कास्कीमा धान उत्पादन घट्यो «

कास्कीमा धान उत्पादन घट्यो

पोखरा-यस वर्ष कास्कीमा धान उत्पादन घटेको छ । प्रतिकूल मौसमका कारण धान रोप्नुअघि बढी वर्षा भएको र धान रोप्ने समयमा खडेरी परेकाले कास्कीमा धान उत्पादन घट्न गएको कृषि ज्ञान केन्द्र स्याङजाका प्रमुख शालिकराम अधिकारीले बताए ।
उनका अनुसार कास्कीमा यस वर्ष २६ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाई भएसँगै उक्त क्षेत्रबाट ८० हजार ५ सय ७१ मेट्रिक्टन धान उत्पादन भएको छ । गत वर्ष कास्कीमा २३ हजार २ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भए पनि ८२ हजार ४ सय ५७ मेटिक्टन धान उत्पादन भएको प्रमुख अधिकारीले बताए ।
गत वर्ष भन्दा यस वर्ष २ हजार ७ सय ६४ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भएपनि गत वर्षको तुलनामा यस वर्ष १ हजार ८ सय ८६ मेट्रिक्टन धान कम उत्पादन भएको हो । यस वर्ष केही ठाउँमा धान फल्नुपर्ने ठाउँमा भुस मात्र फलेर उत्पादन घटेको उनले दाबी गरे ।
केही ठाउँमा धानमा ‘ब्ल्याक स्मट’ रोगका कारण धान उत्पादनमा कमी आएको प्रमुख अधिकारीले जनाए । पोखराको पहिचान नै भएको जेठोबुढो धान स्याङ्जाको तुलनामा कास्कीमा प्रतिहेक्टरमा कम फल्ने गरेको उनले बताए । उनका अनुसार स्याङजामा प्रतिहेक्टर जेठोबुढो ३.८२ मेट्रिक्टन धान उत्पादन हुने गरेको छ भने कास्कीमा प्रतिहेक्टर ३.०९ प्रतिशतले मात्र धान उत्पादन हुने गरेको छ ।
टिपिकल जेठोबुढोको सुद्धता हराउँदै जाँदा जेठोबुढो चामलमा हुने एक प्रकारको सुगन्ध विस्तारै हराउँदै गएको प्रमुख अधिकारीले दाबी गरे । उनले भने, “जेनेटिक कारणले गर्दा किसानले बिउ छनौट गर्दा मिसावट भएकोले गर्दा जेठोबुढो धानमा गुणस्तरमा ह्राश आएको हो ।”
यसैबीच, यो सिजनमा कास्कीमा हिउँदे बालीअन्र्तगत फलफूल तरकारी, आलु, बहुवर्षीय बाली अलैंचीलगायका बाली लगाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्