Logo

कर्णालीमा नौ सयभन्दा बढी स्वास्थ्य संस्था सुगममा

वीरेन्द्रनगर– कर्णालीका १० जिल्लामा ९४१ वटा स्वास्थ्य संस्था रहेका छन् । १९ प्रकारका विभाजित १० जिल्लामा ९४१ स्वास्थ्य संस्था चालु अवस्थामा रहेको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए । यीमध्ये जुम्ला र सुर्खेतमा जिल्ला अस्पताल नभएको तथ्यांकमा देखिएको छ । जुम्लामा कर्णाली स्वास्थ्य प्रतिस्ठान रहेको छ भने सुर्खेतमा प्रदेश अस्पताल लगायतका स्वास्थ्य संस्था रहेका छन् ।

सेकेडरी अस्पताल सुर्खेतमा एक रहेका छन् । आधारभूत स्वास्थ्य केन्द्रको संख्या ३१४ वटा रहेको छ । डोल्पामा २०, मुगुमा २२, हुम्लामा आठ, जुम्लामा २१, कालिकोटमा ४८, दैलेखमा २५, जाजरकोटमा ४४, रुकुम पश्चिममा ४४, सल्यानमा ३२, सुर्खेतमा ५० गरेर जम्मा ३१४ वटा रहेको निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा ठूलो जिल्ला डोल्पामा सबैभन्दा कम रहेका छन् । त्यहाँका पालिकामा आधारभूत अस्पताल सञ्चालनमा नरहेको अवस्था छ ।

१५ शैयाको जिल्ला अस्पतालबाहेक अन्य २३ वटा हेल्थ पोष्टमात्र रहेका छन् । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको हिसाबमा डोल्पा कमजोर देखिएको छ । कोरोनाको समयमा सञ्चालनमा ल्याइएको एक वटा कोभिड स्वास्थ्य संस्था रहेको रेडर्कमा देखिएको छ । सामान्य अस्पतालको रुपमा कर्णालीमा तीनवटा मात्र रहेको पाइएको छ । प्राथमिक अस्पतालको संख्या २१ वटा रहेकोमा मुगुमा एक, हुम्लामा एक, कालिकोटमा पाँच, दैलेखमा चार, जाजरकोटमा तीन, रुकुम पश्चिममा चार, सल्यानमा दुई र सुर्खेतमा एक वटा रहेको छ ।

यी पालिकामा रहेका स्वास्थ्य संस्था हुन् । संघ सरकारले अनुदान दिएर निर्माण गर्न लागेका यी प्राथमिक अस्पताल रहेका छन् । प्रदेशमा डायग्नोस्टक सेन्टर एक रहेको छ । गैरसरकारी संस्थाले सञ्चालन गरेका २२ स्वास्थ्य संस्था रहेका छन् । डोल्पा, मुगु, हुम्ला र जाजरकोटमा यस्ता खालका स्वास्थ्य संस्था नभएको तथ्यांकमा उल्लेख रहेको छ । जुम्लामा एक, कालिकोटमा एक, दैलेखमा सातवटा, रुकुम पश्चिममा एक, सल्यानमा एक र सुर्खेतमा ११ वटा रहेको पाइएको छ ।

यो तथ्यांकले के देखाउँछ भने दुर्गमभन्दा सुगममा सबै भन्दा बढी स्वास्थ्य संस्था सञ्चालनमा रहेको छन् । सहरी स्वास्थ्य केन्द्रको संख्य कर्णालीमा जुम्लामा एक, दैलेखमा पाँच, रुकुम पश्चिममा १०, सल्यानमा पाँच र सुर्खेतमा १० वटा रहेको निर्देशनालयले जनाएको छ । यो तथ्यांकले पनि सुगम क्षेत्रमा बढी स्वास्थ्य संस्थाको संख्या देखिएको छ । यस्ता खालका स्वास्थ्य संस्था कर्णालीका डोल्पा, मुगु, हुम्ला, कालिकोट र जाजरकोटमा नभएको देखाएको छ ।

कर्णालीका १० जिल्लामा हेल्थ पोष्टको संख्या सबैभन्दा बढी छ । डोल्पामा २३, मुगुमा २४, हुम्लामा २६, जुम्लामा २९, कालिकोटमा २७, दैलेखमा ५५, जाजरकोटमा ३०, रुकुम पश्चिमा २५, सल्यानमा ४४ र सुर्खेतमा ४७ वटा रहेका छन् । सबै गरेर कर्णालीमा ३३० वटा रहेको निर्देशनालयले जानकारी दिएको छ । यो तथ्यांकले पनि दुर्गमभन्दा सुगममै बढी हेल्थ पोष्ट रहेको देखाएको छ । संस्थागत क्लिनिकको संख्या कर्णालीमा सुर्खेतमा दुईवटा मात्र रहेको पाइएको छ ।

