Logo

समुदायको विकासमा एनसेलले करिब दुई करोड योगदान गर्ने

काठमाडौं– स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ ।

एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजना कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थालाई अनुदानको आह्वान गरेको हो । गत वर्ष १८औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजना प्रदेशस्तरमा सञ्चालनमा छन् ।

यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायलाई सशक्त बनाउन केन्द्रीत हुने जनाएको छ । यस पहलअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोगलगायतका क्षेत्रमा परियोजना लागु गर्ने एनसेलले जनाएको छ ।

सो पहलअन्तर्गत सात प्रदेशमा १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख अनुदान प्रदान गरिनेछ । यस पहलका लागि कुल योगदान एक करोड ९० लाखको हुनेछ । एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानीय संघसंस्थालाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौती तथा समस्या समाधान गर्न अनुदान अर्थात परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको हो ।

एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता, र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजना प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्