Logo

जनकपुरमा चार करोडको फूल कारोबार हुने

जनकपुरधाम– तिहारमा चार करोड रुपैयाँ मूल्य बराबरको फुल मालाको कारोबार हुने अनुमान गरिएको छ । यसवर्षको तिहारको अवधिभर सयपत्री, मखमली र गोदावरी गरी उक्त मूल्य बराबरको मालाको कारोबार हुने अनुमान फूल व्यवसायीहरुले गरेका हुन् ।

जनक चोकमा रहेको जेके फल्वार सप्लाई एण्ड गिफ्ट हाउसका सञ्चालक जितेन्द्र कुमार भण्डारीले पनि चार करोड जतिको कारोबार हुने बताए । बजार मागको ८० प्रतिशत फुलमाला आन्तरिक उत्पादन र बाँकी २० प्रतिशत माला भारतबाट आयात भएर आउने गरेको उनले बताए । मूख्य गरी भाइटिकामा प्रयोग हुने सयपत्री फूलका माला काठमाडौं, दांङ र लालबन्दीलगायतका ठाउँबाट आउने गरेको छ ।

धनुषामा करिब ५० विघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गर्छ । जिल्लाको देउपुरा रुपैठा, फुलगामा, परवाहा, ढल्केवरलगायतका ठाउँमा यसको व्यावसायिक खेती हुने गरेको छ । वैदेशिक रोजगारबाट फर्केका युवाहरुले विकल्पको रूपमा फुल खेती गर्न थालेको छन् । सुरुमा पुष्प व्यवसायीले राम्रो प्रतिफल दिन थालेपछि यसको खेतीतर्फ युवाहरुको आकर्षण बढ्दै गएको थियो ।

अर्का व्यवसायी शंकर भण्डारीका अनुसार कोरोना महामारीकालदेखि विस्तारै व्यवसायीले आर्थिक संकट झेल्दै आएका हुन् । जनकपुर बजार क्षेत्रमा फूल कारोबार गर्ने खुद्रा तथा थोक गरी करिब २० जना व्यापारी रहेका छन् भने करिब दुई सय किसानले फूलको व्यावसायिक खेती गर्दै आएका छन् । ९० देखि ९५ प्रतिशत भण्डारी समुदायका व्यक्तिहरु फूलखेतीमा रहेका छन् ।

फूलको कच्चा व्यापार हुने गरे पनि कहिले काही प्रतिकूल मौसमको कारण यो बिग्रिने गरेको जनकपुर घर भई काठमाडौं गौशालामा थोक व्यापार गर्दै आएका ७५ वर्षीय रामदयाल माली बताउँछन् । अघिल्लो वर्षभन्दा यसवर्ष फूल बिक्री बढेको उनको भनाइ छ । खुद्रा व्यापारी रामजीवन भण्डारीले दीपवालीदेखि तिहारसम्म १५ लाख जतिको फूलको व्यापार गर्ने लक्ष्य लिएका छन् । उनले चाडपर्वको बेलामा यसको बिक्री उच्च हुने गरेको बताए ।

नेपालमा खासगरी पाँच प्रजातिको फुल पाउने भए पनि कलकतिया र पटनीया प्रजातिका सयपत्री फूल बढी बिक्री हुने गरेकोले किसानहरु यसमा आकर्षित भइरहेका छन् । उत्पादन गरेका सयपत्री फूल स्थानीय तथा थोक बिक्रेताहरुले देशका अन्य भागमा समेत पठाउने गरेको बताए । यस पटक फूलको व्यावसायिक खेती गरी किसानहरुले आर्थिक लाभ मात्र नगरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सयौं जनाले काम पाएका छन् ।

अहिले जुनसुकै शुभ कार्यमा फूल अनिवार्य रूपमा चाहिने भएकोले स्थानीय स्तरमा सयपत्री फूलको माँग बढ्दै गएको छ । रोजगारीको लागि युवाहरु विदेशतर्फ पलायन भएको अवस्थामा देवपुरा रुपैठाका किसानहरुले गरेको फूलको उत्पादनले आर्थिक उन्नतितर्फ लम्किँदै गएको छ । यस क्षेत्रमा पुष्प व्यवसायीको लागि हावापानी अनुकूल भएको हुँदा पुष्प खेतीको प्रचुर सम्भावना रहेकोले स्थानीय सरकारले यस खेतीतर्फ विशेष ध्यान दिएर किसानहरुको समस्यालाई समाधान गर्नुपर्ने माग किसानहरुको छ ।

प्रतिक्रिया दिनुहोस्