एनआरएनए ग्लोवल कन्क्लेभ आइतबारदेखि हुँदै

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारण सभा आउँदो आइतबार र सोमबार काठमाडौंमा हुने भएको छ ।
एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ समेत आयोजना हुने सो सभामा संघभित्रको असन्तुष्टि पनि सम्बोधन गर्ने मुख्य एजेण्डा तय गरिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले बताए ।
संघभित्र रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने भएकाले सो साधारण सभालाई एकताको साधारण सभाको रुपमा पनि नामाकरण गरिएको उनको भनाइ थियो । सो साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एनआरएनएले जनाएको छ ।
साधारण सभामा नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता र मताधिकार, नेपाली मुलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धि विषयमा छलफल हुने एनआरएनएले जनाएको छ ।