बजार अनुगमन नहुँदा उपभोक्ता मारमा «

बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

पोखरा-नियमित बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् । देश संघीयतामा गएसँगै बजारमा नियमित तथा प्रभावकारी ढंंगबाट बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।
वस्तु र सेवाको प्रभावकारी ढंगबाट बजार अनुगमन नहुँदा आम उपभोक्ताहरु ठगिएको सरोकारुवालाहरुले औंल्याएका हुन् । उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नियमित र प्रभावकारी ढंगबाट बजार अनुगमन हुन नसक्दा आम उपभोक्ता मूल्यमा ठगिएसँगै स्वास्थ्यमासमेत प्रत्यक्ष असर पर्नेगरी खाद्य पदार्थ सेवन गर्न बाध्य भएको गुनासो गरेका हुन् ।
गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले देश संघीयतामा गएसँगै बजार अनुगमनमा कुन सरकारले कस्तो भूमिका खेल्ने भन्ने विषय केही समय अन्योल भएकाले बजारमा प्रभावकारी अनुगमन हुन नसकेको बताए । तनहुँ र स्याङ्जामा बिषादी परीक्षणको कार्यालय खोलिएको बताउँदै उनले बजारमा धेरै बेतिथी हुँदा चुनौती बढीरहेको उल्लेख गरे ।
गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव यामप्रसाद पोखरेलले अझै पनि पुरानै ढंगबाट बजार अनुगमन हुँदै आएको गुनासो गरे । प्रत्येक पाइलामा समस्या रहेको उल्लेख गर्दै उनले आम जनताको हितमा सबै मिलेर समस्या समाधान गर्नेतर्फ आफूहरु कटिवद्ध भएको जनाए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बजार अनुगमनमा पहिलाको भन्दा हाल प्रशासनलाई कम अधिकार दिएपनि आम उपभोक्ता ठगिएको र स्वास्थ्य माथि परेको कुनै उजुरी परे कारवाही गरी छाड्ने चेतावनी दिए । उनले भने, “व्यवसाय र उद्योगको नाममा कसैले मानव स्वास्थ्यमाथि नै खेलवाड गर्छन् भने उनीलाई कारवाही गर्न बाध्य हुने छौं ।”
औद्योगिक विकास प्रतिष्ठान पोखराका गोकुल शर्माले पोखरा र काठमाडौंमा खसीको मासुको नाममा व्यवसायीहरुले बाख्रीको मासु बिक्री गर्दै आएको दाबी गरे । व्यवसायीका कारण देशका अन्य बजारको तुलनामा पोखरामा अत्याधिक मूल्य बढी भएको उनले जनाए ।
मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले आगामी ६ महिनामा मञ्च, जिल्ला, प्रदेशको कमिटी गठनसहित सशक्तिकरण गरिने भएको बताए । उनले भने “हामी मञ्चका पदाधिकारीले बजारमा भएको बेथितीविरुद्ध हामी आवाज उठाउँछौं, प्रशासनले भने कारवाही गर्न चासो देखाउँदैन ।”
यसैबीच, उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेश कमिटी गठन भएको छ । अधिवक्ता सुरेन्द्र थापा मगरको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको हो । मञ्चका अध्यक्ष ज्योति बानियाँसहितको टोलीको सहभागितामा आइतबार पोखरामा भएको एक भेलाले मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्