Logo

भैरहवामा युनिक दिपावली उत्सव हुने

भैरहवा– नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अवसरमा भैरहवामा ‘युनिक दिपावली उत्सव’ हुने भएको छ । भैरहवामा कार्यालय स्थापना गरी विगत १७ वर्षदेखि साउण्ड र म्युजिकको व्यवसाय गर्दै आएको युनिक साउण्डको आयोजनामा लक्ष्मी पूजाको दिन कात्तिक १५ गते बेलुकी ६ बजेदेखि मध्यरातसम्म कार्यक्रम आयोजना हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

लक्ष्मी पूजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवर्द्धन गर्न यो कार्यक्रम आयोजना हुन गइरहेको युनिक साउण्डका सञ्चालक रहिश खानले पत्रकार सम्मेलनमा जानकारी दिए । एकै संस्थाले कहिँकतै सहयोग नउठाई एकल लगानीमा यो उत्सव हुन लागेको र बिगतमा ८ वटा कार्यक्रम तिहारमा गरिसकेको खानले बताए ।

सिद्धार्थनगरको उज्यालो चोक (सानु डिपार्टमेन्ट स्टोर) देखि मिलन चोकसम्म उत्सव आयोजना हुनेछ । उत्सवमा नृत्य, गायन लगायतका सांस्कृतिक कार्यक्रमहरुसँगै लाईट शो हुनेछ । कार्यक्रम स्थलको करीव १ सय मिटर बाटोलाई बिजुलीले झलमल गरिने गरिने र कार्यक्रममा सहभागी हुन कुनै शुल्क समेत नलाग्ने खानले बताए ।

कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीले सहजीकरण र समन्वय गरेको छ । कार्यक्रम सम्पन्न गर्न ९ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । तिहार उत्सवमा भैरहवाका साथै वरपरका क्षेत्रहरु बुटवल, मणिग्राम, परासी साथै छिमेकी देश भारतको सिमावर्ति शहरबाट समेत गरी ५० हजार बढीको सहभागिता हुने अनुमान आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्