Logo

पोखरामा २ करोडको फूल कारोबारको अनुमान

पोखरा– फूलै फूलको पर्व तिहारमा यस वर्ष पोखरा क्षेत्रमा करिब २ करोड मूल्य बराबरको फूल कारोबार हुने अनुमान छ । तिहार पर्वको अवसरमा पोखरा क्षेत्रमा स्थानीय जात, हाइब्रिडसहित भारतबाट समेत आयात हुने फूलको करिब २ करोड मुल्य बराबरको कारोबार हुने फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका अध्यक्ष श्रीराम सुवेदीले बताएका हुन् ।

यस वर्ष लगातार पानी परेकोले समयमै फूल फक्रिन नपाएकोले गर्दा तिहारमा स्थानीय जातको फूल कम मात्रमा फूल्ने उनले जानकारी दिए । स्थानीय र हाइब्रिड जातको फूल पोखरामा करिब ७५ देखि ८० प्रतिशत जति उत्पादन हुने उनको दाबी छ । भारतबाट यस वर्ष पनि न्यून प्रतिशतमा फूलहरू भित्रिने भएको व्यवसायीहरूले बताएका छन् । भारतसहित अन्य जिल्लाबाट पोखरामा यस वर्ष करिब २५ देखि ३० प्रतिशत फूल भित्रिने व्यवसायीहरूको अनुमान छ ।

पोखरामा कास्कीका छिमेकी जिल्लादेखि धादिङ, गोर्खा, पाल्पा, बनेपालगायतको क्षेत्रबाट फूल भित्रिने अध्यक्ष सुवेदीले बताए । यस वर्ष फूल कम उत्पादन भएकोले फूलको माग बढी हुने उनले दाबी गरे । फूलको मुल्य भने केही दिनको बजार अनुगमन पश्चात मात्र तोकिने सुवेदीले बताए । सामान्यता प्रति गुच्छाको ५ र प्रति मालाको १ सय ५० देखि २ सय रुपैयाँ पर्ने उनले जनाए ।

व्यावसायिक फूल खेतीको लागि यस वर्ष ३ रोपनी जग्गामा उनले फूल खेती लगाएका छन् । अघिल्लो वर्षमा बिरुवासहित फूल खेतीबाट उनको परिवारले करिब २ लाख आम्दानी गर्ने गरेको थियो । यसैबीच फान कास्कीको आयोजनामा यही कार्तिक १२ देखि १६ सम्म आठौं संस्करणको गोदावारी पुष्प प्रर्दशनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला हुने पूर्व अध्यक्ष दयाकुमार द्ववाले बताए ।

पछिल्लो समयमा तिहारको अवसरमा भारतबाट फूल कम मात्रमा आउन थालेको उनको भनाइ छ । स्थानीय फूल उत्पादनमा पोखरा महानगरले बिउ, मल र विषादीमा अनुदान दिएसँगै यहाँका फूल उत्पादन हुने गरेको पूर्व अध्यक्ष द्धवाले जनाए । गोल्डेन नर्सरीका सञ्चालक समेत रहेका उनले तिहारको अवसरमा यस वर्ष करिब ३० हजार मेरी गोल्डका बिरुवा बिक्री गर्ने बताए ।

पोखरा क्षेत्रमा रहेका करिब ३८ वटा पुष्प व्यवसयीहरूले यस वर्ष अधिकांशले १५ हजार देखि ५० हजारसम्म बिरुवा उत्पादन गरेका थिए । व्यावसायिक कृषक तथा केही साना किसानबाट तिहारको अवसरमा फूल कारोवार हुने गरेका छ । यस वर्ष होटल तथा रेष्टुरेण्ट व्यवसायीदेखि व्यक्तिहरूले घर सजावटको लागि फूल किन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्