Logo

१० लाख बराबरको दियोको व्यापार हुने

वीरगन्ज– उज्यालोको पर्व तिहार अर्थात दीपावली छठमा १० लाख रुपैयाँको दियोको व्यापार वीरगन्जमा हुने अनुमान गरिएको छ । वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फ ‘दियो बजारमा’ राखिएको माटोले बनाएको दियो, ढकनी, कलस लगायतको व्यापारबाट १० लाखको कारोबार हुने अनुमान गरिएको हो ।

दीपावली र छठपर्वमा विशेषगरी माटाको दियोको प्रयोग हुने गरेको छ । तर, पछिल्लो समयमा विद्युतीय उपरणको प्रयोगका कारण माटाको दियोको प्रयोग कम हुँदै गएको छ । यसले गर्दा कुमाल समुदायको पुख्र्यौली पेसा पनि संकटमा पर्न थालेको उनीहरु बताउँछन् । पुख्र्यौली पेशालाई संरक्षण गरी व्यासायिक प्रवर्द्धनका लागि तराई कुम्हार समाजले संस्थागत रुपमै विगत ६ बर्षदेखि वीरगन्जको घण्टाघरमा व्यवस्थित बजार लगाउन थालेको हो ।

माटोका भाँडा बनाउने काम कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको छ । उनीहरुले आफ्नो पेशालाई आयआर्जनको माध्यमको रुपमा पनि लिने गरेका छन् । तर, पछिल्लो समयमा विभिन्न किसिमका विद्युतीय सामग्रीको प्रयोगले उनीहरुको आम्दानीको स्रोत गुम्नुका साथै पेशा पनि संकटमा पर्न थालेको छ । सीमावर्ती भारतका माटाका भाडाहरु वीरगन्ज ल्याएर बिक्री गर्ने गर्दापनि स्थानीय व्यापारीलाई मार परेको उनीहरुको गुनासो छ ।

पर्साको पकाहामैनपुर गाउँपालिका–२ सुरजहाँका भागृत पण्डित ३० वर्षदेखि माटोको भाँडा बनाउँदै आएका छन् । उनी खेती किसानीसँगै माटाका भाँडा बनाएर बिक्री गरी जीवनयापन गर्दै आएका छन् । पहिलेको जस्तो व्यापार अहिले नभएको उनी बताउँछन् । पहिले चार सयमा बिक्री हुने माटाका भाँडा अहिले २ सयदेखि डेढसय रुपैयाँमा मात्रै बिक्री हुने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘अहिले माटाका भाँडाको मूल्य नै कम छ । महंगी बढेको बढ्यै छ । तर, हामीले बनाउने माटाका सामग्रीहरुको मूल्य भने कममा बिक्री गर्नुपर्ने बाध्यता छ । हातले बनाउनुपर्छ मेसिन छैन । हातले मात्रै कति बनाउने ? बनाएर बजारमा ल्याउँदा मूल्य पनि कम पाउने । बाटोमा प्रहरीले समेत दुख दिन्छ । हामी गरिब जताबाट पनि हेपिएकै छौं ।’

वीरगन्जमा माटाका भाँडा बनाउने र बेच्ने कतिपय व्यावसायिक रुपमै त्यहि पेशामा छन् । कतिपय भने चाडपर्वको बेलामा मात्रै बनाएर बेच्ने गरेका छन् । वीरगन्ज–११ रानीघाटका मोहन पण्डित कुम्हाल माटोको भाँडा बनाएरै परिवार चलाउँछन् । उनका छोरा रमेश प्रजाति पनि बाबुकै पेशामा लागेका छन् । तर पहिले जस्तो बजारमा दियो बिक्री हुन छोडेको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिले जस्तो छैन । यो वर्ष घाटा नै छ । पहिले २०० बिक्री हुन्थ्यो । यस पटक घाटाको व्यापार होला जस्तो छ ।’

पुख्र्यौली पेसा संरक्षणका लागि अहिले पनि माटोका भाँडा बनाएर गाउँघरदेखि सहरसम्म बिक्री गर्दै आएका छन् । पुख्र्यौली पेशा संकटमा परेपछि युवा पुस्तामा भने अन्यौलमा छन् । वैकल्पिक बाटोको रुपमा वैदेशिक रोजगारीमा जानुपर्नेबाहेक देशमा रोजगारीको अवसर पनि नहुँदा र पुख्यौली पेशालाई व्यावसायिक बनाउनका लागि राज्यबाट सहयोग नहुँदा युवा पुस्ता अन्योलमा रहेको तराई कुम्हार समाज पर्साका अध्यक्ष चन्द्रशेखर पण्डितले बताए ।

उनले भने, ‘अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने नै छ । मेहनत गरे अनुसारको प्रतिफल नपाउँदा निराश हुने गरेका छन् । पेशालाई व्यावसायिक बनाउन राज्यबाट पनि सहयोग पाएको छैन । यसलाई व्यावसायिक बनाउन सकेमा युवा पुस्तालाई आफ्नो पुख्र्यौली पेशालाई जोगाएर राख्न हौसला बढुने थियो ।’

उनका अनुसार विगतमा माटोको भाँडा बनाउने व्यावसायिक सुरुवात गर्नका लागि ४७ जनालाई तराई कुम्हार समाजले तालिम पनि दिएको थियो । तर, तालिमलाई व्यवहारमा लागू गर्न राज्यबाट सहयोग पाए । जिल्ला अध्यक्ष पण्डित भन्छन्, ‘तालिम त दियौं मेसिन भएन । राज्यबाट पनि मेसिन पनि पाएन । मन्त्रालयमा पनि अनुरोध गर्‍याैं । व्यावसायिक रूपमा सञ्चालन गर्न समस्या भयो ।’

स्थानीय तहबाट मेसिन खरिदका लागि मात्रै सहयोग भयो भने पनि माटाका भाँडाको व्यावसायिक उत्पादन र बिक्री गरेर आम्दानी गर्न सकिने र यसले युवालाई रोजगारीको सिर्जना पनि गर्न सकिने तराई कुम्हार समाज वीरगन्ज महानगरका अध्यक्ष कृष्ण पण्डित बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्