पोखरामा पुष्प प्रदर्शनी सुरु

पोखरा– पोखरामा आठौं संस्करणको गोदावरी पुष्प प्रर्दशनी तथा पाँचौ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ सोमबारदेखि सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति (फ्यान) कास्कीको आयोजनामा मेला सोमबारदेखि सुरु भएको हो । मेलामा १ सय २० प्रजातिका फुलको बिक्री हुन सुरु भएको फ्यान कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले बताए ।
मेलामा न्यूनतम ५० रुपैयाँमा सयपत्री फुलको वेर्नादेखि १६ हजार मूल्यबराबरको वेगमवेली जातको बिरुवाहरु रहेका छन् । १ सय २० भन्दा बढी प्रजातिका फूलहरु मेलामा रहेको अध्यक्ष सुवेदीले बताए । गोदावरी फूलको प्रदर्शनीमा बिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । उक्त मेला सम्पन्न गर्न पोखरा महानगरले समेत समन्वय गरेकोले पोखरा महानगर, व्यवसायीसहितको टोलीले यस वर्षको लागि पोखरामा फूल मालाको समेत मूल्य निर्धारण गरेको छ ।
प्रति माला सानोलाई १०० देखि मध्यम प्रकारको लागि १५० र ठूलो मालालाई १८० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको फ्यानले जनाएको छ । तिहार पर्व लक्षित गरी मालाको कात्तिक १५ देखि बिक्री हुने भएको छ । यसैबीच, कार्तिक १६ सम्म सञ्चालन हुने उक्त मेलाको गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले गरेकी हुन् । कार्यक्रममा उनले तिहार पर्वको अवसरमा भारतदेखि आउने फूललाई भन्दा स्वदेशी उत्पादन हुने फूललाई प्राथमिकता दिन जोड दिइन् ।
प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्न विभिन्न सहुलियत र छुटमा विभिन्न कृषि सम्बन्धी कार्यक्रम ल्याएको जनाइन् । प्रदर्शनीमा व्यावसायिक स्टल २० वटा, कृषि सामग्री स्टल २ वटा र सूचनामूलक १ वटा गरी २४ वटा प्रदर्शनी कक्षहरु रहेको फ्यान कास्कीका अध्यक्ष राम प्रसाद सुवेदीले बताए । यसका साथै यस सिजनमा फुल्ने सयपत्री मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनी भएको अध्यक्ष सुवेदीले बताए ।
नेपालीहरुको दोस्रो महान चाड तिहार तथा छठ पर्वलाई लक्षित गरी पुष्प पारखी तथा पुष्प ग्राहकलाई सहज रूपमा फूल बिरुवाहरु उपलब्ध गराउन घर आगन बगैंचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन उक्त मेलाले सहयोग पुग्ने पूर्व अध्यक्ष दयाकुमार द्धवाले बताए । पोखराको पहिचान व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान भन्ने नाराका साथ पुष्प मेला २०८१ मा यस वर्ष स्थानीय जातका फूल समेत बिक्री भएको पूर्व अध्यक्ष दीलबहादुर गुरुङले बताए ।
फ्यानले २०६२ सालदेखि कास्की जिल्लामा विधिवत स्थापना भई पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धनका लागि लगातर रूपमा पुष्प मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ । मेलाबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आँगन तथा बगैंचा सजाउन चाहने फूल बिरुवाप्रति अभिरुचि राख्ने र यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ती उपयोगी हुने अध्यक्ष सुवेदीले बताए ।