बीआरआईले नेपाल चीन थप निकट «

बीआरआईले नेपाल चीन थप निकट

बेइजिङ-चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको आर्थिक तथा पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय अवधारणा बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) का माध्यमले नेपाल र चीनबीचको मित्रता थप उचाइमा पुग्ने चिनियाँ अधिकारीहरूले बताएका छन् ।
बीआरआर्ई राजनीतिक उद्देश्य प्राप्तिका लागि नभइ आर्थिक सामाजिक विकासका लागि चीनले अघि सारेको विश्वव्यापी कार्यक्रम भएको भन्दै चिनियाँ प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरूले छिमेकी नेपालले यस कार्यक्रमबाट अझ बढी फाइदा लिनसक्ने बताए ।
चीन भ्रमणमा रहेको नेपाली सञ्चारकर्मीको टोलीलाई बीआरआइबारे जानकारी गराउँदै चाइना एकेडेमी अफ सोसल साइन्सका एसिया तथा अफ्रिका मामिला विज्ञ प्राध्यापक हि वेनपिङले विकासशील राष्ट्रहरूले पूर्वाधार विकासमा र विकसित मुलुकले व्यापार वृद्धिमार्फत आर्थिक विकासमा बीआरआईमार्फत फाइदा लिनसक्ने बताएकी हुन् ।
“बीआरआईको अवधारणा सिल्क रोडबाटै सुरु भएको हो र यसलाई राष्ट्रपति सी चीनफिङले वान बेल्ट वान रोडका नाउँमा पुनर्जीवन दिनुभएसँगै बीआरआर्ई भन्न थालिएको हो,” उनले भनिन्, “यो मूलतः चीनको लगानी विविधीकरणको एउटा टूल भए पनि यसले आर्थिक क्षेत्रमा एसियाको प्रतिस्पर्धी क्षमता बढाउँछ भने युरोप र अफ्रिकासम्म सहज पहुँच विस्तार गर्नेछ ।”
चिनियाँ राष्ट्रपति सि को हालै भएको नेपाल भ्रमणपछि चिनियाँ जनतामाझ नेपाल चिनिन थालेको स्थानीय अधिकारीहरू बताउँछन् भने वर्षौंदेखिको समस्यारहित सम्बन्धका कारण नेपालसँग भोलिका दिनमा सहकार्य अझ बढ्दै जाने उनीहरूको अपेक्षा छ । नेपालसँगको सम्बन्ध जनस्तरमा समेत विकासका लागि बीआरआर्ई प्रभावकारी माध्यम हुने उनीहरू बताउँछन् ।
बीआरआईका हालसम्म भएका दुई सम्मेलनमा नेपालको सक्रिय उपस्थितिले चिनियाँ पक्ष नेपालप्रति सकारात्मक देखिन्छन् । चीनमा हुने सानाठूला सबैजसो कार्यक्रममा कुनै न कुनै रूपमा बीआरआई जोडिने गरेको छ भने चिनियाँ सञ्चारमाध्यमले पनि प्रकाशन र प्रशारणमा बीआरआईसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिने गरेका छन् ।
प्राध्यापक वेनपिङ पनि चीनले अबको विश्वलाई नेतृत्व गर्ने भएकाले राष्ट्रपति सीले नवीन कार्यक्रम अघि सारेको बताउँछिन् । उनका अनुसार बीआरआईमा कुनै राजनीतिक दाग नलागोस् भन्नेमा चीन सतर्क छ र मूलतः यसलाई आर्थिक पुनर्जागरण अभियानका रूपमा अघि बढाउने चीनको उद्देश्य रहेको छ । “बीआरआई जनस्तरको कार्यक्रम हो, अबको विश्वमा व्यापारमा संरक्षण नभइ स्वतन्त्रता चाहिन्छ र यस्ता अवसर बीआरआर्ई नै खोल्नसक्छ,” उनले भनिन् ।
बीआरआर्ईमा हालसम्म संसारका १३७ राष्ट्रले हस्ताक्षर गरिसकेका छन् भने सन् २०१७ को मेमा यसको पहिलो सम्मेलन भएको थियो र दोस्रो सम्मेलन गत अप्रिल महिनामा भएको थियो ।
चिनियाँ अधिकारीहरूका अनुसार बीआरआईले समेट्ने मुलुकका समुदायको आर्थिक तथा व्यापारिक पहुँच चिनियाँ बजारमा मात्र नभइ बीआरआईले नै विकास गरेको पूर्वाधारमार्फत यूरोप र अफ्रिकासम्म पु-याउने यसको लक्ष्य हो । प्रविधि हस्तान्तरण तथा रोजगारीका क्षेत्रमा भने यसबाट चुनौती सिर्जना आउनसक्ने उनीहरूको भनाइ छ ।
विकास निर्माण र साझेदारी बीआरआर्ईको पहिलो शर्त भएको चिनियाँहरू बताउँछन् । स्थिर व्यापार र आर्थिक गतिविधिमा रहेर जनस्तरको सम्बन्ध विकास गर्ने र स्थानीय स्तरबाट विश्वव्यापी स्तरमा सम्बन्ध विस्तारलाई यसको मूल अवधकारणा मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्