Logo

आर्थिक सुधारका लागि पर्यटन

आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा रहेकाले नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । हाल यहाँका बैंकमा पैसा थुप्रिएको भए पनि यहाँका उद्यमी व्यवसायीले चाहेजति ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गरी मुनाफा गरेर बैंकको ऋण तिर्ने अवस्था छैन । फलतः यहाँको अर्थतन्त्र चलायमान हुन सकेको छैन । हुन त हाल यहाँको आयात केही घटेको छ । तर, आयातभन्दा निर्यात बढी घटेकाले यहाँको अर्थतन्त्र सन्तोषजनक अवस्थामा छैन ।

यहाँ विगतमा जस्तै चालु खर्च बढे पनि पुँजीगत खर्च तथा राजस्व अपेक्षाअनुरूप बढाउन सकिएको छैन । यहाँ विभिन्न विकास कार्य सञ्चालन गर्न सरकारले नै ऋण लिनुपरेको छ । यस तथ्यबाट यहाँको अर्थतन्त्र संकटमा रहेको प्रतीत हुन्छ । यस्तो अवस्थामा आर्थिक सुधारका लागि पर्यटन विकासले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

आज पर्यटकहरू विश्वका विभिन्न देशमा मनोरञ्जन एवं अध्ययन–अनुसन्धानका लागि भ्रमण गर्छन् । यसरी भ्रमण गर्दा उनीहरूलाई आनन्द मात्र प्राप्त हुँदैन, ज्ञानोपार्जन पनि हुन्छ । कोभिड–१९ को महामारीपछि विश्वको पर्यटन उद्योग केही खस्किए पनि यसबाट हुने वार्षिक आम्दानी सरदर ८ सय अर्ब डलर छ । जसमध्ये नेपाललगायत अन्य दक्षिण एसियाली देशले १ प्रतिशत मात्र आर्जन गर्छन् । केही वर्षयता छिमेकी राष्ट्र चीनले उक्त उद्योगबाट निकै फाइदा प्राप्त गर्न थालेको छ ।

हाल विश्वमा हवाई यातायातको धेरै विकास भएको छ । यस्तो यातायातका साधन छिटोछरितो एवं आरामदायी भएकाले धेरैजसो पर्यटक वायुसेवा रुचाउँछन् । यही कारणले सन् १९९० को दशकदेखि हवाई सेवा रुचाउने पर्यटकको संख्या प्रचुर मात्रामा बढेको छ । एक आधिकारिक तथ्यांकअनुसार विश्वका डेढ अर्ब पर्यटक हवाई मार्गबाट भ्रमण गर्छन् । यसले हवाई यातायात विकासको शुभसंकेत गर्छ ।

वर्तमान समयमा एसिया र प्रशान्त क्षेत्रका हवाई सेवा कम्पनीले आफ्ना पारवहन क्षमता १० प्रतिशत बढाएका छन् । विश्वव्यापी अनुमानअनुसार यी कम्पनीले सम्पूर्ण पर्यटकमध्ये झन्डै ८० प्रतिशतलाई सेवा प्रदान गरी प्रशस्त आम्दानी गर्छन् । यसबाट पर्यटन उद्योगको प्रवद्र्धनमा ठूलो सघाउ पुगेको छ ।

हाल विश्वको विभिन्न देशमा आवतजावत गर्ने पर्यटकको संख्या तीव्र रूपले बढिरहेको छ । त्यसैले यी देशमा उजागर नभएका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक तथ्यहरू पत्ता लगाई प्रचार–प्रसार गर्ने प्रतिस्पर्धा बढिरहेको छ ।

भौगोलिक विविधताको सम्बन्धमा नेपाल अन्य देशको तुलनामा कम छैन । यहाँ विश्वकै उच्च हिमशिखरस गरमाथालगायत ८ हजार मिटर माथिका ८ वटा हिमाल छन् । यसबाहेक यहाँ मधेस र समथर मैदान, भित्री मधेस, स–साना मैदान, उपत्यका, टार र खोँचहरू प्रशस्त छन् । यिनीहरूले पर्यटकहरूलाई आकृष्ट गर्छन् ।

भूगोलविद्हरूका अनुसार नेपालले विश्वको कुल भूभागको ०.०१ प्रतिशत भूमि ओगटेको छ भने एसिया महादेशको ०.३ प्रतिशत भूभाग ओगटेको छ । जहाँ प्रशस्त मात्रामा प्राकृतिक चीज पाइन्छन्, जसले पर्यटकलाई मनोरञ्जन प्रदान गर्छन् ।

