Logo

बाढीले झाँझ सिँचाइमा दुई करोडको क्षति

फाइल तस्बिर ।

जनकपुरधाम– गत असोज ११ देखि १३ सम्म परेको अविरल वर्षापछि आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा दु्ई करोड रुपैयाँबराबरको क्षति पुगेको छ । उक्त सिँचाइ प्रणालीमा पुर्‍याएको क्षतिका कारण सिँचाइ कार्यमा समेत समस्या उत्पन्न भएको कार्यालयका प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए ।

बाढीले सो कार्यलयअन्र्तगत झाँझ सिचाइ प्रणलीमा रहेका मूल नहर र शाखा नहरको डिल र तटवन्ध कटान गरेको, विभिन्न स्थानमा नहरहरु तोडफोड गरेको र नहरको गेट तथा हेडवक्र्समा क्षति पुर्‍याएको थियो । झाँझ नदीमा एक्कासी आएको बाढीले रौतहट जिल्लामा रहेको झाँझ सिँचाइ प्रणालीमा करिब दुई करोड मूल्य बराबरको भौतिक रूपमा क्षति पुगेको कार्यालयको प्रारम्भिक अनुमान छ ।

रौटहटको महम्मदपुर, शिवनगर, भेडियाही, देवाहीगुनाही तथा जयनगरलगायतका ग्रामीण क्षेत्रमा बाढीले ठाउँ–ठाउँमा भाँझ सिँचाइ प्रणालीको संरचना भत्काएको थियो । भाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको सो कार्यालयको सिँचाइ प्रणालीमा भएको क्षतिका सम्बन्धमा अनुगमन तथा निरीक्षणगरी सो क्षतिबारे जानकारी दिइएको हो ।

उक्त क्षतिग्रस्त संरचनाहरुको मर्मत सम्भार तथा निमार्णमा ठूलो रकम लाग्ने उनले बताए । समयमा मर्मत नगरेमा आउँदो हिउँदेबालीमा नहर सञ्चालन गर्न नसक्ने अवस्था आउने प्रमुख भगतले बताए । उक्त कार्यालयअन्र्तगत सिँचाइ आयोजनाको निर्माण २०३९/४० बाट सुरु भई २०४४/४५ बाट कार्यान्वयनमा आएको बताइएको छ ।

कार्यालयअन्र्तगत सर्लाहीतर्फ हिरापुर व्यारेज मनुष्कमारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर व्यारेज मनुष्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुईसय हेक्टर गरी ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उल्लेख गरिएको छ । त्यस्तै रौतहटतर्फ झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको थियो ।

सर्लाही तथा रौतहटमा गरी कूल १० हजार हेक्टर जमिनमा सो कार्यालयबाट सिँचाइ सुविधा पुर्‍याउँदै आएको कार्यालयले जनाएको छ । सो आयोजनाको निमार्णले हाल ६० हजार मेट्रिकटन भन्दाबढी खाद्यान्न उत्पादन भएको कार्यालय प्रमुख भगतले जानकारी दिए । चालु आर्थिक वर्षमा सो कार्यालयको पुँजीगत खर्च ६ करोड तथा चालुगत खर्च एक करोड ११ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्