विदेशमा मृत्यु हुनेका परिवारलाई १० लाख नयाँ व्यवस्थाको असर
कल्याणकारी कोषको व्ययभारमा थप चाप पर्ने
काठमाडौं– वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने श्रमिकका परिवारलाई दिने सहायता रकम १० लाख पुर्याएपछि वैदेशिक रोजगार कल्याणकारी कोषको व्ययभार बढ्ने देखिएको छ ।
सरकारले विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई दिने आर्थिक सहायता रकम कात्तिक ८ बाट लागु हुने गरी १० लाख पुर्याएको थियो । यस्तो रकम अहिलेसम्म अधिकतम ७ लाख रुपैयाँ थियो ।
वैदेशिक रोजगार नियमावली छैटौं संशोधनमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहायता रकम बढाएको हो । कात्तिक ८ पछि सहायता रकमका लागि निवेदन दिने श्रमिकका नातेदारले १० लाख पाउनेछन् । यो रकम श्रमिकको श्रमस्वीकृति शुल्क र मेनपावरको धरौटीको निश्चित ब्याजबाट सञ्चालन भएको कल्याणकारी कोषबाट दिइने छ । हाल कोषमा ५ अर्ब ३५ करोड रुपैयाँ छ ।
वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालले सहायता रकम बढाएपछि कोषको व्ययभारमा चाप पर्ने बताए । उनका अनुसार बढेको सहायता ३ लाख रुपैयाँ र पहिले उपचार खर्च लिएका श्रमिकको मृत्यु भए पनि उनीहरुका आफन्तलाई १० लाख दिने व्यवस्थाले कोषबाट खर्च गर्नुपर्ने दायित्वको भार बढेको छ । कोषको रकम बढाउन भने थप कुनै व्यवस्था गरिएको छैन । ‘अब मृत्यु हुने श्रमिकका परिवारले लगभग ४३ प्रतिशत बढी सहायता पाउने छन्,’ ढकालले कारोबारसँग भने, ‘यसका अतिरिक्त पहिले उपचार खर्च पाएका श्रमिकको मृत्यु भए उनीहरुका आफन्तलाई पनि १० लाख दिनुपर्ने व्यवस्थाले खर्च थप बढाएको छ ।’
बोर्डले छात्रवृत्ति बाहेकका ७ वटा मुख्य शीर्षकमा दिँदै आएको रकम वार्षिक करिब एक अर्ब पुगेको छ । गत वर्षमात्र वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, बिरामी, उद्धार, शव व्यवस्थापन, अभिमुखिकरण र उपचार गरी सात किसिमको सहयोगका लागि झण्डै ९८ करोड रुपैयाँ आर्थिक सहयोग वितरण गरेको थियो । यो सबै खर्चमध्ये अहिले मृत्यु हुनेको रकम बढेको हो । यस्तै पहिले उपचार खर्च लिएको श्रमिकको मृत्यु भए उसका परिवारलाई थप १० लाख दिने व्यवस्थाले पनि खर्च बढाउने छ । तर, यस्तो थप खर्च धेरै हुनेछैन ।
ढकालका अनुसार गत वर्ष १ हजार ३४६ नेपालीले विदेशी भूमिमा रोजगारीकै क्रममा ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ४१ जना महिला छन् भने बाँकी सबै पुरुष हुन् । बोर्डले उनीहरुका आफन्तलाई ७० करोड आर्थिक सहयोग गरेको थियो । यो वर्ष विदेशमा मृत्यु हुने श्रमिकको संख्या गत वर्षजस्तै रहे पनि कोषले एक अर्ब रुपैयाँ वितरण गर्नु पर्नेछ । अहिले प्रतिश्रमिक ३ लाख बढाएकाले ३० करोड थप लाग्नेछ ।
प्रत्येक वर्ष विदेश जाने श्रमिक थपिएका कारण उतै मृत्यु हुनेको संख्या पनि बढ्दै आएको छ । गत आवमा १ हजार ३४६ जनाको मृत्यु भएको थियो भने त्यसअघिको वर्ष १ हजार २०८ जनाले ज्यान गुमाएका थिए । संख्या बढेसँगै सहायता रकम पनि अघिल्लो आवको ८४ करोड ८० लाख रुपैयाँबाट गत आवमा ९८ करोड पुगेको छ ।
बोर्डले मृत्यु, अंगभंग तथा बिरामीको संख्या बढेसँगै अनिवार्य दायित्वभित्र पर्ने सहयोग रकम बढ्दै गएको जनाएको छ । गत वर्ष विदेशमा मृत्यु भएको संख्या आर्थिक सहायता लिने मापदण्डमा परेका श्रमिकको मात्र हो । विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेको संख्या जोड्दा विदेशमा मृत्यु हुनेको संख्या अझ बढी हुन्छ । गत आवमा अंगभंग र बिरामी भएका श्रमिकको संख्या ६५३ थियो । यी श्रमिकका लागि १९ करोड ४६ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको थियो ।
बोर्डले गत वर्ष २६५ जना कामदारका परिवारलाई औषधी उपचारमा १ करोड २२ लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरेको थियो । यसैगरी विभिन्न श्रम गन्तव्यमा अलपत्र परेका १४६ जना श्रमिकको उद्धारका लागि सम्बन्धित नियोगसँग समन्वय गरी ३ लाख २० हजार रुपैयाँ खर्च गरेको थियो । यस्तै, गत वर्ष विदेशमा मृत्यु भएका ७७५ श्रमिकको शव गृहजिल्ला ढुवानी गर्न ३ करोड ४१ लाख रुपैयाँ खर्च गरेको थियो । यसरी नै विदेशबाट ३०८ श्रमिकको शव झिकाउन ३ करोड ७३ लाख रुपैयाँ खर्च भएको थियो ।