दाङमा राजस्व संकलन बढ्याे
दाङ– दाङमा चालु आर्थिक वर्षमा संघीय कार्यालयको राजस्व संकलन अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको कात्तिक ९ सम्म दुई अर्ब एक करोड ४२ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिसम्म संघतर्फ ७६ करोड २५ लाख राजस्व संकलन भएको थियो । गत वर्षको यही अवधिमा संकलन भएको राजस्वभन्दा यस वर्ष एक अर्ब २५ करोड १७ लाख रुपैयाँ बढी असुल भएको छ ।
प्रदेशतर्फ थोरै बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को कात्तिक ९ सम्म २१ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म २२ करोड ९३ लाख रुपैयाँ असुली भएको छ । प्रदेशमा चालु आवको कात्तिक ९ सम्मको अवधिमा ९७ लाख १५ हजार रुपैयाँ राजस्व बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५१ करोड २९ लाख राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयले यो आर्थिक वर्षको सोही अवधिसम्म ५९ करोड ९४ लाख रुपैयाँ असुली गरेको छ ।
गत आर्थिक वर्षको कात्तिक ९ सम्म १७ करोड नाैं लाख रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले अहिलेसम्म एक अर्ब ३५ करोड ६ लाख राजस्व संकलन गरेको छ । गत वर्ष १२ लाख रुपैयाँ राजस्व असुली भएको इलाका र जिल्लाको नापी कार्यालयमा यस वर्ष १५ लाख ७० हजार राजस्व संकलन भएको छ । गत वर्ष ४९ लाख २२ हजार रुपैयाँ राजस्व उठेको शिक्षा विकास तथा समन्वय इकाईमा यस वर्ष ४४ लाख ५६ हजार असुली भएको छ । तीन लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको उच्च अदालतमा २१ लाख २९ हजार, ७५ लाख राजस्व असुली भएकोे जिल्ला अदालतमा एक करोड एक लाख संकलन भएको छ ।
गत वर्ष २३ लाख २६ हजार राजस्व संकलन गरेको कोइलाबास भन्सार कार्यालयले यस वर्ष २४ लाख १४ हजार संकलन गरेको छ । गत वर्ष २१ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको संघीय शहरी तथा भवन निर्माण आयोजनाले यस वर्षको १४ लाख २२ हजार राजस्व असुली गरेको छ । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले भने यस वर्ष गत वर्षको तुलनामा कम राजस्व संकलन गरेका छन । गत वर्ष तीन करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा तीन करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
गत वर्ष एक करोड ६० लाख राजस्व संकलन गरेको सडक डिभिजन दाङले २१ लाख राजस्व संकलन गरेको छ । ४४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस वर्ष ५८ लाख ४३ हजार राजस्व संकलन गरेको छ । जिल्ला हुलाक कार्यालयमा गत आर्थिक वर्षको कात्तिक ९ सम्म नौ लाख ५९ हजार राजस्व असुली भएकोमा यो वर्ष आठ लाख ४५ हजार रुपैयाँ राजस्व उठेको छ । मालपोततर्फ गत वर्ष २९ हजार रुपैयाँ राजस्व उठेकोमा यस वर्ष ९१ हजार रुपैयाँ असुली भएको छ ।
प्रदेशतर्फको राजस्व
आर्थिक वर्ष २०८०/८१ को कातिक ९ सम्म १७ करोड ४० लाख राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालय तुलसीपुरले यस वर्ष १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । दुई करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेको प्रदेश लेखा इकाई कार्यालयले एक करोड ७९ लाख राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको कात्तिक ९ सम्म ३२ लाख ११ हजार रुपैयाँ संकलन गरेको डिभिजन वन कार्यालयले यस वर्ष एक करोड ३५ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत वर्ष ५० लाख राजस्व संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालयले यस वर्ष ५९ लाख र ३३ लाख १६ हजार राजस्व संकलन गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ५९ हजार, ६० लाख ९२ हजार राजस्व संकलन गरेको पूर्वाधार विकास कार्यालयले ११ लाख, तीन हजार रुपैयाँ राजस्व संकलन गरेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले यस वर्ष भने राजस्व संकलन गर्न नसकेको देखिएको छ ।
गत वर्ष एक लाख पाँच हजार राजस्व संकलन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले दुई लाख रुपैयाँ राजस्व संकलन गरेको शहरी विकास तथा भवन कार्यालयले यस वर्ष २४ हजार राजस्व संकलन गरेको कृषि ज्ञान केन्द्रले यस वर्ष १० हजार राजस्व संकलन गरेको छ । जिल्लाको राजस्व संकलनमा तलमाथि हुनुमा विभिन्न कारण रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय घोराहीका कोष नियन्त्रक रोमा पाण्डेले जानकारी दिइन् ।
कोष नियन्त्रक पाण्डेले कोलेनिकामा बढेको राजस्व संघले स्थानीय तहमा पठाएको संघीय सशर्त अनुदान खर्च नभई फिर्ता भएको रकम देखिएको बताइन् । ‘कोलेनिकाको धेरै राजस्व वित्तीय हस्तान्तरणको खर्च नभई जम्मा भएको रकम हो’ उनले भनिन् ‘सशर्त अनुदान खर्च नभई फिर्ता भएको देखिन्छ ।’ उनले मालपोत तथा नापीमा जग्गा कारोबार, प्रशासनमा राहदानी तथा भन्सारमा आर्थिक गतिविधिका कारण राजस्व घटबढ हुने गरेको बताइन् ।