उपचार खर्च लिने श्रमिकको मृत्यु भए १० लाख पाउने
काठमाडौं– वैदेशिक रोजगारीका क्रममा औषधी उपचार खर्च लिएपछि मृत्यु भएका श्रमिकले समेत १० लाख आर्थिक सहयोग पाउने भएका छन् ।
सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको परिवारलाई दिँदै आएको सहायता रकम १० लाख पुर्याएसँगै कल्याणकारी कोषबाट उपचार खर्च लिएर मृत्यु भएका श्रमिकलाई समेत आर्थिक सहयोग दिइने भएको हो । वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालले वैदेशिक रोजगार नियमावलीमा व्यवस्था गरिएको उपचार खर्च लिएर पनि उपचार सम्भव नभएर मृत्यु भएमा श्रमिक परिवारले १० लाख पाउने भएको बताए । वैदेशिक रोजगारीका क्रममा काम गर्दा घाइते र बिरामी भएर उपचार गर्ने मध्ये धेरै श्रमिकको मृत्यु हुने गरेको छ ।
यसरी उपचारका क्रममा मृत्यु भएकाले आर्थिक सहायता नपाउने नियमावलीमा उल्लेख थियो । अब भने उपचारका क्रममा मृत्यु भएका श्रमिकका परिवारले पनि सहायता रकम १० लाख पाउनेछन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो १०० दिनको कार्यप्रगति प्रस्तुत गर्दै वैदेशिक रोजगारीका क्रममा बिरामी उपचार खर्च पाएर मृत्यु भएकाहरुले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरुको परिवारलाई पनि १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका थिए ।
श्रमिकलाई १३ करोड आर्थिक सहयोग
चालु आर्थिक वर्षको ३ महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २१७ श्रमिकलाई १३ करोड ४३ लाख आर्थिक सहायता वितरण गरिएको छ ।
श्रमस्वीकृति लिएर रोजगारीमा गएका श्रमिकको स्वदेश तथा विदेशमा मृत्यु भएमा ७ लाख रुपैयाँ आर्थिक सहायता दिनुपर्ने कानुनी व्यवस्था अनुसार सो रकम दिइएको हो । यो रकम १० लाख बनाउने निर्णय भइसके पनि कार्यन्वयन भएको छैन । यसैगरी १२६ जना श्रमिक श्रम गन्तव्यमा अंगभंग हुँदा ४ करोड ८ रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको निर्देशक ढकालले जानकारी दिए । यसैगरी यो अवधिमा विदेशमा मृत्यु भएका २१७ युवाको शव गृहजिल्ला ढुवानी गर्दा ५८ लाख रुपैयाँ खर्च भएको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकको नजिकका ८८ जना नातेदारलाई लागेको ५ प्रकारका संवेदनशिल रोगको उपचारका लागि ४१ लाख रुपैयाँ वितरण गरिएको बोर्डले जनाएको छ ।
गत आवमा १ हजार ३४६ नेपालीले विदेशी भूमिमा रोजगारीकै क्रममा ज्यान गुमाउँदा उनीहरुका आफन्तलाई वैदेशिक रोजगार बोर्डले ७० करोड आर्थिक सहयोग गरेको थियो । यो रकम अंगभंग, बिरामी तथा शव व्यवस्थापन खर्च बाहेकको हो । गत आवमा वैदेशिक रोजगारीको सिलसिलामा ४१ महिलासहित १ हजार ३०५ नेपाली श्रमिकको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष विदेशमा मृत्यु भएर आर्थिक सहायता लिनेको संख्या १ हजार २०८ थियो ।
अघिल्लो आवको तुलनामा गत आवमा विदेशमा मृत्यु हुने नेपालीको संख्या १३८ जनाले बढेको छ । बोर्डका निर्देशक ढकालले वैदेशिक रोजगारीमा रहेका युवाका लागि प्रदान गरिँदै आएको विभिन्न ७ प्रकारका कल्याणकारी सहयोगका लागि बोर्डले गत आवमा ९८ करोड हाराहारीमा आर्थिक सहयोग गरेको बताए ।