नेपाल विभिन्न किसिमका जडीबुटीजन्य वनस्पतिका लागि प्रसिद्ध छ । सन् १९७० देखि सन् १९८० सम्म गरिएको एक अध्ययनअनुसार यहाँ ५ हजार ६७ प्रकारका वनस्पति छन् । जसको हालसम्म पनि उपयुक्त किसिमबाट सदुपयोग गर्न सकिएको छैन । यिनीहरूको संरक्षण गर्न सके भविष्यमा यहाँ आउने पर्यटकको संख्या निकै बढ्ने कुरा नकार्न सकिँदैन ।

वस्तुतः नेपाल प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताको संगमस्थल हो । यहाँको सांस्कृतिक एवं धार्मिक विरासत शताब्दीऔं पुरानो मात्र नभई अनुपम पनि मानिन्छ । यहाँको समाजको संरचना विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको महत्वपूर्ण समझदारी एवं सहकार्यमा जीवन्त रहेको छ । यहाँका संस्कार, दिनचर्या र सहिष्णुता अन्य देशहरूको लागि उदाहरणीय मात्र नभई अनुकरणीय पनि हुन सक्छन् ।

यहाँ विद्यमान विभिन्न जातजाति तथा समुदायको पहिचान र रहनसहन उनीहरूको नाचबाट प्रतिविम्बित हुन्छन् । योबाहेक उक्त सम्बन्धमा यहाँको कला, शिल्प, लोकगीत, वाद्यवादन, भाषा, साहित्य, दर्शन, धर्म, उत्सव, खाना र पेय पदार्थहरूबाट पनि मुखरित हुन्छन् । विश्वमा एक ठूलो उद्योगका रूपमा अंगीकार गरिएको पर्यटन उद्योग नेपाल सरकारको प्राथमिकतामा हालसम्म पनि पर्न नसक्नु विडम्बना हो । वास्तवमा उक्त उद्योगको विकासका लागि यहाँका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संवद्र्धन तथा प्रवद्र्धन गर्न आवश्यक छ ।

वस्तुतः नेपाल अविकृत चिजहरूले भरिएको एक स्वतन्त्र देश हो । जहाँ प्रकृतिलाई नजिकबाट नियालेर हेर्न सकिन्छ । यहाँ पदयात्रा, जलयात्रा, तालतलैया विहार, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जंगल सफारी, गुफाको यात्रा आदि गर्न सकिने भएकाले प्रत्येक वर्ष प्रचुर मात्रामा पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।

हाम्रो पुर्खाले आर्जेका र प्रकृतिले दिएको प्रचुर सम्पदाको सदुपयोग गर्न सके भविष्यमा नेपालमा पर्यटन उद्योगबाट धेरै फाइदा लिन सकिन्छ । परन्तु, यसका लागि यहाँको राजनीतिक नेतृत्वमा दूरदर्शी सोच एवं दृढ इच्छाशक्तिका आवश्यकता छ ।

भविष्यमा यहाँको ठोस पर्यटन विकासका लागि एकातिर ऐतिहासिक पर्यटकीय स्थल, गढी, किल्ला, दरबार आदिको सम्बन्धमा व्यापक प्रचार–प्रसार गर्न आवश्यक छ भने अर्कातिर संरक्षण एवं सहज पहुँचका लागि व्यवस्था गर्न पनि उत्तिकै जरुरी छ । योबाहेक यहाँ पर्वतीय पयर्टन, ग्रामीण पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, खेल पर्यटन आदिको विकास गर्न पनि आवश्यक छ ।

नेपाल कमजोर आर्थिक अवस्था भएको देश हुनाले यहीं आधुनिक संरचनाको विकास गरी बढी पर्यटक आकर्षण गर्न गाह्रो छ । वास्तवमा यहाँ उपयुक्त ठाउँमा बाटो, होटल, सुरक्षित वातावरण आदिको सुनिश्चित गर्न सके यहाँको पर्यटन उद्योग विकासमा निकै टेवा पुग्न सक्छ । यहाँको परम्परा, लोपोन्मुख भाषा, कला, संस्कृति आदिको संरक्षण एवं प्रवद्र्धनका लागि एक राष्ट्रिय स्तरको र सात प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक संग्रहालयहरू स्थापना गर्न सके उक्त उद्योगको विकासमा थप सघाउ पुग्नेछ ।

नेपाल सरकारले वर्षौंदेखि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आए पनि पर्यटकीय पूर्वाधारको कमी, आर्थिक कूटनीतिको न्यून उपयोग, नयाँ सम्भावित क्षेत्रको खोजी एवं विस्तार नहुनु र हार्डवेयरमा बढी ध्यान दिई सफ्टवेयर ओझेलमा पर्नाले उक्त क्षेत्रको विकासमा समस्या देखा परेका छन् ।