जिल्ला अस्पतालको संख्य कर्णालीमा आठवटा रहेको छ । जुम्ला र सुर्खेतबाहेक आठवटा रहेका छन् । निजी अस्पतालको संख्या आठवटा रहेको छ । रुकुम पश्चिममा चार र सुर्खेतमा चारवटा निजी अस्पताल रहेका छन् । अन्यआठ जिल्लामा निजी अस्पताल नभएको पाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको संख्या कर्णालीमा ११ वटा रहेकामा सबैभन्दा बढी सुर्खेतमा रहेको पाइएको छ । सुर्खेतमा तीन, सल्यानमा दुई, रुकुम पश्चिममा एक, जाजरकोटमा एक, दैलेखमा दुई, जुम्लामा एक र मुगुमा एक वटा रहेको पाइएको छ ।

यो तथ्यांकले पनि सुगममै बढी रहेको देखिएको देखाएको छ । विभिन्न प्रकारका स्वास्थ्य संस्था गरेर डोल्पामा ५१ वटा, मुगुमा ६५, हुम्लामा ५५, जुम्लामा ६१, कालिकोटमा ९४, दैलेखमा १२०, जाजरकोटमा ९६, रुकुम पश्चिममा ९६, सल्यानमा एक सय र सुर्खेतमा २०३ गरेर जम्मा प्रदेशभरि ९४१ वटा स्वास्थ्य संस्था रहेको निर्देशनालयले जनाएको छ । यो तथ्यांक विश्लेषण गर्दा दुर्गमभन्दा सुगम जिल्लामा नै बढी स्वास्थ्य संस्था र पहुँच रहेको देखिन्छ ।

हिमाली जिल्लामा स्वास्थ्य सेवाको पहुँच सबैभन्दा कम देखिएको छ । स्वास्थ्यमा सहज रुपमा पहुँच नहुँदा अघिल्लो आवमा मात्र जाजरकोटबाट सात, डोल्पाबाट १२, हुम्लाबाट ६, रुकुम पश्चिमबाट सात, दैलेखबाट तीन र कालिकोटबाट पाँच गरेर ४० जना सुत्केरी तथा गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल तथा नेपालगन्ज, काठमाडौंसम्म पुर्‍याएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला सशक्तीकरण परियोजना राष्ट्रपति महिला उत्थान समन्वय एकाइको हवाई उद्धार सम्पर्क व्यक्ति इन्दिरा आचार्यले दिएको जानकारी अनुसार यो मात्रामा सरकारले उद्धार गरेको थियो । सवारी दुर्घनाबाट समेत धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ । समयमै उपचार नपाउदा कर्णालीमा मृत्यु हुनेको संख्य ठूलै छ ।

कर्णालीका पाँच जिल्लामा अस्पताल निर्माण हुँदै
कर्णालीका पाँच जिल्लाका अस्पताल निर्माणकार्य तीव्र बनाएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त अस्पताल निर्माण कार्य तीव्र बनाएको हो । डोल्पा, सल्यान, रुकुम पश्चिम, हुम्ला, दैलेखमा अस्पताल निर्माण कार्य जारी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । २०७९/०८० मै निर्माण हुनुपर्ने यी अस्पताल तोकिएको समयमा निर्माण नभएपछि आव २०८०/०८१ मा रुकुम, दैलेखमा मात्र म्याद थप भएको छ ।

प्रशासन तथा योजना अनुगमन महाशाखा प्रमुख सुवर्णकुमार खड्काले दुई जिल्लाको अस्पतालको म्याद थप भएको बताए । केही अस्पतालको अघिल्लो वर्ष म्याद थप भएको भए यो वर्ष म्याद थप गर्न नपर्ने पनि उनले बताए । यसैबीचमा डोल्पा अस्पतालको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भइसकेको छ । अन्य सल्यान अस्पतालको भवन ६२ प्रतिशत भएको मन्त्रालयले प्रगति विवरणमा राखेको छ ।

त्यस्तै रुकुम अस्पतालको ८० काम सकिएको भन्दै मन्त्रालयले यो आवमा सम्पन्न गर्नका लागि थप बजेट विनियोजन गरेको जानकारी दिइएको छ । सल्यान र रुकुम पश्चिमका अस्पताल निर्माणका लागि चालु आवको हालसम्म कुनै पनि रकम खर्च नभएको मन्त्रालयले जनाएको छ । हुम्ला अस्पतालको निर्माणकार्य जारी छ । उक्त अस्पतालको ६५ प्रतिशत भौतिक प्रगति रहेको चालु आवमा छुट्याएको बजेटबाट ६ लाख भुक्तानीसमेत लिएको मन्त्रालयले प्रगति विवरणमा सार्वजनिक गरेको छ ।

दैलेख अस्पतालको भौतिक प्रगति हालसम्म ४० प्रतिशतमात्र भएको छ । अन्य अस्पतालसँगै लगाएको ठेक्का भए पनि दैलेख अस्पतालको काम निरासाजनक रहेको पाइएको छ । यी सबै ठेक्का आव २०७९/८० मै सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म म्याद थप गरेर निर्माण कार्य जारी राखिएको छ । अधुरा भौतिक संरचना निर्माण गर्नका लागि मन्त्री तथा सचिवस्तरीय टोलीले जिल्लामा गएर अनुगमन गरेको प्रगति विवरणमा उल्लेख छ । अनुगमन पश्चात म्याद थपका काम भएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्