Logo

१० महिनामा कोरियाका लागि साढे ५ हजारको करार सम्झौता

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाले कामदार माग गर्दै आएका १६ स्रोत मुलुकमध्ये सबैभन्दा धेरै पठाउनेमा नेपाल भएको छ । एक वर्ष अघि बालकुमारीमा भएको घटनापछि नेपाली युवाको माग घटेर स्रोत मुलुकमध्ये छैटौं स्थानमा झरेको थियो । अहिले फेरी पहिलो स्थानमा आएको हो । कोरियाका रोजगारदाताले नेपाली कामदार मेहनती र इमान्दार रहेको जनाउँदै अन्य मुलुकको तुलनामा धेरै माग गर्ने गरेका छन् ।

यही कारण सन् २०२४ को हालसम्म (१० महिना ) मा लगभग ५ हजार ५ सय १४ नेपाली कामदारको कोरियामा करार सम्झौता भइसकेको छ । कोरियाले पछिल्लो समय नेपाली युवालाई प्राथमिकतामा राखेर छनोट गरिरहेका कारण नै १० महिनामा साढे ५ हजार कामदारसँग कोरियाका रोजगारदाताले करार सम्झौता गरेका हुन् । वैदेशिक रोजगार विभाग, इपिएस शाखाकी निर्देशक मैया कडेलले अन्य स्रोतमुलुकको तुलनामा कोरियाले नेपाली कामदार बढी माग गदै आएको जानकारी दिइन् ।

उनका अनुसार एचआरडी कोरियाले केही दिनयता त्यहाँ जाने युवाको उडान तालिका समेत धमाधम पठाई रहेको छ । यसले आगामी दिनमा संख्या अझ बढने उनको अनुमान छ । यो वर्षको हालसम्म नेपालबाट ७०० महिला सहित ५ हजार भन्दा बढी युवा कोरिया गएको कडेलले जानकारी दिइन । ‘इपिएस अन्तर्गत अन्य देशको तुलनामा नेपालवाट गएका कामदारको संख्या सबैभन्दा बढी छ,’ निर्देशक कडेलले भनिन, ‘सन् २०२३ मा १६ देशका कामदारको तुलनामा सबै भन्दा बढी पठाउने देश नेपाल भएको थियो ।’

उनका अनुसार विगतमा नेपालले ‘वेस्ट प्राक्टिस आउटस्टेन्डिङ अवाड’ प्राप्त गरेका कारण कोरियाले श्रमिक स्रोत मुलुकमध्ये नेपाललाई सबैभन्दा बढी सकारात्मक रुपमा हेर्दै आएको छ । कोरिया जानका लागि नेपालमा परीक्षा आवेदकको संख्या निकै बढी छ । यो संख्याको तुलनामा कोरियाबाट माग हुने संख्या भने कम छ । तर पनि इपिएस अन्तर्गत कोरिया जाने अन्य १६ देशको तुलनामा नेपालको संख्या भने बढी छ । आम्दानीका हिसाबले अधिकांक्ष नेपाली युवाको आकर्षणको गन्तव्य मुलुकमा कोरिया पर्ने गरेको छ ।

कोरिया जानका लागि युवाहरुको प्रतिष्पर्धाले नै यो गन्तव्य आकर्षित छ भन्ने देखिन्छ । नेपाली युवा मात्र होइन, कोरिया पनि नेपाली कामदार लिन इच्छुक देखिन्छन् । नेपाली युवाहरुको लगनशिलता, कार्यप्रतिको लगाव, अनुशासन र कोरियाप्रतिको प्रेमभाव राम्रो रहेका कारण कोरियाले धेरै नेपाली माग गरेको बताइन्छ । कोरियाको रोजगारदाताले पनि नेपाली कामदारलाई बढी विश्वास गर्छन् । कोरियाले समय सकिएर पनि गैरकानुनी रुपमा बस्ने देशका कामदारलाई लिन कम गरेको छ ।

अन्य देशको तुलनामा गैरकानुनी रुपमा कोरिया बस्ने नेपालीको संख्या कम छ । तोकिएको श्रम करार अवधि सकिए पछि नेपाली कामदार स्वदेश फिर्ता हुने गरेका छन् । यसले पनि कोरिया सरकारले नेपालका लागि कोटा बढाउने गरेको छ । सन् २०२३ मा कामदार आपूर्ति गर्ने १६ राष्ट्रमध्ये नेपालबाट सबैभन्दा धेरै १९ हजार ६८९ कामदार कोरिया गएका थिए ।

अहिले उत्पादन क्षेत्रतर्फ करिब ९ हजार ७२८ जना, कृषि क्षेत्रतर्फ ९ हजार ६७२ जना, सिपबिल्डिङ क्षेत्रतर्फ ३ हजार ८८५ जना र सिविटी क्षेत्रतर्फ ७५४ जना गरि करिब २४ हजार ३९ जना कोरिया जाने रोष्टरमा छनौटको प्रतिक्षामा छन् । कोरियामा काम गर्ने स्वदेशी वा विदेशी कामदारले बिना भेदभाव निर्धारित न्यूनतम पारिश्रमिक पाउने व्यवस्था छ ।

कामदारहरूले प्रतिघन्टा ९८६० कोरियन वनका दरले मासिक औसत २६ दिनको न्यूनतम २० लाख कोरियन वन (करिब २ लाख १० हजार रुपैयाँ) पारिश्रमिक प्राप्त गर्छन् । यसबाहेक ओभर टाइम र बिदाको दिन काम गरे अलग्गै भत्ता पाइन्छ । नेपालबाट प्रस्थान गर्नुअघि ६ वर्षे वैदेशिक रोजगार बीमा गर्नुपर्छ भने कोरिया पुगेपछि विदेशी कामदारले स्वास्थ्य बीमा, स्वदेश फिर्ता बीमा, दुर्घटना बीमा, चोटपटक बीमा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्