Logo

इजरायल कामदार पठाउन ‘पर्ख र हेर’को नीति

काठमाडौं– इजरायलमा युद्धको त्रास बढ्दै गएपछि त्यहाँको अवस्थामा सुधार नआएसम्म जाने तयारीमा रहेका कामदारलाई नपठाइने भएको छ ।

केही महिनायता इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच तनाव बढ्दै गएपछि जाने तयारीमा रहेका नेपाली कामदार रोकिएका हुन् । सरकारले परराष्ट्र मन्त्रालयमार्पmत पछिल्लो घटनाक्रमको अवस्था बुझ्न तेल–अभिभस्थित नेपाली दूतावासलाई गरेको पत्राचारअनुसार तत्काल कामदार पठाउने कि नपठाउने भन्ने टुंगो लागेको छैन । वैदेशिक रोजगार विभाग राहत, उद्धार तथा अनुगमन शाखाका निर्देशक लोकनाथ भुसालले नेपाली दूतावासले त्यहाँको अवस्थाबारे के सुझाव दिन्छ सोहीअनुसार प्रक्रिया अघि बढाउने बताए । दूतावासलाई पठाएको पत्रको जवाफ हालसम्म नआएको उनले जानकारी दिए ।

इजरायल र लेबनान पक्षबीच हुन सक्ने युद्धलाई मध्यनजर गरेर दुई महिनाअघि नै इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने इजिप्टको कायरो दूतावासले सुरक्षित रहन त्यहाँ रहेकालाई नेपालीलाई अनुरोध गरेको थियो । अघिल्लो अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायल र उसका केही छिमेकी देशमा रहेका अतिवादी समूहबीच विवाद बढ्दै जाँदा इजरायल लगायत नेपाली श्रम गन्तव्य देशमा युद्धको त्रास बढेको छ । विभागका इजरायल तथा जापान शाखा निर्देशक गिरीराज ज्ञवालीले त्यहाँको सुरक्षा अवस्थाको विश्लेषण नगरी सरकारले युद्धग्रस्त क्षेत्रमा कामदार पठाउन नमिल्ने बताए ।

पछिल्लो समय इजरायलमा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएका कारण त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा चासो बढेको हो । सरकारले त्यहाँ जान तत्कालका लागि रोक लगाए पनि साउनमा ३९, भदौमा ३२ र असोजमा ३९ नेपालीले इजरायल जान व्यक्तिगत र पुनः श्रमस्वीकृति लिएको देखिन्छ । दूतावासले जान मिल्ने आशयको पत्र पठाए सबै कामदारलाई तीन महिनाभित्रको मेडिकल म्यादमा पठाउने विभागको तयारी छ । इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै जुनसुकै बेला इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी हुन सक्ने जनाउँदै सचेत हुन अनुरोध गर्दै आएको छ ।

दूतावासले दुई महिनाअघि नै त्यहाँ रहेका नेपालीलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन अनुरोध गरेको छ । ती प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षामा विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन अनुरोध गरिएको छ । दूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन पनि भनेको छ ।

परराष्ट्र मन्त्रालयले दुई महिनाअघि नै इजरायल तथा कायरोस्थित नेपाली दूतावासलाई दुई देशबीचको तनावको पछिल्लो अवस्थाबारे जानकारी राख्न निर्देशन दिएको थियो । इजरायलमा हाल १ हजार १ सय जिटुजी कामदारसहित ४ हजार २ सयभन्दा बढी नेपाली रहेका छन् । दुई महिनाअघि इजरायलले थप २ हजार नेपालीलाई रोजगारी दिने गरी आवेदन आह्वान गर्न नेपाललाई पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्