भैरहवाको त्रयमासिक आन्तरिक राजस्वको लक्ष्य पूरा
भैरहवा– भैरहवाको तीन महिनाको आन्तरिक राजस्वको लक्ष्य पूरा भएको छ । विगत केही वर्षमा मासिक राजस्व संकलनको लक्ष्य समेत पूरा गर्न सकेको थिएन् । तर चालु आवमा भने भैरहवाले राजस्व विभागद्वारा तोकेको राजस्व संकलन गरेको हो । कार्यालयले भदौमा लक्ष्यको १०४.६६ प्रतिशत र असोजमा १०१.६६ प्रतिशत राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताए ।
साउनमा लक्ष्यअनुसार संकलन गर्न नसकेता पनि भदौ र असोजमा लक्ष्य पूरा गर्न सफल भएको पोख्रेलले जानकारी दिए । आन्तरिक राजस्व बढेकोले बजार केही चलायमान भए जस्तो देखिएको छ । भैरहवा कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनामा ८४ करोड ८२ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ८८ करोड ७७ लाख रुपैयाँ संकलन गरेको थियो ।
जसमा अन्त शुल्कतर्फ ६७ करोड ५४ लाख, मूल्य अभिवृरितर्फ १४ करोड १२ लाख, आयकरतर्फ ६ करोड ६ लाख, स्वास्थ्य सेवातर्फ ४१ लख ४७ हजार, घर बहाल करमा ३० लाख ३० हजार, ब्याजतर्फ २९ लाख ७ हजार र अन्य शीर्षकका करमा २ लाख ८१ हजार रुपैयाँ कर संकलन गरेको हो । त्यसैगरी कार्यालयले असोजमा ७४ करोड १६ लाख ३० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ७५ करोड ३९ लाख राजस्व संकलन गरेको थियो ।
अन्त शुल्क ५२ करोड ५९ लाख, मूल्य अभिवृद्धीकरतर्फ ११ करोड ६४ लाख, आयकरतर्फ १० करोड १३ लाख, घर बहाल करमा ४८ लाख ३१ हजार, स्वास्थ्य सेवातर्फ ३० लाख, ब्याजतर्फ २१ लाख र अन्य शीर्षक करमा १ लाख ९३ हजार रुपैयाँ कर संकलन भएको प्रमुख कर अधिकृत पोख्रेलले बताए । करदाता शिक्षा, उद्योगी, व्यवसायी, आमजनतामा करबारे जानकारी र कर तिर्नुपर्छ भन्ने धारणाको कारण लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल भएको पोख्रेलले बताए ।
राजस्व कार्यालय भैरहवालाई विभागले आर्थिक वर्षको पहिलो तीन महिनाका लागी २ अर्ब ५८ करोड ४० लाखको लक्ष्य दिएकोमा २ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । जुन कुल संकलनको ९५ दशमलव ७७ प्रतिशत हो । पछिल्लो समय यस क्षेत्रमा रहेका धेरै उद्योग ठूला करदाता कार्यालयमा आबद्ध भएका कारणले पनि राजस्व संकलनमा चुनौती देखिएको हो ।