विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण
काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले धनुषा जिल्लामा दुई दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । प्रभु क्यापिटलले धनुषाको बिशहरा चोकस्थित मिथिला प्राविधिक कलेज र भानु चोकस्थित मोनाष्टिक कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूलाई लक्षित गर्दै कात्तिक ८ र ९ गते तालिम सम्पन्न गरेको हो ।
कार्यक्रममा करिब ९० जना सहभागीहरू उपस्थित थिए। प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रशिक्षण प्रदान गरेका थिए । उनले पूँजी बजारमा लगानी गर्दा हुने प्रतिफल, जोखिम व्यवस्थापन, आधारभूत र प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु अघि ध्यान दिनुपर्ने कुराहरू, उपलब्ध लगानी उपकरणहरू र लगानी विविधीकरणको महत्त्वबारे प्रकाश पारे ।
त्यसैगरी, झाले आस्बा, सिआस्बा, मेरो शेयर एपको प्रयोग, आईपीओ आवेदनको प्रक्रियामा सजगता, पोर्टफोलियो व्यवस्थापन र सामूहिक लगानी कोषको फाइदा तथा जोखिमका विषयमा पनि प्रशिक्षण दिएका थिए । सहभागीहरूले तालिमलाई अत्यन्तै उपयोगी भन्दै यसले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, जोखिम व्यवस्थापन, पोर्टफोलियो विविधीकरण र प्रविधिको सही प्रयोगबारे जानकारी दिएको प्रतिक्रिया दिए ।
प्रभु क्यापिटलले शेयर बजार तथा पूँजी बजारमा सचेतना अभिवृद्धिका लागि समय–समयमा विभिन्न तालिम, वर्कसप र जनचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ । विश्व लगानीकर्ता सप्ताह हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।