जीएसपीबारे सचेत गराउने कार्यलाई तीव्रता

काठमाडौं– सरकारले जेनेरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जीएसपी) बारे सचेत गराउने कार्यलाई तीव्रता दिएको छ । जीएसपी व्यवस्थाको सदुपयोग गरी ईयूमा निर्यात प्रवर्द्धन गर्न प्रमुख नियम र प्रक्रियासँग परिचित गराउन व्यापार क्षेत्रका सरोकारवालाहरूलाई सचेत गराउने कार्यलाई तीव्रता दिएको हो । नेपालले युरोपियन युनियनको बजारमा भन्सारमुक्त र कोटा–रहित पहुँचको लागि सहजीकरण गर्ने जीएसपीको इभ्रिथिङ बट आर्म्स (इविए) व्यवस्थाबाट फाइदा उठाइरहेको छ ।
सन् २००६ मा अतिकम विकसित राष्ट्र (एलडीसी) ग्रेजुएशनपछि, नेपालले २०२९ मा स्टेन्डर्ड जीएसपी र जीएसपी प्लस व्यवस्थाहरूबाट लाभान्वित हुन सक्नेछ । ईबीएले तीन वर्षको सुविधा अवधिको लागि आवेदन जारी राख्ने छ । ईबीए योजना प्रयोग गरी युरोपेली संघमा निर्यात बढाउने र एलडीसी स्तरोन्नतिले युरोपियन युनियनका सौविध्य व्यापार योजनाहरूमा पार्ने असरबारे व्यवसायी समुदायलाई सजग गराउने उद्देश्यले ललितपुरमा चार दिने कार्यशाला आइतबारदेखि सुरु भएको हो ।
व्यापार क्षेत्रका सरोकारवालाहरूलाई युरोपियन युनियनका बजारमा निर्यात गर्न तालिम दिन र सरकारी तथा निजी क्षेत्रका संस्थाहरू भित्र मुल प्रशिक्षकहरू विकास गर्न सरकारी निकायहरू, व्यापारसँग सम्बन्धी संस्थाहरू, , शिक्षाविद्हरू र निर्यातकर्ताहरूबाट ५५ जना उक्त कार्यशालामा सहभागी भएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोग तथा निकासी प्रवर्द्धन केन्द्रको साझेदारीमा उक्त कार्यशाला आयोजना गरेको हो ।
नेपालबाट उच्च निर्यात सम्भावना भएका पाँच क्षेत्रहरू: औषधीय र सुगन्धित बिरुवाहरू, कपडा फाइबर र गार्मेन्टहरू, कफी, धातु शिल्प उत्पादनहरूका लागि विस्तृत निर्यात आवश्यकतासहित ईयूमा निर्यात गर्नका अन्तर्राष्ट्रिय व्यापार केन्द्रले तयार गरेका गाइडलाइनमा उल्लेख भएका प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराइने भएको छ ।
‘तालिमले नेपाली निर्यातकर्ताहरूका लागि स्वदेशी तथा ईयू सम्बन्धी नियमहरू एवं कार्यविधिहरूको अन्तर्दृष्टि प्राप्त गर्न मद्दत गर्नेछ । उनीहरूलाई ईयू बजारले हाल र भविष्यमा प्रदान गर्ने व्यापार प्राथमिकताहरूको फाइदा उठाउन सक्षम बनाउने छ’ अन्तर्राष्ट्रिय व्यापार केन्द्रका व्यापार विज्ञ कासिम चौधरीले भने ।
यस अवसरमा बोल्दै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले ईबीए, जीएसपी र जीएसपी प्लसबीचको भिन्नता र यसले नेपालका निर्यातकर्ताहरूलाई उपलब्ध गराउने अवसरहरूको बारेमा आफ्नो ज्ञानलाई फराकिलो पार्न कार्यशाला उपयोगी हुने धारणा व्यक्त गरे ।