Logo

सहकारीको ऋण नतिरे परिवारका सदस्यको पनि सम्पत्ति र बैंक खाता रोक्का हुने

काठमाडौं– सहकारीबाट ऋण लिएर नतिर्ने सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीका परिवारको समेत सम्पत्ति तथा बैंक खाता रोक्का गरिने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त १८ सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई १५ दिनभित्र दायित्व फरफारक गर्न अन्तिम निर्देशनसहितको चेतावनी दिएको छ । यो समयभित्र ऋण र ब्याज नतिरे उनीहरुका परिवारका सदस्यको समेत सम्पत्ति तथा बैंक खाता रोक्का गरिने छ ।

समितिले कात्तिक १ मा सूचना प्रकाशित गरी १५ दिनभित्र सबै दायित्व फरफारक नगरेमा दायित्व बाँकी रहेका व्यक्ति, निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने चेतावनी दिएको हो । यस्तै, सबैलाई कालोसूचीमा राख्ने र रोक्का राखिएको सम्पत्ति लिलाम गरी ऋण असुल गर्ने बताइएको छ । यसअघि पटक–पटक सूचना जारी गरेर, एसएमएससमेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दा अटेर गरी सम्पर्कमा समेत नआएपछि १५ दिनभित्र समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न ‘अल्टिमेटम’ दिइएको समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले जानकारी दिए ।

समस्याग्रस्त घोषित संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका लागि पटक–पटक राष्ट्रियस्तरको पत्रपत्रिका र एसएमएस मार्फत ३५ दिने सूचना समेत प्रेषित गरेको उनले बताए । अधिकांश ऋणी सदस्यले सम्पर्क पनि नगरेको र आफूले तिर्नु–बुझाउनुपर्ने दायित्व तिरे–बुझाएको नदेखिएकाले अब सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय समितिले गरेको उनले जानकारी दिए ।

अन्तिम पटक १५ दिने सूचना प्रकाशित गर्ने र सो अवधिसम्म पनि ऋणी तथा जमानीकर्ताहरूले आफ्नो दायित्व तिर्न–बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालोसूचीमा राखिने उनले प्रष्ट पारे । सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (क) (ख) (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारबाही अगाडि बढाई ऋण असुल गर्ने समितिले निर्णय गरी सूचना प्रकाशित गरेको सदस्य सचिव पौडेलले जानकारी दिए ।

समितिले २०७५ देखि २०८१ सम्म समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई १५ दिनभित्र ऋण तिर्न सूचना जारी गरी चेतावनी दिएको हो । समितिले समस्याग्रस्त घोषणा गरेका स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई ऋण तिर्न अन्तिम अवसर दिएको छ ।

यसैगरी तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ऋणीलाई समितिले ऋण तिर्न १५ दिनको समय दिएको छ ।

समितिका अनुसार स्टाण्डर्ड सेभिङ एण्ड सहकारीलाई सरकारले २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेको थियो । यस सहकारीमा मागदाबी रकम ११ करोड ८ लाख रुपैयाँ थियो भने दाबीकर्ताको संख्या १ सय ७५ थियो । यसैगरी ऋणीको संख्या ३७५ थियो । जसमा हालसम्म ७० जना ऋणीले ४३ लाख ३२ हजार रुपैयाँमात्र फिर्ता गरेका छन् । यसैगरी प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ संस्थालाई पनि सरकारले २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेको थियो । यस सहकारीमा मागदाबी रकम ४८ करोड ७३ लाख रुपैयाँ थियो भने दाबीकर्ताको संख्या ३५२ सय ७५ थियो । यस्तै, ऋणीको संख्या २ सय १६ जना थियो जसमा हालसम्म १३ जना ऋणीले ६ लाख ४५ हजार रुपैयाँमात्र फिर्ता गरेका छन् ।

यसैगरी सोसाइटल बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले २०७५ फागुन १९ गते समस्याग्रस्त घोषणा गरेको थियो । यो सहकारीमा १० करोड ८७ लाख रुपैयाँ रकम मागदाबी गरेको थियो । माग दाबीकर्ता संख्या २ सय ४० जना थियो । यस्तै, ऋणको संख्या २८ थियो । समितिको तथ्यांकअनुसार हालसम्म ३ जना ऋणीबाट ६ लाख ३४ हजार रुपैयाँ फिर्ता भएको छ । प्रभु बचत तथा ऋण सहकारी संस्था २०७५ असार १८ गते समस्याग्रस्त घोषणा भएको थियो । यस सहकारीमा १३ करोड २० लाख रकमको मागदाबी थियो, जसमा माग दाबीकर्ताको संख्या १ सय ३८ थियो भने ऋणीको संख्या ८१ थियो । हालसम्म १२ जना ऋणीले २२ लाख ८ हजार रुपैयाँ तिरेका छन् ।

लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले २०७६ साउन १२ गते समस्याग्रस्त घोषणा गरेको थियो । यो सहकारीमा ११ करोड ७४ लाख रकमको मागदाबी थियो । मागदाबी गर्नेको संख्या २ सय १४ जना थियो भने ऋणीको संख्या २ सय ६ थियो । यसमा हालसम्म ८९ जना ऋणीले ४ करोड ५९ लाख रुपैयाँ तिरेका छन् । यसैगरी ओरेण्टल कोअपरेटिभ सहकारी २०७९ असोज ७ गते समस्याग्रस्त घोषणा भएको थियो । यसमा ३ अर्ब १९ करोड ५० रकमको मागदाबी थियो र दाबीकर्ताको संख्या ४ हजार २५९ थियो । समितिको तथ्यांकअनुसार हालसम्म ४१ जना ऋणीले २ करोड ७१ लाखमात्र फिर्ता गरेका छन् ।

सरकारले २०८० भदौ २५ गते समस्याग्रस्त घोषणा गरेको शिवशिखर बहुउद्देश्यीय सहकारीमा ९ अर्ब ४९ करोड रकम मागदाबी गरेको थियो, जसमा दाबीकर्ताको संख्या ३२ हजार ६ सय १३ जना छ भने ऋणीको संख्या २ हजार ५ सय ७० जना छ । हालसम्म जम्मा ४ जना ऋणीले २२ लाख ८० हजार फिर्ता गरेका समितिको तथ्यांक छ । यसैगरी हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा ठूलो रकमको मागदाबी र ऋणीको संख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्