Logo

उडान नियमित होस्

सरकारले अर्बौं रुपैयाँ खर्च गरेर बनाएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा विदेशी उडान हुन नसकेको अवस्थामा जजिरा र फ्लाई दुबईले उडान सुरु गर्दै छन् । कुबेतबाट उडान भर्ने जजिरा एयरलाइन्स र संयुक्त अरब इमिरेट्स (युएई) बाट उडान भर्ने फ्लाई दुबई दुवैले यही महिनाबाट गौतम बुद्ध विमानस्थलबाट नियमित उडान गर्ने विषयले पक्कै पनि सबैतिर हौसला मिलेको छ । जजिरा एयरलाइन्सले कात्तिक १२ देखि कुबेतबाट सीधा भैरहवा उडान गर्नेछ ।

कुबेतबाट आउने जजिरा एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट साढे ८ बजे कुबेत फर्कने गरी सातामा ३ उडान भर्ने अनुमति यो कम्पनीले पाएको छ । यस्तै अर्को विदेशी वायुयान कम्पनी फ्लाई दुबईले पनि कात्तिक २४ गतेबाट दुबई–भैरहवा–काठमाडौं–दुबई उडान भर्ने तालिका बनाएको छ । दुबईबाट आएको फ्लाई दुबई दिउँसो १:४५ मा भैरहवा विमानस्थलमा अवतरण गर्नेछ ।

त्यसपछि भैरहवाबाट काठमाडौं विमानस्थलमा आएर यो विमान साढे ४ बजे दुबईका लागि उड्नेछ । यसले दुबई–भैरहवा–काठमाडौं–दुबई गन्तव्यमा दैनिक एक उडान गर्नेछ । भैरहवा विमानस्थलबाट यी दुईबाहेक अन्य हवाई कम्पनीहरूले पनि उडान गर्न चासो देखाएका छन् । यही १६ असोजबाट काठमाडौंमा नियमित उडान सुरु गरेको थाई एयर एसिया पनि भैरहवा जान खोजेको छ । अहिले यो कम्पनीलाई काठमाडौंबाट चार र भैरहवाबाट चार गरी सातामा आठवटा उडान भर्ने गरी अनुमति दिइएको छ ।

यो कम्पनीले भैरहवामा स्थलगत अवलोकन गरेको छ । तर, उडानको निर्णय गरिसकेको छैन । अर्को हिमालयन एयरलाइन्स, एयर अरेबियालगायतले पनि भैरहवाबाट उडान गर्न आन्तरिक तयारी गरिरहेका छन् । हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति यही कात्तिक २३ बाट गर्दै छ । यसका लागि विमानस्थल दैनिक १० घण्टा बन्द गर्नुपर्ने अवस्था छ । मुख्य विमानस्थल दैनिक १० घण्टा बन्द गर्दा कुल उडानमा ४० प्रतिशत कटौती हुँदै छ ।

यही कारण देखाएर प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलबाट उडान सुरु गर्न स्वदेशी विदेशी वायुसेवा कम्पनीलाई आग्रह गरिरहेको छ । हुन त यसअघिदेखि नै नेपाल वायुसेवा निगमले भैरहवा विमानस्थलबाट हरेक मंगलबार उडान गर्दै आएको छ । अन्य वायुसेवाले पनि केही समय उडान गरेका थिए । तर, नियमित हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेको ७३ वर्षपछि नेपालमा दोस्रोका रूपमा यो अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो ।

यो विमानस्थल २०७९ जेठ २ बाट व्यावसायिक रूपमा सञ्चालनमा आए पनि अहिले आन्तरिक उडानमा मात्र केन्द्रित छ । भैरहवाबाट तेस्रो देशसँग नियमित रूपमा सीधा हवाई उडानको सञ्जाल विस्तार हुन सकेको छैन । भैरहवामा जस्तै पोखरामा बनेको अर्को अन्तर्राष्ट्रिय विमानस्थल पनि आन्तरिक उडानमै अल्झिएको छ । बेलाबेला चार्टर्ड उडानबाहेक व्यावसायिक उडान हुन सकेको छैन । सरकारले यी दुवै विमानस्थल बनाउनका लागि ठूलो लगानी गरेको छ ।

त्यसमा पनि पोखराको विमानस्थल बनाउन चीनसँग चर्को ब्याजदरमा ऋण लिइएको छ । अर्बौं खर्च गरेर बनाइएका विमानस्थल त्यसै रहनु पक्कै पनि सरकारको कमजोरी हो । यी दुई विमानस्थल सञ्चालनमा ल्याउन नागरिक उड्डयन प्राधिकरणको एक्लो प्रयासले पक्कै पुग्दैन । सरकार आफैंले विभिन्न मुलुकसँग कूटनीतिक सम्बन्ध प्रयोग गर्नुपर्ने अवस्था छ । भैरहवाको विमानस्थलप्रति छिमेकी मुलुक भारत त्यति सन्तुष्ट छैन । यो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन भारतको सहयोग अपरिहार्य जस्तै छ ।

त्यसैले सरकारको उपल्लो तहबाट विषय उठाए मात्र भारतले सहयोग दिनेछ । भैरहवा विमानस्थल सञ्चालनमा तत्कालका लागि धार्मिक पर्यटकलाई पनि जोड्न सकिन्छ । जुन–जुन मुलुकमा बुद्ध धर्मावलम्बीहरूको संख्या धेरै छ, ती मुलुकसँग भैरहवा विमानस्थललाई जोड्न सक्ने सम्भावना उच्च छ । यस्तै पोखराको विमानस्थललाई पनि चीनसँग जोड्न सक्ने गरी प्रयास गर्नुपर्छ । नेपालमा चिनियाँ पर्यटक धेरै आउने गरेका छन् ।

ती पर्यटकलाई पोखरा विमानस्थलसँग आबद्ध गर्न सके तत्कालका लागि राहत पुग्ने थियो । तिब्बत सरकारको समेत लगानी रहेको हिमालयन एयरलाइन्सलाई यसमा प्रयोग गर्न सकिन्छ । यी सबै काम सरकारले नै गर्नुपर्छ । जसरी हुन्छ, अर्बौं लगानी परेका यी दुई विमानस्थललाई त्यसै बेवारिसे बनाउनु हुँदैन । गौतम बुद्धमा सुरु भएको उडानलाई कटौती गर्ने होइन, यसलाई नियमित बनाई अरू विमान कम्पनीहरूलाई पनि थप्दै जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्