विकास हुन नसकेको विकास
देशका पछिल्ला विपत्का घटना मानसपटलमा ताजै छन्, जसले नजिकैको चाडपर्व खल्लो बनाइदियो । सामान्य पानी पर्दा समेत हामीले कथित रूपमा बनाइएका संरचनाहरूले धान्दैनन् अनि बर्सेनि हामीमा आँसु बगाइदिन्छ । यो यसपटकको मात्र सत्य कथा होइन । न यस्ता कारणले हामीमा ज्ञान थपेको छ, न हामीले कुनै खबरदारी गर्न सकेका छौँ ।
हर्षको त कुरो परै जाओस्, बिस्मातमा हामी दैनिकी गुजार्न बाध्य बनेका छौँ । नाममात्रको विकासको पछि लाग्नाले सिर्जना भएका पीडासँग विकास साटिरहेका छौँ । जोखिममा जीवन बिताइरहेका छौँ अनि यसैलाई विकास भनिरहेका छौँ र त्यसतर्फकै यात्रामा हामी रमाइरहेका छौँ ।
कुनै न कुनै रूपले भ्रष्टाचार नगरेको अवस्थाका रकम हामीले प्रयोग गरेकै छैनौँ । त्यही भएर पनि न हामीले नीति सुधार्यौं, न स्थल । सम्झँदै र अभिलेख गर्दै जाऔँ त, हामीले केलाई विकास भनिरहेका छौँ ? राजमार्ग बन्छ— दुई दिनमा बन्द हुन्छ, खानेपानीको मुहान एकछिनमा स्वाहा हुन्छ, भीमकाय टावर बनाएर पैसाको दुरुपयोग गर्छौं, शिक्षण संस्था खोल्छौँ अनि व्यापार गर्छौं, विलासिताका चिज आयात गरेर पैसाजति विदेश पुर्याउँछौँ, कलिला केटाकेटी पढ्ने बहानामा र युवा रोजगारीको नाममा श्रमको व्यापार गर्छौं, सरकार सामाजिक सञ्जाल हेरेर नियमित कमाइ हुने विकास गर्छ, भ्रष्टाचारीको पैसाले महल र पार्टी कार्यालय अनि मठमन्दिर स्थापना हुन्छ, हवाई र यातायात भाडा चाडपर्वमा बढाइन्छ, सामान छोइनसक्नु महँगो गराइन्छ, काम गरेको ठाउँमा नियमित पैसा गराइँदैन आदि÷इत्यादि । अब भनौँ हाम्रो यात्रा कता रहेछ त ! यी सबै गतिविधि विकास होइनन्, विनाश हुन् । यसैको सिकारमा हामी निरन्तर दोहनमा परिरहेका छौँ ।
विकासप्रतिको चाहना जनतामा बढेको अवश्य छ, तर निरन्तरता छैन । पहुँचवालाहरूको आशामा विकासको गुणस्तर कहिल्यै हेरिएको छैन । तसर्थ, विकास जनतामा न पुग्न सकेको छ, न आशै छ । सरकार नीति तथा कार्यक्रम बनाउन कहिल्यै थाक्दैन । महलको सपना देखाउँछन् अनि कामचाहिँ लतपतमा, एउटै बन्दैनन् । बनेका पनि सबै कच्चा । सरकारको यही अनियमित शैलीले पनि हरेक कार्यक्रम योजनामै सीमित रहन पुगेका छन्, राम्रोसँग गरिएका छैनन् । एक नेतृत्वले अर्कोलाई असहयोग गरेकै कारण यी सब अधुरा र अपुरा छन् । खान पाइन्जेल सबै ठीक अनि नपाउँदा सबै बेठीक भनिदिँदा-गरिदिँदा हरेक काम दिगो रूपमा बनेका छैनन् । फलतः हामी जनता यसको मारमा परिरह्यौँ अनि यसैलाई विकास मानिरह्यौँ ।
विकासले जनतालाई जोड दिनुपर्छ र उसकै लागि केन्द्रित हुनुपर्छ । पर्याप्त स्रोतको अभावमा विकासले गति लिन सक्दैन । विकासले मनोवैज्ञानिक परिवर्तनको प्रक्रियालाई मात्र होइन, भौतिकतालाई पनि समेट्न सक्नुपर्छ । विकासको साध्य भनेको मानवीय जीवनलाई सहज र सुखमय बनाउनु हो । जनताको चाहना भनेको सम्पन्न र सन्तोषजनक जीवनयापन गर्ने अवसरमाथिको पहुँच विस्तार गर्नु हो । यही अर्थतन्त्रले नागरिकको क्षमता, अस्तित्व, अधिकार, स्वतन्त्रता, आत्मविश्वास र असल शासनलाई निर्दिष्ट गर्छ ।
