Logo

पर्यटकीय राजधानी पोखरा र माछापुच्छ्रेको कुमारीत्व

हालै विश्वभर ४५ औं विश्व पर्यटन दिवस मनाइयो । नेपालमा पनि सोअनुसार विभिन्न कार्यक्रम गरेर पर्यटन दिवस मनाइएको थियो । तर, यसपालि पर्यटन दिवसका बारेमा नेपाली मिडियाहरूमा त्यतिविधि समाचार आएनन् । नेपालको पर्यटकीय गतिविधिबारेमा नेपाली मिडियाहरूमा त्यतिविधि चर्चा भएन । हुन सक्छ, लगत्तै आएको बाढीपहिरो र त्यसले गरेको धनजनको क्षतिका कारण पनि नेपाली मिडियाहरूमा पर्यटकीय गतिविधिको चर्चा–परिचर्चा त्यति हुन नसकेको हो ।

जे भए तापनि लगभग ६ महिनाअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्र्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी भनी घोषणा गरेका थिए । खास कुरो बुझिएअनुसार गण्डकी प्रदेशको राजधानी पोखरालाई ‘पर्यटकीय राजधानी’ भनी गरिएको घोषणासभा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको तजबिजमा मात्रै भएको हो, त्यसमा संघीय सरकारको भूमिका थिएन, केन्द्र सरकारले कुनै निर्णय गरेको थिएन । त्यसैले यस कार्यका लागि संघीय सरकारले पनि निर्णय गरिहाल्नुपर्ने देखिन्छ ।

हुन पनि धेरै समयअघिदेखि नै पर्यटन व्यवसायीमाझ पोखरालाई अनौपचारिक रूपमा पर्यटकीय राजधानी भन्ने गरिन्थ्यो, चिन्ने गरिन्थ्यो । जे भए तापनि हालसालै देशको सरकार प्रमुखद्वारा औपचारिक रूपमा पोखरालाई ‘पर्यटकीय राजधानी’ भनी घोषणा गरिएको छ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएपछि बाँकी रहेको माछापुच्छ्रे हिमालको कुमारीत्व भंग गर्ने कुरो अर्थात् अब माछापुच्छ्रेलाई पर्वतारोहीहरूका लागि आरोहण गर्न खुला गरौं (अनुमति दिऔं) भन्ने यो लेखको आशय हो ।

उचाइका हिसाबले माछापुच्छ्रे हिमाल न धेरै अग्लो हो, न धेरै होचो हो । यसको उचाइ ६ हजार ९ सय ९३ मिटर मात्रै छ । माछापुच्छ्रे हिमाल नेपालको पछिल्लो प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पर्छ भने सो हिमाललाई अंग्रेजी भाषामा ‘फिसटेल’ र स्वीस–जर्मन भाषामा ‘म्याटर्नहर्न’ भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले चाहिँ ‘कतासुँ क्लिको’ भनी पुकार्छन् । नेपाली भाषामा चाहिँ ‘माछापुच्छ्रे’ नाम भइहाल्यो । अहिले आरोहणका लागि निषेध गरिएको माछापुच्छ्रे हिमाल सुरुदेखि नै आरोहण गर्न नेपाल सरकारले निषेध गरेको थियो । यो विषयमा तपाईं–हामीमध्ये धेरै कमलाई मात्र वास्तविकता थाहा छ । त्यसैले अब हामीले माछापुच्छ्रे हिमाल आरोहण गर्न दिने–नदिने भन्ने सम्बन्धमा आम जनताबीच व्यापक छलफल र बहस गर्नुपर्ने देखिन्छ ।

सर्वप्रथम सन् १९५६ मा माछापुच्छ्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरूले गरेका थिए । सम्भवतः उनीहरू बेलायती टोली थिए । सो टोलीले बाटो खोज्दै जाने क्रममा त्यस बेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस जान र कुखुरा, सुँगुर आदिको मासु लैजान नपाउने बन्देज थाहा भयो । त्यस कारणले गर्दा नै सोभन्दा माथिका ठाउँलाई ‘अन्नपूर्ण सेन्चुरी’ नामकरण गरे, बेलायती पर्वतारोही टोलीले ।

सोही पर्वतारोही टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे हिमाल आरोहणको प्रयास गर्‍यो । सो पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा करिब ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण उनीहरू हिमाल आरोहण गर्न असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडौंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आफूले चढ्न नसकेको चुलीमा अरू नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको पुस्तक ‘क्लाइम्बिङ दि फिसेज टेल’ (सन् १९५८) बाट प्रस्ट हुन्छ ।

सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामकरण भएका चुलीहरूको नेपाली नामकरण गर्ने समितिको संयोजक डा. हर्क गुरुङ थिए । उनले समितिको संयोजकका रूपमा मोदीखोलाका गाउँहरू घुमेँ । हिमचुलीहरूको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लगाउन लागे । आफूले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्‍यो । साँच्चै गुरुङले भनेझैं एक जना मानिसको चाहनाले त्यो बेलाको नियमलाई प्रभावित गरेको देखिन्छ, जुन सरासर गलत नजिरको रूपमा स्थापित भयो । नत्रभने हालसम्म सगरमाथा हिमालपछि सम्भवतः माछापुच्छ्रे हिमालमा धेरै संख्यामा पर्वतारोहीहरू ओइरिने थिए कि ?

त्यसो त माछापुच्छ्रे निषेधित भएको धेरै पछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको धारणा बुझ्नुपर्छ भनेका थिए । कुनै हिमाल वा स्थान पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्कसंगत र न्यायसंगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यावहारिक नै हुन्छ कि ? कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।

पछिल्लो पटक प्रदेश सरकार बनेपछि प्रदेश र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नो राय÷सुझाव दिइसकेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताएका छन् । तर पनि माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने-नदिने अधिकार केन्द्रीय सरकारलाई रहेको बताउँछन्, प्रवक्ता शाही ।

अझ त्यो बेला (लगभग ६७–६८ वर्षअघि) को नेपाली समाजको चेतना र बुझाइको स्तर अहिलेजति कहाँ थियो र ? यसो भन्दाखेरि यो पंक्तिकारले ऊ बेलाको समाजलाई कम आँकेको होइन, चेतना नै थिएन, बुझक्की नै थिएन भन्नेचाहिँ पटक्कै होइन । तथापि आजको पुस्ता धेरै नै फरक सोच्ने र बुझ्ने भइसकेका छन् । त्यसैले अब फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखिराख्नु ठीक होला कि आरोहणका लागि खुला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अझै पनि निषेधित नै राखौं, किनभने माछापुच्छ्रे हिमाल कुमारी, पवित्र र सुन्दर छ’ भन्लान् । त्यसैले अब प्रदेश र केन्द्र सरकारले जतिसक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहणप्रेमीहरूका लागि खुला गरेको घोषणा गरोस् ।

खासमा भन्ने हो भने माछापुच्छ्रे हिमालले केवल पोखरा अनि पोखरा सहरवरपरको मात्रै नभएर गण्डकी प्रदेश र समग्र देशको विकासमै योगदान गर्न सक्ने सम्भावना देखिन्छ । किनभने माछापुच्छ्रे हिमाल अन्य हिमालहरूभन्दा केही सुगम स्थानमा छ, आकर्षक छ, अनि अति सुन्दर पनि छ । उचाइ पनि ठिक्कको छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो हिमाल हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन छ । यातायातका दृष्टिले पनि धेरै सुगम स्थानमा रहेको छ भने गाउँबस्तीबाट पनि नजिक छ ।

प्रतिक्रिया दिनुहोस्