Logo

अर्थतन्त्रमा राहत प्याकेजकाे आग्रह

भैरहवा– नेपाल राष्ट्र वैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालले अर्थतन्त्रमा सुधार गर्न सरकारले राहत प्याकेज ल्याउनु पर्ने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा आयोजना भएको पूर्व गभर्नरसँग व्यवसायीको छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘कोरोनालगायतका कारण निरन्तर खस्केको अर्थतन्त्र उकास्न, उद्योग व्यवसायअघि बढाउन सरकारले नै प्याकेजका कार्यक्रम ल्याउनु पर्छ । प्याकेजका कार्यक्रम नेपाल राष्ट्र वैंकले ल्याउने होइन,’ नेपालले भने,‘मैले बारम्बार यो कुरा दोर्‍याई–तेहराई भनिरहेको छु । राष्ट्र बैंक भनेको सरकारको अंग हो । सरकारले ल्याएको कार्यक्रम अघि बढाउने हो । त्यसैले उद्योग व्यवसायलाई गति दिन राष्ट्रवैंकले नभई सरकारले नै प्याकेजका कार्यक्रम ल्याउनु पर्छ,’ उनले भने ।

बैंक, वित्तीय सस्थामा पैसा थुप्रिएको छ । तर लगानी हुन सकेको छैन । सरकारले लगानीको क्षेत्र पहिचान गरेर अघि बढने मात्र नभइ विभिन्न कारणले सुस्त भएको उद्योग व्यवसायअघि बढाउन प्याकेजमा राहत कार्यक्रम ल्याउन पर्ने डा.नेपालले बताए । वर्तमान सरकारले जनताको विश्वास जित्न नसकेको दावी गर्दै उनले भने,‘सरकारले काम गर्न सकेकै छैन, कसरी विश्वास गर्ने भन्ने भावना जनतामा देखिएकाले त्यस्लाई चिरेरअघि बढ्न सक्नु पर्छ ।’

राज्यसँग खर्च गर्न सक्ने गरी २८ खर्ब रकम अहिले रहेको भन्दै रोजगारी सिर्जना गर्दै देशलाई आर्थिक रूपमा अघि बढाउन उद्योग व्यवसायको महत्त्वपूर्ण भूमिका हुने भएकाले उद्योग व्यवसायमा स्पष्ट र परिवर्तन नहुने नीति राज्यले ल्याउनु पर्नेमा नेपालले जोड दिए । देशलाई आर्थिक रुपमा कसरी अघि बढाउन सकिन्छ भनेर देशका कुनै पनि नेताहरुमा कुनै योजना नरहेको आफूले पाएको पनि नेपालले धारणा राखे ।

उनले बैंक तथा वित्तीय सस्थाको पनि बदमासी रहेको भन्दै सेवाग्राहीलाई पूर्ण रूपमा सूचना राम्ररी नदिनु बदमासी रहेको बताए । उपभोक्ता समाज सक्रिय नहुँदा वित्तीयलगायतका क्षेत्रमा समस्या बढेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले अर्थमन्त्रीले आर्थिक अवस्था सुधार हुँदै गएको, बजार चलायमान हुँदै गएको छ भने पनि धेरै उद्योग व्यवसायबाट पलायन भइसकेको बताए ।

उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति राजेश अग्रवालले दिनहु उपभोक्ता घट्दै जानु मुल समस्या रहेको बताए । यस्तै अवस्था आए मुलुकमा पैसा हुने तर खर्च गर्ने उपभोक्ता नहुने अवस्था आउन सक्नेमा उनले जोड दिए । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आर्थिक अवस्था सुध्रिने संकेत नदेखिएको भन्दै निजी क्षेत्र एकदमै हतोत्साही भएको बताए । व्यवसायी केशव बिक्रम खड्काले उद्योग व्यवसाय गरेर पापै गरेको अनुभूति भइरहेको भन्दै देश छाडेर पलायन हुने सोच आउने गरेको बताए ।

पर्यटन व्यवसायी आशा गुरुङले यो क्षेत्रमा वुद्धि नभएरै प्रवेश गरेको भान हुन थालेको धारणा राखे । समय बढ्दै जाँदा निती नियम बारम्बार परिवर्तन भइरहने र कमाउने भन्दा पनि खाली बैंकको सावा ब्याज कसरी तिर्ने भन्ने हुन थालेको उल्लेख गरे । चामल उद्योगी चन्द्रमान श्रेष्ठले ५० वर्षको दौरानमा अहिले आएर किन व्यवसाय गरिएछ भन्ने भान भइरहेको जनाउँदै लगानीको वातावरण नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्