‘औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य’
काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य भइसकेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक्स कन्फरेन्समा सोमबार उनले एआईसम्बन्धी नीति तथा कानुन निर्माण गरी यसको विकासमार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्नेगरी सरकार लागिपरेको बताए । मन्त्री भण्डारीले आफू नेतृत्वको मन्त्रालयले डिजिटल नेपाल औद्योगिक रूपान्तरण कार्यक्रम, एआई इनोभेसन हब स्थापना र युवा उद्यमी डिजिटल सशक्तीकरण कार्यक्रमहरू अघि बढाउने योजना बनाएको बताए ।
मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा एआई र रोबोटिक्स प्रविधिको भूमिका र सम्भावनाहरूबारे गहन छलफल गरिएकामा खुसी व्यक्त गरे । उनले यस क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका विकास र प्रगतिहरूले मुलुकको औद्योगिक रूपान्तरणका लागि नयाँ दिशा र सम्भावनाहरू प्रस्तुत गरेको बताए ।
एआईको प्रयोग र प्रभावले स्मार्ट म्यानुफ्याक्चरिङ, आपूर्ति शृङ्खला व्यवस्थापन र ग्राहक सेवा तथा बजार विश्लेषण गरी स्वचालित ग्राहक सेवा र समर्थन, बजारको प्रवृत्ति विश्लेषण, ग्राहक व्यवहार अध्ययन, व्यक्तिगत सिफारिस प्रणाली, सामाजिक सञ्जाल अनुगमन र विश्लेषण जस्ता आयाममा उल्लेखनीय योगदान र सहजीकरण गर्दै आएको भन्त्री भण्डारीको भनाइ थियो ।