व्यावसायिक शिक्षा तथा तालिमका लागि भौचर मेला
शिक्षा मन्त्रालयअन्र्तगतको व्यावसायिक शिक्षा तथा तालमि अभिवृद्धि परियोजना (इभेन्ट) ले भौचरमा आधारित छोटो अवधिको तालिमका लागि भौचर वितरण मेला आयोजना गरेको छ ।
सोमबार र मगलबार २ दिनसम्म सञ्चालन हुने सो मेलामा परियोजनाले आर्थिक वर्ष २०७६-०७७ मा सञ्चालन गर्ने ५८ वटा तालिम तथा रोजगार प्रदायक संस्थामार्फत ३४ वटा विभिन्न पेसागत विषयमा भौचरमा आधारित छोटो अवधिको तालिमको भौचर वितरण गर्ने भएको छ ।
३ महिना अर्थात ३९० घण्टाको सो तालिम कार्यक्रमका लागि ७ हजार ५०० जनालाई भौचर प्रदान गर्ने जनाएको छ । मेला आयोजनाबारे जानकारी दिन आइतबार गरिएको पत्रकार सम्मेलनमा दलित, लोपोन्मुख, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति र गरिबहरुका लागि रोजगारीमुखी तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो ।
तालिम तथा रोजगार प्रदायक संस्थाले परियोजनाले तोकेको सेवा तथा सर्तमा रही सहभागीलाई तालिमका बारेमा परिचय दिने, तालिम दिने, परामर्श सेवा प्रदान गर्ने, सीप परीक्षणको व्यवस्था मिलाउने, पहिलो तीन महिना र थप तीन महिना गरी कम्तिमा छ महिनाको रोजगारीको सुनिश्चत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
परियोजनाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको मागमा आधारित सीपयुक्त, उत्पादनशील र रोजगारमूलक जनशक्ति उत्पादन गरी व्यावसायिक तालिमको पहुँच र क्षमता अभिवृद्धिमा मद्दत पु¥याउने छ । सो तालिम कार्यक्रममा छनौट भएका सहभागीहरुलाई परियोजनाले भौचर उपलब्ध गराउने छ । सहभागीले उक्त भौचर काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र आफूले छनौट गरेको विषय र तालिम प्रदायक संस्थामा बुझाई तालिम लिन पाउने छन् ।
भौचर मेलाको उद्देश्यको भनेको छनौट भएका १० हजार ९४१ जना सहभागीहरूलाई भौचर वितरण गर्ने रहेको इभेन्टका सूचना अधिकृत शिवराज पोखरेलले जानकारी दिए । सो भौचरमेलामा छनौट भएका संस्था र तालिममा छनौट भएका सहभागीहरूलाई एकै ठाउँमा भेला गरी तालिमको बारेमा परामर्श तथा अन्तरक्रिया गराई भौचर वितरण गर्नु रहेको आयोजनकले जानकारी दिएका छन् । सहभागिहरुको मागमा आधारित, रोजेको विषय र बजारको आवश्यकता तथा आफूलाई पायक पर्ने ठाउँमा सहभागीहरूलाई निःशुल्क रुपमा तालिममा सहभागी हुनका लागि दिइने निस्सालाई भौचर भनिन्छ ।
तालिम तथा रोजगार प्रदायक संस्थाहरुबाट आशयपत्र माग गरी प्रारम्भिक छनौटमा परेका संस्थाहरूको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन गरी ५८ वटा संस्थाहरु छनौट गरिएको र तिनै संस्थाहरुलाई परियोजनाको तर्फबाट स्टलको व्यवस्था गरी भौचर वितरणको मेला आयोजना गरिएको छ ।
तालिम लिन चाहने १६ देखि ४० वर्ष समूहका बेरोजगार युवाले आफ्नो पारिवारिक स्थितिसहितको विवरण अनलाइनमार्फत २६ हजार ३५९ जनाले फाराम भरेकोमा सो मध्ये प्रशिक्षार्थी छनौट सहयोगी पुस्तिका २०७४ अनुसार सफ्टवेयरमार्फत तोकिएको मापदण्ड र कोटा अनुसार १० हजार ९४१ जना छनौट गरिएको छ । छनौट भएका सहभागीहरु नै भौचर वितरणका प्रमुख पात्र हुने जनाइएको छ ।