Logo

चाडपर्वको बेला बढ्यो तस्करी

धनगढी– चाडपर्व लागेसँगै बजारमा उपभोग्य लगायतका विभिन्न वस्तुको माग बढेको बेला भारतबाट चोरीपैठारी पनि बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत असोजमा भन्सार छली ल्याएको ८७ लाख ३३ हजार रुपैयाँको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाइएको छ । कात्तिक १० सम्म ४३ लाख १३ हजार रुपैयाँको सामान बरामद गरिएको छ ।

दशैंतिहार लागेसँगै प्रहरीले दैनिक रुपमा भन्सार छलीको सामान ल्याएर भन्सार कार्यालयलाई बुझाइरहेको छ । मंगलबार पनि जिल्ला प्रहरी कार्यालयले चार लाख ६२ हजार रुपैयाँको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । कपडा, आलु, गुड, बदाम, सुर्तिजन्य पदार्थ र चिनी भन्सारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

एक हप्ता अगाडि जिल्ला प्रहरी कार्यालयले कैलारी गाउँपालिका–८ लौसाबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ५० किलो भर्तिका ४१ बोरा (१६ लाख ८७ हजारबराबरको) चिनी बरामद गरी भन्सार कार्यालयलाई गाडीसहित बुझाएको थियो । प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले सीमा नाकामा प्रहरीले सक्रियता बढाएका कारण भन्सार छलीका सामान बरामद हुने दर बढेको बताए । भारतसँग सीमा जोडिएको जिल्लाका हरेक नाकामा प्रहरी खटिएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको कात्तिक १० गतेसम्म दुई करोड ७३ लाख रुपैयाँको भन्सार छलीका सामान फेला पारी भन्सार कार्यालयमा बुझाएको छ । गत आर्थिक वर्षमा सात करोड ९० लाखको सामान बरामद भएको थियो । सशस्त्र प्रहरीले पनि भन्सार छलीका सामान फेला पारी भन्सार कार्यालयको जिम्मा लगाउने गरेको छ ।

चाडपर्वको बेला बजारमा माग बढी हुने भएकाले व्यापारीहरुले बढी सामान आयात गर्ने गरेको र यो समयमा चोरीपैठारी पनि बढी हुने गरेको भन्सार कार्यालय कैलालीले जनाएको छ । कार्यालयका भन्सार अधिकृत पवित्रकुमार खड्काले प्रहरी कार्यालयले अहिले दैनिकजसो भन्सार छलीको सामान ल्याएर भन्सार कार्यालयमा बुझाइरहेको बताए । कात्तिक १० सम्म भन्सार छली सामान ल्याएको ५१७ वटा मुद्दा दर्ता भएको छ भने प्रतिवेदन रकम तीन करोड ६४ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षमा एक हजार ४७६ वटा मुद्दा दर्ता भएकोमा ११ करोड ८४ लाख रुपैयाँ प्रतिवेदन रकम थियो । भन्सार कार्यालय मुद्दा फाँटका नायब सुब्बा पहलबहादुर केसीका अनुसार कपडा, चिनी, मिठाई, चकलेट, सूर्ति, बिँडी, मलखाद, मोबाइल, मोबाइल पार्टस, आलु, प्याज, गहुँ, प्लाष्टिक झिल्ली, कूलर, ब्रोइलर कुखुरा, हार्डवेयरका सामान, ब्याट्री, सवारी साधनका पार्टपुर्जा आदि बढी चोरीपैठारी हुने वस्तु हुन् । चोरीपैठारीमा प्रयोग गरिएको मोटरसाइकल, गाडीसमेत प्रहरीले भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

गत आर्थिक वर्षमा भन्सार कार्यालयले भन्सार छली ल्याएका सामान ७९७ पटक लिलाम गरी एक करोड २४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २२१ पटक लिलाम गरी २९ लाख ४७ हजार राजस्व प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्