विश्वका हजारभन्दा धेरै आईटी विज्ञ नेपालमा

राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकोट–२०१८) नेपालमा सुरु भएको छ । यतिवेला विश्वभरबाट १ हजारभन्दा धेरै प्रतिनिधि सहभागिताका लागि नेपाल आएका छन् । सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमिमा बसेर काम गर्ने प्रतिनिधिको सहभागिता रहेको एनपीआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए ।
एप्रिकोटको २२ वर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपीआइएक्स)ले गरेको छ । सम्मेलनको आयोजना एसिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपीआईए) र एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपीएनआईसी)ले संयुक्त रूपमा गरेका हुन् । एप्रिकोटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरूले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क व्यवस्थापन र राउटिङ विषयमा प्रशिक्षण दिएका थिए । तालिममा १ सय ९० जनाको सहभागिता थियो । सम्मेलनको औपचारिक उद्घाटन भने आइतबार याक एन्ड यती होटलमा भएको छ ।
यस सम्मेलनमा ग्लोबल इन्टरनेट टेक्नोलोजीका विविध विषयमा छलफल हुने उपाध्यायले जानकारी दिए । सम्मेलनमा इन्टरनेट जाइन्ट कम्पनीहरू गुगल, फेसबुक ट्वीटरलगायतका प्रतिनिधिहरू पनि सहभागी हुन आइपुगेका छन् ।
सम्मेलनको प्रमुख बक्ता भिप्टेलाका सहसंस्थापक अमिर खान हुनेछन् । भिप्टेला अल्टरनेटिभ नेटवर्किङ कम्पनी हो । यसलाई गत वर्ष ग्लोबल जाइन्ट कम्पनी सिस्कोले ८ सय मिलियन डलर अर्थात करिब ८० अब रुपैयाँमा किनेको थियो ।
त्यस्तै समापनमा प्याकेट फेब्रिकका सहसंस्थापक विल चार्नोकले आफ्नो मन्तव्य राख्नेछन् । विलले सफ्ट लेयरका लागि नेटर्व बनएका थिए । यसलाई आईबीएमले सन् २००८ मा खरिद गरेको थियो । यस्तै म्यागासेसे विजेता महाबिर पुनले भविष्यका स्मार्ट सिटीहरू कस्तो हुनेछन् भन्ने बारे आफ्नो धारणा राख्ने कार्यक्रम छ । सम्मेलन १० दिनसम्म चल्नेछ । त्यसमध्ये ५ दिनसम्म सम्मेलनपूर्वका कार्यशाला भइसकेका छन् । वर्कसप सकिएपछि सेक्योर राउटिङ, सफ्टवेयर डिफाइन्ड नेटवर्किङ (एसडिएन) र नेटवर्क फङ्सन भच्युअलाइजेसन (एनएफभी) मा केन्द्रित रहेर सम्मेलन निरन्तर हुनेछ । शनिबार एसियाभरका इन्टरनेट एक्सचेन्ज सञ्चालक (एपीआइएक्स) हरूको सम्मेलन भएको छ । त्यसमा यस क्षेत्रका ४० देशका प्रतिनिधि सहभागी थिए । सम्मेलन अनुभव आदान प्रदान र सिकाइमा केन्द्रित रहने उपाध्यायले जानकारी दिए ।
एप्रिकट सुरु हुँदा सुरु–सुरुमा केही सीमित इन्जिनियरहरू सहभागी हुन्थे । पछिल्लो समय नीति निर्माण तहमा रहेकाहरूसमेत सहभागी हुन थालेकाले यति ठूलो इभेन्ट हुन थालेको हो ।