हम्पालमा विद्युत सुविधा विस्तार
पर्वत– विभिन्न पुराणमा वर्णन गरिएको पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालाञ्जर हम्पाल लेकमा विद्युतीकरण गरिएको छ । पर्वतको उच्च स्थानमा अवस्थित जलजला गाउँपालिका–५ र ६ मा रहेको कालञ्जर हम्पाल क्षेत्रमा विद्युत जडान गरिएको हो । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा विद्युत जडान गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार मोदीको लेसपारदेखि हम्पालसम्म ३७ वटा विद्युतका पोल र एक हजार पाँच सय मिटर तार तानेर बिजुली लगिएको हो । हम्पाल कालञ्जर क्षेत्रमा विद्युतीकरणका लागि जलजला र मोदी गाउँपालिकाकाबाट चालु आर्थिक वर्षमा विनियोजन भएको एक/एक लाख बजेट कार्यान्वयनका लागि नारन सापकोटा अध्यक्ष र टिका पुन सचिव रहेको उपभोक्ता समिति गठन भएको थियो । विद्युत सुविधा नहुँदा यहाँ आउने पर्यटकलाई बास बस्न, सञ्चार सुविधाको उपयोग गर्न समस्या पर्दै आएको थियो ।
सोमबारदेखि विस्तार भएको विद्युतीकरणको उपाध्यक्ष आचार्यले बत्ती बालेर शुभारम्भ गरेका थिए । हम्पाल क्षेत्रको उपल्ला भेगमा पनि विद्युत विस्तारको काम भइरहेको उनले बताए । समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा रहेको कालञ्जर हम्पाल क्षेत्र धार्मिक एवम् प्राकृतिक रुपमा सुन्दर पर्यटकीय स्थलको रुपमा परिचित छ । पछिल्लो समय यहाँको पर्यटन विकासका लागि विभिन्न पूर्वाधारसमेत विस्तार गरिएको छ ।
हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन संघीय, प्रदेश र गाउँपालिकाले संयुक्त रुपमा पूर्वाधार निर्माण थालेका छन् । पर्यटकका लागि आश्रयस्थल, भ्यू प्वाइन्ट, खानेपानीको व्यवस्था, शौचालय निर्माण र सडक स्तरोन्नति लगायतको पूर्वाधार निर्माण गरिएको हो । पूर्वाधार बनिरहेका बेला विद्युत सुविधासमेत पुगेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण अझै वृद्धि हुँदै जाने हम्पालमा होटल सञ्चालन गर्दै आएको टिकाबहादुर पुनले बताए ।
‘विद्युत नहूँदा पर्यटकहरु बास बस्न समस्या भएको थियो’ उनले भने, ‘अबदेखि भने धेरै दिनसम्म पनि हम्पालमै पर्यटक राख्न सकिन्छ ।’ हम्पाल र जलजलालाई पर्यटकीय स्थलका रुपमाविकास गर्न करिब एक अर्बको लागत अनुमान गरिएको डीपीआर तयार पारी पूर्वाधार निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले हम्पाल लेकमा भ्यूप्वाइन्ट निर्माण, शौचालय, सन्त बस्ने कुटी निर्माण गरेको थियो भने आश्रय स्थलका लागि भवन निर्माण सुरु गरेको थियो । संघ र प्रदेशबाट विनियोजन भएको २०/२० लाख रुपैयाँबाट पूर्वाधार निर्माण भएको पालिका अध्यक्ष आचार्यले जानकारी दिए । यसैगरी गत आर्थिक वर्ष २०८०/०८१ मा निर्माणधिन भवन बनाउन गाउँपालिकाबाट १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरी भवनलाई पूर्णता दिएको पालिकाका इन्जिनियर सुनिल बाँनियाले जानकारी दिए ।
हम्पालवाट हिमश्रृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे र मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङसम्मको भूगोल अवलोकन गर्न सकिने सुन्दर पर्यटकीय स्थल हो ।
हम्पाल क्षेत्रमा नीरमसी, पाँचऔलो सतुवालगायत बहुमूल्य जडीबुटी प्रशस्त पाइनुका साथै कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपंक्षीको बसोबास छ । लालीगुराँसको जंगल रहेको हम्पालमा ठूलो मैदान छ । सोही मैदान सम्याएर तलाउ बनाउने योजना गाउँपालिकाले बनाएको छ । मोदी गाउँपालिकाले पनि यहाँ पदमार्ग र पर्यटकीय पूर्वाधार निर्माण थालेको छ ।