किनकि असल शासनबिना देश विकास सम्भव छैन । यही अभावमा आज विकासका विविध गतिविधि दायराभन्दा बाहिर गएका छन् । खान पाइन्छ र एकछिनको रमाइलोमा भुलेर हरेक कार्यमा अनियमितता घुसाउँदा हाम्रा विकास— विकास हुन सकेनन् । फलतः विकासको हजारौँ वर्षदेखिको चाहना आज पनि पूरा हुन सकेको छैन । प्रतीक्षाको क्रम जारी छ, तर प्राप्तिका संकेत झनै टाढा बन्दै गएका छन् । विकासको यात्रा परिवर्तित अवश्य छ । शैली फेरिएको छ तर त्यसका सीमितताले गर्दा विकासको अभाव कायमै छ । हामी भन्न छाडेका छैनौँ, बाटो छैन, अनि अचानक डोजर ल्याएर अवैज्ञानिक बाटो बनाउँदै गएका छौँ, जसको खति बेहोरिहेका छौँ ।
पाना पल्टाएर हेरौँ, हामी देश बन्दै छ त भन्दै छौँ तर कसरी ? उत्तर दिन सक्ने अवस्था छ ? गरेका काम दिगो नहुनु अनि युवा देशमा नथामिनुले यही संकेत गर्छ त ? पक्कै गर्दैन । आफूलाई मिल्ने–मिल्ने कानुन बनाएजस्तो गरेर थुपारिएको फोहोरको डंगुरले प्रत्येकलाई अहिलेसम्म स्वच्छ राख्न सकेको छैन । देशभित्र ठूलो शून्यता छाउँदै गएको छ । कुरा र व्यवहारमा विदेशको मोह सबैभन्दा प्यारो र मायालु शब्द भएको छ । विदेश जाने हुँदा स्रोत संकलनमा प्रश्नै नउठ्ने तर स्वदेशमै केही गर्छु भन्नेले स्रोत नपाउने अवस्थालाई मलजल गरिएको छ । गाउँबाट सहरको आकर्षण बढेको छ भने सहरबाट दोस्रो वा तेस्रो सहरको अकर्षणमा भारी वृद्धि ल्याइदिएको छ । उसै पनि बढ्दै गएको वैदेशिक रोजगारी प्रतिशत पछिल्लो समयको विपत्, अभाव र राजनीतिक अस्थिताका कारण झनै बढेर गएको छ । जताततै बढेको भ्रष्टाचार, द्वन्द्व, नैराश्यता, बेरोजगारी, अराजकता आदिले उत्पन्न गराएको गरिबीका कारण वैदेशिक यात्रामा नसोचेको वृद्धि छाएको छ र यो केही वर्षमै उल्का र अचम्म तरिकाले घट्ने अवस्था पनि देखिँदैन ।
अवस्था यति बिग्रँदा पनि हामी अझै चेत अवस्थामा पुगेका छैनौँ । दरिलो स्रोतमाथिको दिगो उपयोगको नीति नबन्दा झन् विकराल परिस्थितिको सामना गरिरहनुपरेको छ । देशमा रोजगारीको अवस्था अत्यन्त नाजुक छ । यो संख्या पछिल्लो समयमा पनि ११.४ प्रतिशतमै रहेको छ । विपत्सँगै बढेको थप परनिर्भर नीति, प्राविधिक पक्षमा कमी, अस्थिर राजनीति, वित्तीय समस्या आदिका कारण उद्योग-संस्थान क्षेत्रहरूमा वृद्धि हुन नसक्दा उत्पादित श्रम शक्तिलाई समयानुकूल प्रयोग नगरिनुले पनि यस क्षेत्रमा विभिन्न प्रकारका बेरोजगारीको आगमन भएको छ ।
उत्पादनमूलक उद्योग विस्थापन हुँदै गएका छन् भने सेवामुखी उद्योग वृद्धि भएका छन् । कृषिमा काम गर्ने जनसंख्या प्रतिशतमा मात्र बढेको छ । विकासलाई मूल मन्त्र जपेर काम गर्नुपर्ने हातहरू अस्थिरताको सिकार बन्दै अन्य क्षेत्रमा बेप्रयोग बढ्नुले हामीले अपनाएका विकास नमुना र व्यवहारको तादात्म्यता नदेखिएको प्रस्टै छ । किनकि हामीले पूरै भ्रष्टाचारसहितको काम गर्नमा ध्यान केन्द्रित गरेका छौँ र सक्कली नाम नसुन्ने अवस्थामा पुगिसकेका छौँ ।
भ्रष्टाचार आज खास देशभित्र र समाजको मात्र नभई हरेक मुलुकको पेचिलो मुद्दा बनेको छ । बढ्दो भ्रष्टाचारका कारण नै समाजमा गरिबी, पछौटेपन र आर्थिक असमानताको खाडल बढ्दै गएको छ । सूचना सञ्जालीकरण र आधुनिक प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरूप र आयाममा समेत परिवर्तन गराउँदै जनतामा निराशा बढाउँदै लगेको छ । अहिले त राजनीति गजबको पेसा बनेको छ । एकाएक यही नाममात्रको विकास जपेर महलको बास गर्न थाले, धनको जोहो, परिवारवाद, विलासी सवारी साधनमा व्यस्त बनेका छन् । घटना र परिघटनाले यस कुराको सहजै पुष्टि गर्छ । अपहरणकारीदेखि अकुत सम्पत्ति कमाउनेसम्मका नेताहरू भ्रष्टाचारको दलदलमा फसेका छन् ।
