स्तम्भमय वसन्तपुर

तेह्रथुम- जिल्लाका विभिन्न स्थानमा रहेका ऐतिहासिक स्तम्भहरू निर्माणभए सँगै तेह्रथुमले पर्यटकीय रूप लिन थालेको छ । विभिन्न संघसस्थाहरूको सकृयतामा ५ वर्षदेखि ऐतिहासिक स्तम्भहरूको निर्माण सुरु भएसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्दै आएको छ ।
गुराँसको राजधानीको रूपमा चिरपरिचित रहेको तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको वसन्तपुर बजारमा गुराँसको स्तम्भ निर्माण हुनु नै जिल्लाको पहिलो ऐतिहासिक स्तम्भहरूको संंरक्षणको सुरुवात भएको लालीगुराँस नरपालिकाका मेयर अर्जुन माबुहाङले बताए । ऐतिहासिक स्तम्भहरू निर्माणको क्रममा केही दिनअघिमात्र जिल्ला सदरमुकाम म्याङलुङमा मेयङ अर्थात् बिरालोको स्तम्भ निमार्ण सम्पन्न गरी अनावरण गरिएको छ ।
यसअघि लालीगुराँसको लसुने बजारमा लसुन, छथर गाउँपालिका ६ सुदापमा तक्मीनाक्ला हात्ती चौतारी, आठराई संग्रान्ती बजारमा किराँत धर्मका समाज सुधारक फाल्गुनन्द लिङदेनको स्तम्भका साथै तीनजुरे नजिकै आरआर गार्डेनमा रहेका विभिन्न आकृतिहरूलाई व्यवस्थित बनाई निर्माण सम्पन्न भइसकेका छन् । स्तम्भ निर्माणका लागि सरकारी लगानीभन्दा पनि वैदेशिक रोजगारमा रहेका युवाहरूको सहयोग बढ्दो रूपमा रहेको छ ।
पूर्वको धरान धनकुटा हुँदै तेह्रथुमसम्म सहज रूपमा पुगिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउन सकिने भएको पर्यटन प्रवद्र्धनमा जुट्दै आएका युवा प्रकाश श्रेष्ठले बताए । स्तम्भहरू निर्माणसँगै यहाँ आउने आगन्तुकहरूको आकर्षण बढ्दो रूपमा रहेको छ । जिल्लामा आउने गरेका आगुन्तकहरूले कुनै न कुनै स्तम्भको अवलोकन गरेकै हुन्छन् । पर्यटन विकासको राम्रो सम्भावना बोकेको यस जिल्लामा एसियाकै अल्लो ह्यात्रुङ झरना हेर्न आउने पर्यटकहरू कम छैनन् । पूर्वको विभिन्न जिल्लाका साथै राजधानी तथा भारतको सिक्किम, दार्जीलिङ, गेन्तोकलगायत तेश्रो मुलुकका पर्यटक भित्रिने क्रम बढ्दो रहेको यहाँका स्थानीयले बताउने गरेका छन् ।
पर्यटन विकासका निम्ति यस वर्ष छथर गाउँपालिकाले ४४ लाख रुपैयाँ विनियोजन गरेको छथर गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताए । उनका अनुसार जिल्लालाई पर्यटन विकासका लागि सम्भाव्यता अध्ययन गरी लगानी गर्ने हो भने बर्षेनी लाखौं रुपैयाँ भित्र्याउन सकिनेछ । जिल्लाका धेरै स्थानहरूमा ऐतिहासिक स्तम्भहरू निर्माण कार्य भइरहेका छन् ।