Logo

डेडिकेटेड ट्रंकलाइन विवाद

तिहारअघि हजारौं मजदुर बेरोजगार

रुपन्देहीको भैरहवास्थित एक उद्योग।

भैरहवा– डेडिकेटेड तथा ट्रंकलाइन विवादमा परी महशुल नबुझाएका रुपन्देहीका १८ वटा उद्योगमा विद्युत लाइन काटिएपछि मजदुर मर्कामा परेका छन् । सबैभन्दा बढी मारमा पर्ने कर्मचारी दैनिक ज्यालादारीमा कार्यरत छन् ।

गत बिहीबार साँझ विद्युत कटौती नहुँदासम्म सबै उद्योग पालोअनुसार सञ्चालनमा थिए । जिल्लाका विभिन्न औद्योगिक करिडोरमा रहेको उद्योगहरुमा बिहीबार साँझदेखि नै विद्युत काटिएपछि पूर्ण रुपमा बन्द छन् । धेरैजसो व्यवसायीले उद्योग सञ्चालनमा आएपछि खबर गर्ने भन्दै मजदुरलाई बिदा दिएका छन् । तिहारको मुखमा काम नभएपछि मजदुर समस्यामा परेका छन् ।

विद्युत लाइन काटिँदा १५ सयभन्दा बढी दैनिक ज्यालादारी मजदुर प्रभावित भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । ‘विद्युत कटौती भएका रुपन्देहीका १८ उद्योगमा कार्यरत दैनिक ज्यालादारी मजदुरमात्र नभई स्थायी रुपमा कार्यरत कर्मचारी पनि प्रभावित भएका छन्,’ श्रेष्ठले भने ।

अर्घाखाँची सिमेन्ट उद्योगका नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेले आफ्नो उद्योगमा स्थायी, अस्थायी र दैनिक ज्यालादारी गरी ६ सयभन्दा बढी कार्यरत रहेकोमा कम्तिमा १७५ जना दैनिक ज्यालादारीमा रहेको जानकारी दिए । आइतबारबाट सबैलाई बिदा दिइएको उनले जानकारी दिए । ‘हाम्रोमा मात्र नभई सबै उद्योगमा दैनिक ज्यालादारी कामदारले एक किसिमले रोजगारी नै गुमाएको अवस्था हो,’ पाण्डेले भने । लामो समयसम्म विद्युत आपूर्ति हुन नसके स्थायी कर्मचारीको हकमा पनि समस्या हुने उनको भनाइ छ । ‘तिहारको समयमा कामदारलाई बिदा गर्नुपर्दा नराम्रो अनुभूति भएको छ,’ उनले भने । बेथरी–तामनगर (बुटवल) सडक खण्डको सियारी गाउँपालिकामा अवस्थित अर्घाखाँची सिमेन्ट उद्योग नेपालको ठूलोमध्येको सिमेन्ट उद्योग हो ।

पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज तथा पञ्चकन्या स्टिलका महाप्रबन्धक देवेन्द्र साहुले बिहीबार रातिदेखि नै उद्योग बन्द रहेको जानकारी दिँदै भने, ‘शनिबारसम्म कर्मचारी, मजदुर सबैलाई बोलायौं तर बिजुली नभएपछि सबैलाई बिदा दिएर पठायौं । हाम्रो उद्योगमा स्थायी र दैनिक ज्यालादारी गरी ४ सय मजदुरलाई बिदा गर्‍यौं । उनले भने । रयौ, महाप्रबन्धक साहुले भने ।’ स्थायी कर्मचारीलाई उनीहरुले पाउने वार्षिक बिदाबाट कटौती हुने गरी पठाइएको र वार्षिक बिदा सकिएपछि पनि उद्योग सञ्चालन हुन नसके बेतलबी बिदा लिनुपर्ने उनले बताए । पञ्चकन्यामा दैनिक ज्यालादारीमा २ सय मजदुर कार्यरत छन् । उनीहरुलाई अर्को सूचना नआउँदासम्म बिदा गरिएको साहुले बताए । ‘तिहारजस्तो ठूलो पर्वको मुखैमा कर्मचारी, मजदुरलाई बिदा गर्नुपर्दा हामीलाई अत्यन्त दुःख लागेको छ,’ उनले भने । पञ्चकन्या प्लाष्टिक तथा पञ्चकन्या स्टिल भैरहवा–बुटवल सडक खण्डको कोटीहवा बजारमा अवस्थित छ ।

भैरहवाको घराना फुड्समा १५० कामदार कार्यरत रहेकोमा एकाध सरसफाइ कर्मचारी बाहेक सबैलाई बिदा गरिएको उद्योगका निर्देशक विकास गोयनकाले बताए । ‘बिजुली नभएपछि उद्योग ठप्प छ । वैकल्पिक ऊर्जा छैन, त्यसैले विद्युत व्यवस्था नहँुदासम्मका लागि सबैलाई बिदा गरेर पठायौं । दैनिक ज्यालादारीमा रहेकाहरुलाई त बिदा दिनुको विकल्प नै छैन । उद्योग सञ्चालन भए बोलाउँला भनेर पठाएका छौं,’ गोयनकाले भने ।

भैरहवा–बुटवल खण्ड तिलोत्तमाको भलवारीमा रहेको भलवारी स्वचालित चामल उद्योग पनि विद्युत लाइन कटौती हुनेमा परेको छ । उद्योगका सञ्चालक चन्द्रमान श्रेष्ठले दैनिक ज्यालादारीमा रहेका १५ जनालाई बिदा गरेको बताए । ‘उद्योग बन्द भएको छ, विद्युतको व्यवस्था नहुँदासम्म सबैलाई बिदा दिएको छु,’ श्रेष्ठले भने ।

विद्युत प्राधिकरणले बुटवल–भैरहवा करिडोरका साथै अमुवा वितरण केन्द्रअन्तर्गत बेथरी–बुटवल मार्ग, भैरहवा–लुम्बिनी मार्गलगायत स्थानमा रहेका १८ उद्योगको लाइन काटिदिएको हो । लाइन काटिने उद्योगहरुमा अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, एभरेष्ट रोलिङ मिल, विनायक स्पात, जगदम्बा सिन्थेटिक्स, एसआर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लाष्ट, गोयनका फुड्स, भलवारी चामल कारखाना, श्याम प्लाष्टिक, पञ्चकन्या प्लाष्टिक, पञ्चकन्या स्टिल, शुभलक्ष्मी पोलिमर्स र बुटवल वितरण केन्द्रअन्तर्गतका दुईवटा टेक्सटाइल उद्योग छन् ।

उद्योग बन्द हुँदा दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरहरुलाई तिहारको खर्च कसरी जोहो गर्ने भन्ने समस्या आइपरेको मजदुर श्याम कुमारले बताए । विद्युत कटौती भएका उद्योगमा सबै प्रकृतिका गरी ३ हजारभन्दा बढी कामदार कार्यरत छन् । आफूहरुले माग पनि नगरेको र प्रयोग पनि नगरेको डेडिकेटेड तथा ट्रंकलाइनको नाममा बिल पठाइएको भन्दै महशुल तिर्न नसकिने उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले बताए । विद्युत कटौती भएका धेरै उद्योगमा दैनिक ज्यालादारीमा कार्यरत कामदारलाई कतिपयले बिदा दिएका र कतिपयले पछि कामदार नपाइने सम्भावना भएकाले ‘होल्ड’ गरेर राखेका उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्