बढेको भ्रष्टाचारका कारण महँगी, कालोबजारी, असमानता, पहुँचता र अभावको मात्रा बढ्दै गएको छ । आखिर पुच्छारमा अनि थिचोमिचोमा सामान्य जनता नै सिकार भएका छन् । छोटो र जोखिम मोली काम गर्ने गलत शैली हाबी हुँदै जाँदा नवधनाढ्य बढे तापनि दीर्घकालीन यात्रामा ठूलो ठेस पुर्याएको छ । छिटो कमाउने ध्येयले बजार जमाउँदा र धनी हुन खोज्दा अनियमितताको खोलो बगेको छ । बजार असहजतामा यात्रा गर्न बाध्य छ, गुपचुपमा सरकार त्यसको मूकदर्शक भएर भ्रष्टाचारलाई संरक्षण गरिरहेको छ । आर्थिक असन्तुलन बढ्दो छ, गरिब झन् गरिब र धनी झन् धनी हुँदै गएका छन् । वस्तुतः सुशासन प्रवद्र्धन सरकारको प्राथमिक दायित्व भए पनि सरकार र तिनको कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित नतिजा भने प्राप्त हुन सकेको छैन । विकास झनै टाढा परिँदै छ र जनता झनै गरिब ।
विकासको नाममा बढेको अनियमितताले देशका आर्थिक विकासका महत्वपूर्ण पक्षहरू तहसनहस बन्न पुगेका छन् । प्रविधि, श्रम, वित्त, स्रोत आदिका कारण पछाडि परेको आर्थिक पक्षहरूमा देशको यो पछिल्लो नकारात्मक कार्यले भने ठूलो चपेटामा पारिदिएको छ । देशमा छाएको व्याप्त भ्रष्टाचार, हिंसा, मनपरीतन्त्र, जनचेतनाको कमी, रुढिवादी परम्परा एवं संस्कृति, सीमित शिक्षा, त्यसमा पनि व्यावहारिक एवं व्यवसायमूलक नभएर सैद्धान्तिक शिक्षाको मात्र विकास, ६२ प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर, कृषिमा पुरातन प्रविधिको अवलम्बनले उत्पादनमा ऋणात्मकता, उद्योग एवम् कलकारखाना उचित मात्रामा नहुनु, भएका पनि बन्द हुनु आदि कारणले बेरोजगारको सानदार जित भएको छ ।
त्यस्तै स्वरोजगारीको व्यवस्था नहुनु, शिक्षित एवं दक्ष जनशक्तिलाई उचित स्थान नदिइनु तथा कदर एवम् सम्मान नहुनु, सीप र श्रमको मूल्यांकन नहुनु, नातावाद, कृपावादले मात्र अवसर पाउनु, कुल जनसंख्याको २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि थेचारिनु, जीविकोपार्जन गर्ने स्थायी व्यवस्था नहुनुजस्ता विविध कारणले गर्दा आज युवावर्गको ठूलो जमात विदेशतिर भासिन बाध्य छ । यसले एकातिर युवाको पलायन भएको छ भने अर्कातिर पठाएको रकमबाट दीर्घकालीन कार्यमा लगानी कम भएका छन् । फजुल खर्चमा रकम खर्चनाले देशले क्षणिक फाइदामा दिगो क्षति बेहोर्नुपरिरहेको छ । यो सबै कुशासनकै कारण भएको देखिन्छ ।
आत्मनिर्भरताका लागि कुनै प्रयास चालिएका छैनन्, तर भन्न छाडिएको छैन— परनिर्भरतामा कमी गर्ने, स्रोतको उत्खनन गर्ने । आधारशिला खडा गर्न नसकेको यो परिवेशमा सोच्नैपर्ने भएको छ— कतै हामीले विकास बुझ्न सकेनौँ कि ? शैलीकै कारण जनतामाझ पुर्याउन सकिएन कि ? यसकारण गरिएका सम्पूर्ण गतिविधिलाई मनन गर्दै विकासको पुरातन शैली र व्यवहारमा परिमार्जनसहित नवीन सोचको मन्त्र अहिलेको आवश्यकता बनेको छ । किनकि मुलुकको सामाजिक, आर्थिक विकासको मुख्य बाधक भ्रष्टाचार नै भएको कुरा अब छिपाउने विषय बनेन ।
सत्य पनि यही हो र तथ्य पनि यही हो । यसको नियन्त्रण नै अहिलेको चुनौती पनि हो । देशको प्रगतिका लागि आगामी दिनमा देखिएका विकासका सम्भावना उपयोग गर्ने उपयुक्त आर्थिक नीति र दिगो योजनासँगै प्रतिबद्धताको देशमा खाँचो छ । व्यवस्था सुधार्ने राजनीतिक दलहरू सुध्रिनु वर्तमानको चोखिने माध्यम बन्न सक्ला तर समाधान होइन । एक वर्ष टिक्न नसक्ने कथित विकास जनताले दुःख पाउन चाहेका होइनन्, किनकि यो विकास होइन, विकासको नाममा जालझेल मात्र हुन् ।