नेपालगन्जको परम्परागत श्रमबजार
जहाँ वस्तु किनबेच भए सरह श्रमिक किनबेच हुन्छन्

नेपालगन्ज– देशमा बेरोजगारीको अवस्था कुन तहसम्म छ भन्ने बुझ्न टाढा जानु पर्दैन । बाँकेको नेपालगन्जस्थित खुला श्रमबजार यसको गतिलो उदाहरण हो । जहाँ हरेक दिन बिहान सबेरै पसलमा बेच्न राखेको सामान सरह श्रमिक किनबेच हुन्छन् । पसलको वस्तु किनबेच भए सरह श्रमिक किनबेच हुने यो परम्परागत श्रमबजार नेपालगन्जको रानीतलाउस्थित बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अगाडिको सडकमा हरेक दिन बिहान देख्न सकिन्छ ।
झट्ट हेर्दा कुनै सभा–सम्मेलन या आन्दोलनको झल्को दिने यहाँ हरेक दिन बिहान मानिसको मेला लागेको जस्तो दृष्य देखिन्छ । बेरोजगार श्रमिक र कामदारको खोजीमा रहेका साहु, ठेकेदार जमघट हुँदा केही वर्ष अघिसम्म त्रिभुवन चोक र त्यसपछि रामलिला मैदान हुँदै हाल यो सडक हरेक दिन बिहान मान्छेको भीडमा हराउने गरेको छ । बाँके, बर्दिया दाँग, सुर्खेत, रोल्पालगायत भारतका विभिन्न स्थानबाट यहाँ कामको खोजिमा भौतारिँदै बेरोजगार ब्यक्ति आउने गरेका छन् ।
यसरी आउनेमा युवायुवती मात्र होइन, उमेर कटेका वृद्धवृद्धा र काखेबालक च्यापेर आएकी महिलासमेत देखिन्छन् । लामो समयदेखि काम नपाउँदा घरमा खानेमाना समेत नभएपछि चार वर्षीय नाबालिका छोरीसहित श्रीमान् र आफू कामको खोजीमा आएको बर्दियाको बारबर्दियाकी सरस्वती थारुले बताइन् । ‘आम्दानीको अन्य स्रोत छैन, धेरै दिनदेखि खाली बसिरहेका छौं’, उनले भनिन्, ‘घरमा खानेकुराको पनि समस्या हुन थालेपछि कामको खोजीमा आएका हौं ।’ ‘अहिलेसम्म काम भेटेका छैनौ, काम पाए गर्न जान्छौ, नभए रित्तै फकिन्छौ, यसरी नै केहीदिन देखि हाम्रो दिनचर्या चलिरहेको छ,’ उनले भनिन् ।
यहाँका अधिकाँश नेपालीको रोजगार गन्तव्य भारत हो । तर सीमावर्ती भारतीय जिल्लाबाट भने रोजगारीका लागि यहाँ आउनेको संख्या पनि कम छैन । भारतको बहराइच जिल्लाअन्तर्गत बाबागन्जबाट कामको खोजीमा आएका सब्दर अलीले उता काम पाउन छोडेपछि कामको खोजीमा नेपालगन्ज आएको बताए । ‘केही दिनदेखि बाँकेको जानकी गाउँपालिकास्थित एकजना ठेकेदारकोमा घर बनाउने काम गर्दै आएको थिएँ,’ उनले भने, ‘त्यहाँ काम सकिएपछि हाल दैनिक श्रमबजारमा आएर काम खोज्ने गरेको छु ।’ भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा मजदुर कामको खोजीमा यहाँ आउने गरेको उनको भनाइ छ ।
यहा कामदार र साहुबीच आपसी समझदारीमा वस्तु किनबेच भएसरह कामदारको मोलमोलाई पछि किनबेच हुने गर्दछ । जस्ले गर्दा कामको खोजीमा विभिन्न ठाउँबाट यहाँ आएका मजदुरलाई उक्त दिनको काम गर्ने टुंगो लाग्ने गरेको छ । मजदुरलाई मात्र होइन नेपालगन्जको श्रमबजारले कामदार चाहिएका ठेकेदार या घरधनीलाई पनि सहज भएको छ । उनीहरू बिहान सबेरै त्यहाँ पुगेर वस्तु किने जसरी मोलमोलाई गरी मजदुर लैजान्छन् अनि सहमति भएअनुसार ज्याला दिएर काम लगाउँछन् ।
ठेकेदारका लागि कामदार खोज्न आएको भागिराम थारुले श्रमबजारले दुवै पक्षलाई सहज भएको बताए । तर यसको व्यवस्थापन नहुँदा कामदार ठगिने श्रमशोषण हुने गरेको उनको भनाइ छ । यो श्रमबजार कुनै नियामक निकाय या श्रमिकको संगठनले नचल्दा अस्वस्थ प्रतिस्पर्धा छ । जसका कारण श्रमिक सरकारले तोकेको भन्दा कम ज्यालामा काम गर्न बाध्य हुनुका साथै काम गरेको पारिश्रमिक नपाउने, ठगिने गरेको कामको खोजीमा बर्दियाको राजापुरबाट आएकी सुन्धरीया थारुले बताइन् । ‘हामीलाई काम पाउन धेरै दु:ख छ, मुश्किलले काम पाए पनि समयमै भुक्तानी नहुने श्रम शोषण हुने गरेको छ,’ उनले भनिन् ।
सरकारले यो श्रमबजारलाई व्यवस्थित गर्दै आफूहरूलाई सहज किसिमले रोजगारीको व्यवस्था गर्नुपर्ने डुडुवाका स्थानीय रतिराम चमारले बताए । यहाँ कुनै नियम कानुन नहुँदा जथाभावी हुने गरेको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्नुपर्छ ।’ परम्परागत किसिमले यो श्रमबजार चलेको भए पनि यसलाई व्यवस्थित गर्नेतर्फ भने कुनै पनि निकायको ध्यान जान सकेको छैन । नेपालगन्जमा रहेको श्रम तथा रोजगार कार्यालयसमेत यो बजारका साथै बाँकेका समग्र श्रमिकका बारेमा अनभिज्ञ छ ।
तर श्रमिक ठगिँदा उजुरी दिन सकिने व्यवस्था रहेको कार्यालयका प्रमुख कमल पौडेलले बताए । लामो इतिहास बोकेको नेपालगन्जको यो श्रम बजारले नेपालको समग्र बेरोजगारीको वास्तविक अवस्था दर्शाउँछ । सरकारले वेरोजगार युवालाई स्वदेशमा रोजगारी दिन प्रधानमन्त्री रोजगारलगायत विभिन्न कार्यक्रम ल्याएको जनाइरहँदा यी श्रमिकलाई त्यसले छुन सकेको छैन । यसका लागि दीर्घकालीन सोचका साथ नीतिगतरूपमा काम गर्न जरुरी छ ।