मटिहानी बजार सुनसान, भारतीयमा भीड
जनकपुरधाम– महोत्तरीको मटिहानी बजार तिहारको समयमा पनि सुनसान देखिएको छ । तर भारतीय सीमा क्षेत्रमा रहेको मधवापुर बजारमा भने नेपाली उपभोक्ताको भीड नै लागेको छ । करिब २५ वर्ष अगाडि आर्थिक सम्पन्नता देखिएको मटिहानी बजारले माओवादी द्वन्दकालदेखि हालसम्म आफ्नो साख जोगाउन सकेको छैन । त्यतिबेला ठूला–ठूला तीनवटा राइस मिल रहेको र २४ गाउँका किसानहरू आफूले उत्पादन गरेको धान तथा खद्यान्न बिक्री गर्न मटिहानी बजार आउने गथ्र्ये । जसको कारण यहाँका आर्थिक गतिविधि उच्च रहेको थियो ।
मटिहानी उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र चौधरीका अनुसार अहिले सीमावर्ती भारतीय बजार मधवापुरको व्यापार उच्च रहेको छ । यता मटिहानीको व्यापारीहरूलाई बोहनी गर्न पनि सकशको अवस्था सिर्जना भएको छ । सीमावर्ती मटिहानी बजार तथा भारतको मधवापुर बजार टाँसिएर रहेको छ । नेपाली बजार र भारतीय बजारको पसलमा करिब उस्तै मूल्य रहेको छ । तर पनि नेपाली उपभोक्ताहरू भारतीय बजार मधवापुरतर्फ आकर्षित हुँदै गएका छन् । नेपाली उपभोक्तामा भारतीय बजार मधवापुरमा सस्तोमा समान पाउँछ भने मानसिकता रहेकोले उनीहरू त्यता किनमेल गर्न जाने गरेका छन् ।
नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण तस्करी बढी हुने सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी र जनपथ प्रहरीले भारतीय समान नेपाल भित्रिदा लचकता अपनाउने तर घरायसी सामान लिन जाने उपभोक्ताहरूलाई दु:ख दिने गरेकोले नेपाली बजार सुक्दै गएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र कुमार भण्डारीको भनाइ छ । अहिले नेपाली उपभोक्ताहरू भारतीय बजार मधवापुरमा गएर कपडा, चिनी, दाल, आलु प्याजलगायतका दैनिक उपभोग्य सामानहरू खरिद गर्दा मधवापुरको दैनिक व्यापार तीन करोड रुपैयाँसम्मको हुने गरेको छ ।
मधवापुर चेम्वर अफ कमर्सका अध्यक्ष चेतनकुमार रश्मीले ७५ प्रतिशत नेपाली किनमेलको लागि भारतीय बजार आउने गरेकोले यहाँको बजार आर्थिक रूपमा सम्पन्न भएको बताए । मधवापुर बजारमा ठूला साना गरी करिब एक हजारको हराहारीमा पसलहरू रहेका छन् । भारतीय व्यापारीहरूले नेपाली उपभोक्ताहरूलाई दृष्टिगत गरी सहुलियत दरमा सामान बिक्री गर्दा अहिले सीमावर्ती भारतको जयनगर, महिनाथपुर, दुहबी, खौना, बासोपटी, उमगाउ, हरिने, देवधा, मधवापुर, मिठा मोड, सुरसण्ड बजारहरूमा नेपाली उपभोक्ताको कारण दैनिक १० करोड रुपैयाँसम्मको व्यापार हुने गरेको छ ।
नेपाली उपभोक्ता र व्यापारी हाम्रो लागि भगवान हो मिठा मोडका व्यापारी कृष्ण कुमार सिंह भन्छन्,‘नेपाली उपभोक्ताकै कारण अहिले चाडपर्वको बेला दैनिक एक करोडभन्दा बढीको व्यापार हुन्छ । दैनिक ५० हजारभन्दा बढी नेपाली उपभोक्ताहरू किनमेल गर्न सीमावर्ती भारतीय बजार जाने गर्दछन् ।’ यही कारण भारतीय बजार आर्थिक रूपमा बलियो हुँदै गएको हो ।
नेपाली उपभोक्ताको कारण व्यापार फस्टाउँदै गएको बताउँदै भारत जयनगरका किराना व्यापारी हरे कृष्ण साह भन्छन्,‘नेपाली उपभोक्ताहरू तथा व्यापारीहरू नआएको खण्डमा हाम्रो व्यापार आर्थिक रुपमा चौपट हुने थियो ।’ उत्पादनमुलक ठूला कलकारखाना, उद्योग धन्धा खुल्यो भने मात्र नेपाली पुँजी भारततर्फ पलायन हुनबाट जोगिने स्थानीय व्यवसायीहरूले बताए ।