Logo

दश वर्षमा पाँच खर्ब लगानी प्रतिवद्धता, ऊर्जापछि सेवा र पर्यटन प्राथमिकतामा

काठमाडौं– पछिल्लो १० वर्षमा मुलुकमा ५ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७१–७२ पछिका दश वर्षमा कुल ५ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ ।

यसमा ऊर्जामूलक परियोजनामा सबैभन्दा बढी १ खर्ब ४३ अर्ब ८७ करोड रुपैयाँबराबरको लगानी प्रतिवद्धता प्राप्त हुँदा दोस्रो स्थानमा रहेको सेवा क्षेत्रमा १ खर्ब ३९ अर्ब ५९ करोड तथा तेस्रो स्थानमा रहेको पर्यटन क्षेत्रमा १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँ लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

विभागले हालै सार्वजनिक गरेको ‘नेपालमा वैदेशिक लगानी, २०२४’ प्रतिवेदन अनुसार ऊर्जा क्षेत्र लगानीकर्ताको उच्च प्राथमिकतामा रहे पनि सेवा र पर्यटन क्षेत्रमा पनि सोही हाराहारीमा लगानीकर्ताको रुची रहेको देखिन्छ । विभागले विभिन्न ९ विधा निर्धारण गर्दै वैदेशिक लगानी भित्र्याउँदै आएको छ । जसमा कृषि तथा कृषिमा आधारित उद्योग, पर्यटन उद्योग, ऊर्जामा आधारित उद्योग, उत्पादनमूलक उद्योग, पूर्वाधार उद्योग, सेवा उद्योग, खानी तथा खानीमा आधारित उद्योग, यातायात क्षेत्र र सूचना तथा सञ्चार प्रविधि क्षेत्र रहेका छन् ।

विभागको तथ्यांकअनुसार यस अवधिमा ठूला उद्योगमा सबैभन्दा बढी लगानी प्रतिवद्धता प्राप्त भएको छ । कुल लगानी प्रतिवद्धतामध्ये झन्डै आधा ठूला उद्योगमा र त्यसपछि क्रमश साना र मझौला उद्योगमा लगानी प्रतिवद्धता रहेको छ । ठूला उद्योगमा २ खर्ब ४९ अर्ब ७६ करोड तथा साना उद्योगमा १ खर्ब ७६ अर्ब ६९ करोड लगानी प्रतिवद्धता रहेको विभागले जनाएको छ । यस्तै, मझौला उद्योगमा भने ८५ अर्ब ४२ करोड लगानी प्रतिवद्धता रहेको छ ।

संख्यात्मक रुपमा हेर्दा साना उद्योगमा सबैभन्दा बढी ५ हजार २९२ उद्योग दर्ता भएका छन् भने ६४२ मझौला र ३३३ ठूला उद्योग दर्ता भएको तथ्यांक छ । लगानी परिमाणका हिसाबले पहिलो नम्बरमा रहेको ऊर्जामा सबैभन्दा कम ९५ उद्योग दर्ता हुँदा पर्यटनमा सबैभन्दा बढी २ हजार १४७ तथा सेवा क्षेत्रमा २ हजार ८९ को संख्यामा उद्योग दर्ता भएको तथ्यांक छ । यस्तै, उत्पादनमूलकतर्फ १ हजार ३३९ गरी दश वर्षमा कूल ६ हजार २७६ उद्योग दर्ता भएका छन् । विभागका महानिर्देशक यज्ञराज कोइरालाका अनुसार पछिल्लो एक वर्षमा स्वचालित मार्गबाट पनि उद्योग दर्ता गर्न सकिने व्यवस्था भएसँगै वैदेशिक लगानी प्रतिवद्धता बढ्ने क्रममा छ । खासगरी सूचनामूलक उद्योग स्वचालित मार्गबाट दर्ता हुने गरेको विभागको भनाइ छ ।

यता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरू विदेशी लगानीको महत्व धेरै हुने भन्दै साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन आग्रह गरेका छन् । नेपालमा साना तथा मझौला उद्योगहरूले जिडिपीको करिब २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्दना अन्तरक्षेत्रीय साझेदारीको आवश्यकता उनले औल्याए । नेपाल विदेशी लगानी र प्रतिफलका लागि उचित गन्तव्य बन्न सक्ने उनको भनाइ थियो ।

उद्योग विभागमार्फत लगानी प्रतिवद्धता उत्साहजनक रहे पनि लगानी भित्र्याउने केन्द्रीय बैंकमार्फत प्राप्त तथ्यांक भने उत्साहजनक रहेको पाइँदैन । नेपाल राष्ट्र बैंकले अघिल्लो महिना सार्वजनिक गरेको तथ्यांक अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ । तथ्यांकअनुसार जलविद्युत क्षेत्रमा ८८ अर्ब ८१ करोड लगानी भित्रिएको छ भने उत्पादनमूलक क्षेत्रमा ८६ अर्ब ७७ करोड लगानी रहेको छ । यस्तै, वित्तीय तथा इन्सुरेन्स क्षेत्रमा ७६ अर्ब ७५ करोड, सूचना प्रविधिमा १९ अर्ब ७४ करोड र होटल तथा रेष्टुराँ क्षेत्रमा १८ अर्ब ५४ करोड रुपैयाँ विदेशी लगानी रहेको तथ्यांक छ । शिक्षा क्षेत्रमा १ अर्ब ६९ करोड र स्वास्थ्य क्षेत्रमा १ अर्ब सात करोड रुपैयाँमात्र लगानी रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्