफिल साइट निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्