Logo

खिम्ती–लामोसाँघु प्रसारण लाइन एक महिनापछि सञ्चालनमा

दोलखा– तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन एक महिनापछि सुचारु भएको छ । बाढीले बगाएको टावरलाई आपतकालीन पुन:स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याएको हो । स्थायी रूपमा यो प्रसारण लाइन मर्मत गर्न करिब एक वर्ष लाग्ने भएपछि नेपाल विद्युत प्राधिकरणले ईआरएस प्रणालीबाट तत्कालका लागि सञ्चालनमा ल्याएको हो ।

यो टावर सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा थप दुई सय मेगावाट विद्युत आपूर्ति नियमित हुनेछ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । बाढी लगत्तै गत असोज १५ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ साइटमा पुगी आवश्यक निर्देशन दिएपछि टावर सञ्चालनको काम सुरु भएको थियो ।

सो निरीक्षणमा ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तमाङ, ऊर्जासचिव सुरेश आचार्यको समेत उपस्थिति थियो । टावर बगेपछि चारवटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत प्रवाह बन्द थियो । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिंक टुटेको थियो । उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत प्रवाह बन्द हुँदा काठमाडौं उपत्यकामा हिउँदमा लोडसेडिङ हुने सम्भावना थियो ।

टावर सञ्चालनमा आएसँगै त्यो लोडसेडिङ टरेको छ । खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । क्षतिग्रस्त टावरको ईआरएस प्रविधिबाट अस्थायी सञ्चालनको नेतृत्व नेपाल विद्युत प्राधिकरणकै उपप्रबन्धक तथा टावर विज्ञ बलभद्र अधिकारीले गरेका छन् ।

अधिकारी ईआरएसको देशकै एकमात्र डिजाइनर पनि हुन् । अधिकारीको जिम्मेवारी प्रसारण लाइन निर्माणकै लागि अन्यत्र भए तापनि आकस्मिक रूपमा प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा प्राधिकरणले अधिकारीलाई नै खटाउँदै आएको छ । खिम्तीको टावर बिहीबारै तयार भए तापनि रामेछापका निर्वाचित सांसदसमेत रहेका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तमाङलाई पर्खंदा शुक्रबार दिउँसो १२ बजेका लागि चार्ज गर्न समय निर्धारण भएको थियो ।

खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन पुन: सञ्चालनमा आएपछि काठमाडौंका लागि दुई सय मेगावाट विद्युत काठमाडौं पठाउने न्यू खिम्ती सबस्टेसन प्रमुख मनोज साहले जानकारी दिए । यसअघि खिम्तीबाट ढल्केबर मात्रै विद्युत पठाइ रहेको थियो । न्यू खिम्ती सबस्टेसनमा अपर तामाकोसीको ४५६ मेगावाटको उत्पादन बन्द भएपछि लिखु खोला र खिम्ती खोलामा रहेका विद्युत केन्द्रको विद्युतमात्रै प्रवाह भइरहेको छ ।

कस्तो हो ईआरएस टावर ?
ईआरएस एक अस्थायी टावर हो । स्थायी टावर निर्माणका लागि जग्गा प्राप्ति, डिजाइन लगायतका लामो प्रक्रिया लाग्ने भएकाले तत्कालै प्रसारण लाइन सञ्चालनका लागि क्यानाडाबाट भित्र्याएको प्रविधि हो । यसको सफ्टवरसमेत छुट्टै हुन्छ । यो टावरबाट १३२ केभीदेखि चार सय केभीसम्मको प्रसारण लाइनको काम गर्छ । यो टावर ५१ मिटर अग्लोसम्म बनाउन सकिने टावर निर्माणमा खटिएका उपप्रबन्धक अधिकारीले जानकारी दिए ।

यो टावर नेपालमा पहिलो पटक २०७३ सालमा १० वटा र पछि थप ६ वटा गरी १६ वटा ल्याइएको छ । स्थायी टावर निर्माण भएपछि यसलाई झिकेर अन्यत्र लैजान मिल्छ । यसमा जग खन्नु नपर्ने भएकाले पनि छिटो हुने उनले बताए । कुनै समस्या नभए एक हप्ताभित्र टावर ठड्याएर प्रसारण लाइन सुचारु गर्न सकिने उनले जानकारी दिए ।

खिम्तीको टावर ढलेपछि अस्थायी रूपमा सञ्चालनका लागि प्राधिकरणले प्रयास तत्कालै गरे तापनि स्थानीय अवरोधका कारण ढिला भएको थियो । ऊर्जा, जलस्रोत तथा सिंँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकबाट ईआरएस टावर राख्न सुरु गरिएको थियो ।

प्राधिकरणले खिम्ती–लामोसाँघु प्रसारण लाइन सुचारु गरेपछि अधिकारीकै टिम काबेली प्रसारण लाइनका लागि खटाउने तयारी गरेको छ । काबेली प्रसारण लाइन र खिम्ती प्रसारण लाइन असोज १२ र १३ गतेको अविरल वर्षाका कारण क्षति भएको थियो । काबेलीमा पनि स्थायी संरचना नबन्दासम्म ईआरएस टावर निर्माण गरेरै प्रसारण लाइन सुचारु गर्ने प्राधिकरणको योजना छ ।

जसले महत्त्वपूर्ण चार्ड पर्व नै मान्न पाएनन्
आकस्मिक रूपमा हुने विद्युतका टावर तयार गर्नका लागि उपप्रबन्धक बलभद्र अधिकारीले यस वर्षको बडादसैं नै परिवारभन्दा टाढा हुनु पर्‍यो । सबै नेपालीहरू घरघरमा दसैंको रमाइलोमा विताउँदा अधिकारी भने घरघरमा उज्यालो दिनका लागि खिम्तीको प्रसारण लाइनमै बिताउन बाध्य भए । अधिकारीले दसैं टावरको फेदमा मानेको यो मात्रै पहिलो पटक होइन ।

तीन वर्षअघि पनि माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएपछि बढी भएको विद्युत खपतका लागि होङसी सिमेन्टमा विद्युत जोड्ने क्रममा लगातार एक महिना काम गर्दा पनि दसैं पूर्वी नवलपरासीको दुम्कीबासमै बिताउनु पर्‍यो । दुई वर्षअघि पनि भारतबाट ल्याएको प्रसारण लाइन र सबस्टेसन व्यवस्थापन गरी इनरुवा र रुपेनी सबस्टेसन चार्ज र विद्युत बाइपास गर्दा तिहार परिवारसँग मान्न पाएनन् । बाढी पहिरोजस्ता विपद्जन्य घटनाले विद्युतका प्रसारण लाइनमा हुने क्षतिले कुनै क्षेत्रमा विद्युत प्रवाह नै अवरुद्ध हुँदा अन्धकार हुन्छ ।

यस्तो विपद्जन्य अवस्थामा विभिन्न अभावका बीच पनि लगातार काम गर्नुपर्दा घरपरिवार, चाडपर्व भन्ने सम्झेर साध्य नहुने अधिकारीले बताए । प्राधिकरणमा विपद्का अवस्थामा ईआरएस टावर निर्माणको एक मात्र अधिकारीसँग खिम्तीमा तीनजना सपोर्टर छन् । उनले प्राधिकरणका ६० जना इन्जिनियरलाई तालिम दिए तापनि फिल्डमा निस्केका छैनन् । आपतकालीन अवस्थामा काम गर्दा औजार उपकरण र सेवा सुविधामा प्राधिकरणले केही व्यवस्था गरे यस्ता जनशक्ति थपिन सक्ने उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्