नेपालमा पर्यटन विकासका धेरै सम्भावना भए पनि यसलाई ग्रामीण स्तरसम्म पुर्‍याउन नसक्नाले अपेक्षाअनुसारको फाइदा लिन सकिएको छैन । पर्यटन क्षेत्रलाई विविधीकरण गर्न नसक्दा धेरैजसो विदेशी पर्यटक काठमाडौं, चितवन, पोखरा, लुम्बिनी र जनकपुरमा केन्द्रित छन् भने बाँकी पर्यटकीय स्थलहरू ओझेलमा परेका छन् । एकातिर यहाँ विदेशी पर्यटकका लागि सुविधायुक्त होटल तथा रिसोर्टको संख्या एवं गुणस्तर दुवै कमजोर छन् भने अर्कातिर यहाँका प्रमुख गन्तव्यस्थल सुविधायुक्त यातायात प्रणालीले जोड्न सकिएको छैन । बेलाबेलामा गरिने बन्द, हड्ताल र कमजोर शान्ति सुरक्षाको कारण यहाँको पर्यटन विकासमा समस्या थपिएको छ ।

यहाँ बेलाबेलामा विदेशी पर्यटक लुटिएका, कुटिएका र मारिएका घटना सञ्चार माध्यमहरूमा प्रकाशमा आउँछन् । जबसम्म उनीहरूको सुरक्षाको प्रत्याभूति हुँदैन, तबसम्म उनीहरूको संख्या एवं बसाइ अवधि बढ्न सक्दैन र यो देशलाई खासै फाइदा हुँदैन । आगामी दिनमा यस सम्बन्धमा सुधार नभएमा विकराल समस्याको रूपमा देखापर्नेछ ।

भरपर्दो सूचना प्रवद्र्धन केन्द्रहरूको कमीका कारण यहाँका कला, संस्कृति एवं प्राकृतिक दृश्यहरूका बारेमा राम्ररी प्रचार–प्रसार गर्न सकिएको छैन । त्यसैले यहाँको पर्यटन उद्योगमा सोचेअनुरूप विकास गर्न सकिएको छैन ।

वस्तुतः यहाँको मौलिक संस्कृतिको प्रचार–प्रसार एवं प्रवद्र्धनको तुलनामा विदेशी छाडापन र खुलापनको नक्कलले यहाँ सामाजिक तथा सांस्कृतिक विकृतिहरू बढिरहेका छन् । यहाँ पर्यटकका लागि सुविधायुक्त होटल तथा रिसोर्टको संख्या एवं गुणस्तर कम छ, जसले यहाँको पर्यटन विकासमा समस्या थपेका छन् ।

प्रत्येक १० लाखको लगानीबाट उद्योग तथा कलकारखानाले १३, कृषिले ४५ र पर्यटन उद्योगले ८९ रोजगारी सिर्जना गर्ने तथ्य प्रकाशमा आएको छ । तसर्थ, पर्यटन उद्योगमा गरिएको लगानीले सर्वसाधारणको जीवनस्तरमा तत्काल सकारात्मक प्रभाव ल्याउन सक्ने कुरामा दुईमत नहोला ।

देश र जनताका लागि महत्वपूर्ण मानिएको पर्यटन उद्योगमा सहज पहुँच (एयर कनेक्टिभिटी) को समस्या समाधान गर्न हामीले आजसम्म पहल गर्न सकेका छैनौं । यहाँ न त हवाई मार्गको समस्या राम्ररी समाधान गर्न सकिएको छ, न त फुल फ्लेज्ड अन्तर्राष्ट्रिय विमानस्थलको पहल अगाडि बढ्न सकेको छ ।

पर्यटकको बसाइ र उनीहरूले गर्ने खर्चले यहाँको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्छ । त्यसैले एकातर्फ यहाँ पर्यटक संख्या बढाउनुका साथै उनीहरूको बसाइ लम्ब्याउन आवश्यक छ भने अर्कातर्फ प्रतिपर्यटकले गर्ने दैनिक खर्च बढाउनेतर्फ सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ । अरू देशले पाँच रुपैयाँ नपर्ने कामलाई हजारौं रुपैयाँमा बिक्री गर्न जानेझैं नेपालले पनि आफ्नो पर्यटकीय प्रस्तुति सुधार्दै झोले पर्यटकलाई दुरुत्साह गर्न आवश्यक छ भने उच्च स्तरका पर्यटकलाई प्रोत्साहन दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्