Logo

तीन करोडको खसी-बोका बिक्री

दाङ– दाङमा महिला उद्यमीले करिब तीन करोड मूल्य बराबरको खसी–बोका बिक्री गरेका छन् । दसैंको अवसरमा जिल्लाका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमार्फत् दुई करोड ९२ लाख बराबरको खसी–बोका बिक्री गरेका हुन् । जसमा एक हजार ६६८ वटा खसी–बोका बिक्री भएका छन् । जिल्लामा सबैभन्दा धेरै खसी–बोका बिक्री गर्नेमा लमही नगरपालिका–९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था रहेको छ ।

कर्मठले एक करोड आठ लाख रुपैयाँको ५८७ वटा खसी–बोका बिक्री गरेको आइएएलभिसी परियोजनाकी बजार सहजकर्ता वसन्ता मगरले जानकारी दिइन् । बजार सहजकर्ता मगरका अनुसार लमही नगरपालिका–७ कप्तानगन्जÞमा रहेको विपन्न सामाजिक उद्यमी महिला सहकारी संस्थाले ६८ लाख ३४ हजार रुपैयाँको चार सय एक वटा, लमहीकै वडा नं. १ सुनडबरीमा रहेको नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३६ लाख २३ हजार रुपैयाँको दुई सय सात वटा खसी–बोका बिक्री गरेको छ ।

यसैगरी राजपुर गाउँपालिका–५ जङ्ग्रहवामा रहेको बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३६ लाखको दुई सय एक वटा, गढवा गाउँपालिका–६ गढवामा रहेको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले २८ लाखको १७० वटा, लमही नगपालिका–२ केरुनियामा रहेको समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले आठ लाख तीन हजार रुपैयाँको ४७ वटा, घोराही उपमहानगरपालिका–२ झिङ्नीमा रहेको सुधार सामाजिक उद्यमी महिला सहकारी संस्थाले तीन लाख ६६ हजारको २० वटा र घोराही उपमहानगरपालिका–१३ वनगाउँमा रहेको ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुई लाख ७१ हजार रुपैयाँको २० वटा खसी–बोका बिक्री गरेको बजार व्यवस्थापक मगरले जानकारी दिइन् ।

गाउँ–गाउँमा महिला उद्यमीले उत्पादन गरेका खसी–बोका तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै व्यवसायीले खरिद गरेका हुन् । जिल्लामा खरिद गरेका खसी–बोका काठमाडौंलगायतका विभिन्न ठाउँमा पठाउने गरेका छन् । सहकारी संस्थाले महिला उद्यमीलाई बाख्रापालनदेखि बजारीकरणमा सहयोग गरेपछि जिल्लामा खसी–बोकाको उत्पादनमा वृद्धि भएको उनले बताइन् । ‘पहिलेको तुलनामा पछिल्लो समय व्यावसायिक रूपमा खसी–बोका उत्पादन बढ्दै गएको छ । यसले महिलालाई आत्मनिर्भर बन्न सहयोग गरेको छ,’ उनले भनिन् ।

अहिलेसम्म सहकारीले दसैंलाई लक्षित गरेर खसी–बोका बजारीकरण गरेको भन्दै उनले तिहारका लागि आवश्यक थप खसी–बोका बिक्री गर्न थालिएको बताइन् । गाउँघरमा महिलाले पालेका खसी–बोका सहकारी संस्थाले बजारीकरणमा सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा बाख्रापालन बढ्दै गएको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका बजार व्यवस्थापक हेमनारायण चौधरीले बताए ।

बजार व्यवस्थापक चौधरीका अनुसार सहकारीमा आबद्ध प्रत्येक सदस्यले कम्तीमा ४/५ देखि ३५/४० वटासम्म माउ बाख्रा पाल्ने गरेका छन् । तिनै माउ बाख्राबाट उत्पादन भएका बोका र खसी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको चौधरीले बताए । उनका अनुसार सहकारीमा आबद्ध करिब १४५ बढी महिलाले करिब ६ सय खसी–बोका बिक्री गरेका हुन् । देउखुरीमा बाख्रापालनका लागि घाँसको समस्या नहुने भएकाले पछिल्लो समयमा अधिकांश महिला व्यावसायिक बाख्रापालनमा जोडिएको लमही नगरपालिका–७ कप्तानगन्ज निवासी सीता पुनले बताइन् ।

व्यावसायिक रूपमा जति बाख्रा पाले पनि बिक्रीमा समस्या नहुने भएपछि विगत केही वर्षदेखि व्यावसायिक बाख्रापालनमा जोडिएको बताइन् । बाख्रापालन गर्दा आम्दानीसमेत राम्रो भइरहेको उनले बताइन् । ‘महिलाले पालेका खसी तथा बोकाको बजारीकरणमा सहकारी संस्थाले सहयोग गर्ने भएपछि बिक्रीमा समस्या हुँदैन । जसले गर्दा धेरै महिला व्यावसायिक बाख्रापालन जोडिनु भएको छ,’ उनले भनिन्, ‘जति बाख्रापालन गरे पनि बिक्रीमा समस्या भएको छैन ।’ व्यावसायिक रूपमा गरिएको बाख्रापालनले घरका लागि राम्रो आम्दानी हुने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्