पर्यटक पर्खाइमा सोरु तातोपानी

मुगु – मुगुको उत्तरी सोरु गाउँपालिका वडा नं. ५ जिमामा रहेको सोरु तातोपानी पर्यटकको पर्खाइमा छ । सोरु गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल सोरु तातोपानीलाई लिने गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझलमा परेको हो ।
मुगु जिल्लामा पर्याप्त पर्यटकीय स्थल छन् । तर, प्रचारप्रसार अभावमा ओझेलमा परेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न कर्णाली प्रदेशमा आउने पर्यटकका लागि पुग्नैपर्ने स्थानमध्ये पर्छ सोरु तातोपानी । यहाँको तातो पानी जुम्लाको भन्दा राम्रो भएको जानकारहरु बताउँछन् । यहाँ स्नान गरे विभिन्न किसिमका रोग जस्तै– बाथ रोग, चिलाउने, पेटका रोग निको हुने विश्वास छ ।
जिल्लाभित्रका र जिल्लाबाहिर जुम्ला, हुम्ला, बाजुरा, कालीकोट, दैलेखलगायतका पर्यटक केही मात्रामा सोरु तातोपानीमा नुहाउन आउने गरेका स्थानीय हर्क जैशीले बताए ।
सोरु तातोपानीमा तल कर्णालीको छाल नजिकै एक तातोपानीको पोखरी छ भने त्यस भन्दा माथि दुईवटा धारा निर्माण गरिएका छन् । तर तातोपानी कुवा र बनाइएका धारा व्यवस्थित छैनन् । स्नान गर्न आएका पर्यटकलाई महिला र पुरुषको धारा सँगै हुँदा समस्या हुने गरेको छ । सोरु तातोपानीमा विभिन्न समयमा मेला पनि लाग्ने गर्दछ ।
दानबहादुर बुढा