रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने «

रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने

नेपाल–चीन उद्योग वाणिज्य संघले लार्चामा सुक्खा बन्दरगाह सञ्चालनमा आएको र सडक मार्गबाट छिटो सुरक्षित रूपमा सामान नेपाल आइपुग्ने हुँदा धेरै आयातकर्ताहरू त्यसतर्फ आकर्षित भइरहेको एवं रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताएको छ ।
नेपाल–चीन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरूले नेपालका लागि चिनियाँ राजदूत होउ यांगजीसँग भेटघाटमा संघले नेपालमा स्थायी सरकार रहेको र लगानी मैत्री वातावरण बन्दै गइरहेको हुँदा चिनियाँ लगानीकर्ताहरूलाई नेपालका विविध संभावित क्षेत्रमा ठूलो लगानी ल्याउन पहल गर्न आग्रह पनि गरेको छ ।
साथै चीनमा हुने व्यापार मेलाहरूमा संघको सहकार्यमा व्यापारीहरूले नेपाली उत्पादन प्रदर्शन गरिरहेको र यस कार्यमा दूतावासबाट समेत सहयोगका लागि आग्रह गर्दै संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देशबीचको सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गरे ।
प्रतिउत्तरमा नेपालका लागि चिनियाँ राजदूत होउ यांगजीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्वपूर्ण रहेको कुरा बताउँदै चिनियाँ उत्पादनहरू सस्तो तथा गुणस्तरयुक्त भएको कारण विश्वमा नै ठूलो निर्यातमूलक राष्ट्र भएको कुरा बताइन् । साथै दुई देशबीचको व्यापार वृद्धिमा नेपालतर्फको साँगुरो सडक नै बाधकको रूपमा देखा परेको हुँदा दुवै राष्ट्र नेपालको सडक निमार्ण तथा विस्तारमा लागि परेको कुरा पनि बताइन् ।
नेपालमा विमानस्थालहरूको निर्माण तीव्र गतिमा भइरकेको र हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको प्रोजेक्ट पूर्ण गरी हस्तान्तरण गरिसकेको स्मरण गर्दै उनले अबका दिनहरूमा दुई देशबीच भएका विविध सम्झौताहरूको कार्यान्वयनमा जोड दिने जानकारी दिइन् ।
साथै नेपाल चीन उद्योग वाणिज्य संघ एक अग्रणी संस्था भएको र दुई देशबीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पिपल टु पिपल सम्बन्ध आदि प्रवद्र्धनमा गर्दै आएको कार्य सराहनीय रहेको र भविष्यमा समेत राजदूतावासले दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक क्रियाकलापहरूमा सहकार्य गर्ने कुरा पनि बताइन् ।
संघले उक्त अवसरमा आफना गतिविधिहरू तथा दुई देशबीच विद्यमान व्यापारिक संभावना र समस्याहरूबारे जानकारी दिँदै संघको विभिन्न सव काउन्सिल तथा संगठनहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान–प्रदान, व्यापारिक मेला, एस्पो, सेमिनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढिरहेको जानकारी गराएको थियो ।
हालै चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबाट दुई देशबीचको आर्थिक, लगानी तथा पर्यटनमा वृद्धि हुने बताउँदै उनले नेपाल चीनबीच नयाँ हवाई गन्तव्य विस्तार भएको र संघाई जस्तो ठूलो सहरहरूमा समेत सो सेवा विस्तार गर्नुपर्ने जसबाट नेपाल भ्रमण वर्ष–२०२० सफल हुने पनि संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्