बैंकहरुको प्रतिसेयर आम्दानी औषतमा २.९४ रुपैयाँ बढ्यो
काठमाडौं– वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपिएस) औषतमा झन्डै ३ रुपैयाँ बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्मको विवरणअनुसार बैंकहरुको औषत ईपिएस १७.६० रुपैयाँ कायम भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.९४ रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमासमा २० वटा बैंकको औषत ईपिएस १४.६६ रुपैयाँ थियो ।
अर्थतन्त्रको सुस्तता र खराब कर्जा बढोत्तरीको चपेटामा परेका बैंकहरुको ईपिएस) निराशाजनक बन्दै गएको थियो । अझै उल्लेख्य रुपमा ईपिएसमा सुधार नभएको बैंकहरूको वित्तीय विवरणले देखाएको छ । वित्तीय विवरणमा सुधार हुँदा प्रतिसेयर आम्दानीमा पनि सुधार भएको जानकारहरू बताउँछन् । वाणिज्य बैंकहरुमध्ये एनआईसी एसिया बैंककोे प्रतिसेयर आम्दानी सबैभन्दा कमजोर अवस्थामा छ । यस्तै चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६.५७ रुपैयाँ छ । यो बैंकको ईपिएस गत आवको तुलनामा १.४६ रुपैयाँ वृद्धि भएको हो ।
यस्तै, एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ३४.८५ रुपैयाँ रहेको छ । यो बैंकको ईपिएस गत आवको तुलनामा ५.५१ रुपैयाँ वृद्धि भएको हो । नेपाल एसबिआईको ३१.०३ रुपैयाँ रहेको छ । ईपिएस वृद्धिमा भने नेपाल एसबिआई बैंक पहिलो सूचीमा छ । गत आवको तुलनामा बैंकको यस्तो आम्दानी १२.७८ रुपैयाँ वृद्धि भएको हो ।
यस्तै, यस अवधिमा नबिल बैंकको यस्तो आम्दानी २९.८३ रुपैयाँ रहेको छ । प्राइम कमर्सियल बैंकको ईपिएस २६.५३ रुपैयाँ रहँदा एनएमबि बैंकको २४.९५ रुपैयाँ छ । यी बाहेकका बैंकको ईपिएस २० रुपैयाँभन्दा तल छ ।
सानिमा बैंकको ईपिएस १७.७६ रुपैयाँ, प्रभु बैंकको १७.६८, माछापुच्छ्रे बैंकको १७.३२ र नेपाल इन्भेष्टमेण्ट मेगाको १७.१६ रुपैयाँ ईपिएस रहेको छ । यस्तै ग्लोबल आइएमई बैंकको ईपिएस १६.७४ रुपैयाँ, कुमारीको १६.४४, नेपाल बैंकको १६.३९, हिमालयनको १३.४२ र सिद्धार्थ बैंकको १०.६४ रुपैयाँ छ ।
यी बाहेकका पाँच वटा बैंकको ईपिएस भने १० रुपैयाँभन्दा तल छ । असोज मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइजको ९.२५ रुपैयाँ, सिटिजन्सको ५.५८, राष्ट्रिय वाणिज्य बैंकको ३.८७, कृषि विकासको ३.२५ र एनआइसी एशिया बैंकको २.९१ रुपैयाँ रहेको छ । एनआइसी एसिया बैंकको ईपिएस सबैभन्दा कम हो ।
बैंकको कुल नाफालाई कुल सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घट्न जान्छ भने नाफामा सुधार आउँदा प्रतिसेयर आम्दानीमा पनि सुधार आउँछ । त्यसकारण बैंकको वित्तीय विवरण जति सुध्रन्छ, त्यति नै प्रतिसेयर आम्दानी जस्ता सूचकको अवस्था पनि सुध्रने हुन्छ ।
प्रतिसेयर आम्दानी जति धेरै भयो, त्यति राम्रो मानिन्छ । अर्थतन्त्रको सुस्तताका कारण समग्र सूचकमा असर गर्दा बैंकहरूको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको हो । यसलाई सेयर बजारका लगानीकर्ताले महत्वका साथ हेर्ने गर्छन् ।
प्रतिसेयर आम्दानी सेयर बजारमा लगानी गर्नेहरूले बढी महत्वका साथ हेर्ने सूचक रहेकाले यसको घटबढले बजारलाई प्रभाव पार्छ । ‘प्रतिसेयर आम्दानी घट्नु भनेको कम्पनीको पर्फर्मेन्स घट्दै गएको देखिनु हो भने बढ्नु भनेको राम्रो हुनु हो,’ सेयर बजारका एक जानकारले भने । विगतमा निकै घटिरहेको ईपिएस यसपटक भने सामान्य बढ्न पुगेको हो । अर्थतन्त्रको अवस्था सुध्रँदै जाँदा ईपिएस अझै बढ्ने र लगानीकर्तालाई फाइदा पुग्ने जानकारहरू बताउँछन् । विगतमा अर्थतन्त्रमा सुस्तता आउँदै गर्दा ईपिएस क्रमशः घट्दै गएको थियो । अर्थतन्त्रले लय समात्दै जाँदा र बैंकहरूको नाफामा पनि सुधार आउँदा ईपिएसमा सुधार आउन थालेको हो ।