Logo

दातृ निकायसँगको समन्वयमा ठूला परियोजना अघि बढाउँदैछौं

प्रकृति र संस्कृतिको धनि शहरको रुपमा परिचित पोखरा गण्डकी प्रदेश र नेपालकै पहिलो पर्यटनको राजधानीको रुपमा घोषणा भएको शहर हो । पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जासँग सीमा जोडिएको छ भने उत्तरी सिमानामा माछापुच्छ्र्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला रहेको छ । वि.सं. २०१६ मा १३ वडासहित गठित पोखरा नगरपालिका, पोखरा नगर पञ्चायत २०५२ मा विस्तारित भई १८ वडाको उप–महानगरपालिका बनेको थियो ।

गणतन्त्र स्थापना पश्चात् २०७१ मंसिर १६ गते पोखरा उपमहानगरपालिका आसपासका तत्कालीन गाउँ विकास समितिहरू मिलाएर २९ वटा वडा पुर्‍याएर पोखरा उप–महानगरपालिकामा रूपान्तरित भयो भने २०७२ सालमा नेपालको संविधान जारी भएपछि राज्य पुन: संरचना हुँदा साविकको पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका र मौजा, चापाकोट, कास्कीकोट, पुरञ्चौर पुरै, भदौरे तामांगी गाविसका वडा–३ र ९, माझठानाका वडा–१, ४ र ९, र कालिकाका वडा–१ र ५ मिसाएर ३३ वडा कायम गरी २०७३ फागुन २७ गते पोखरा लेखनाथ महानगरपालिका गठन भएको थियो ।

पोखरा महानगरपालिका नगर सभाको सिफारिस बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ साउन २३ गतेको निर्णय अनुसार पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर भई पोखरा महानगरपालिका कायम भएको छ । महानगरपालिकाको केन्द्र साविक पोखरा उप–महानगरपालिका कार्यालय न्यूरोडमा रहेको छ । भूगोलका हिसावले पोखरा महानगरपालिका देशको सबै भन्दा ठूलो महानगरपालिका हो । पोखरा महानगरपालिकामा तीन थरी भूगोल भएको हुँदा फरक फरक ढंगले योजना, नीति र कार्यक्रम हामीले ल्याएका छौं ।

साविकको पोखरा महानगरको शहर भनेर बुझिने ठाँउ जहाँ धेरै विकास भइसकेको छ, त्यसको सम्म भूभाग हेम्जादेखि लेखनाथसम्मको भरतपोखरीको तल्लो भाग भनेर अर्को सम्म भाग हो । विकास हुँदै गरेको क्षेत्र भने पहाडी क्षेत्र नै हो । हामीले सिंगो महानगरपालिकाको विकासका लागि तीन थरी भूभागको हिसावले योजना बनाउने र कार्यान्वयन गर्ने रणनीतिमा हामी जुटेका छौं । हामीले यसको विकासका लागि शहरी योजना आयोगसमेत बनाएका छौं । हामीले बनाएका योजना अघि बढाउन उक्त आयोगले कार्यान्वयन गर्ने छ ।

हामीले निर्माण गरेका योजनाको आधारमा अबको ५० वर्ष पछि पनि पोखरामा असर नपरोस भन्दै हामीले इन्जिनियरिङका हिसावले अबको ५० वर्षलाई लक्षित गरी दीर्घकालिन योजना अनुसार अघि बढेका छौं । हामीले नीतिगत रुपमा सिंगो महानगरको पञ्चवर्षीय योजनालाई समेत अघि बढाउँदै छौं । पोखरा महानगरपालिकाले अल्पकालीन दीर्घकालीन र मध्यमकालीन योजना अगाडि बढाउनका लागि सहरी योजना आयोग स्थापना गरेको छ ।

हामी के कुरामा पनि सचेत छौं भने २०३१ सालतिर पोखरालाई कस्तो बनाउने भन्ने त्यतिबेलाको योजना बनाउने जे खालको भूउपयोग नीति थियो त्यो आज हाम्रो लागि त्यो बेला त्यो नगरेको भए शहरमा खोजेको कुरा नहुँदो रहेछ भन्ने अनुभूति गरिएको छ । त्यसरी नै अबको ५० वर्षमा पनि हामीले गरेका निर्णयले पोखरालाई असर नपरोस् र हामीले बनाउन खोजेको पोखरा त्यस्तो नबनोस् भन्नका खातिर हामी सचेत भएर काम गरेका छौं । अर्को कुरा चाँहि हामीले पोखरा महानगरपालिकामा ठूला परियोजना आयोजना गर्नका लागि महानगरपालिकाको आफ्नै बजेट हुन त अब हामीसँग ७ देखि ९ अर्बको बजेट पनि फरक फरक वर्षमा बजेट ल्याएका छौं ।

तर चाँहि यो विकास निर्माणका लागि यो बजेट चाँहि अत्यन्त कम हो । त्यसकारणले गर्दा पहिला दातृ निकायमा आएको दरार अन्त्य गर्दै उनीहरुसँगको सम्बन्ध हामीले सुमधुर बनाएका छौं । अहिले पोखराभित्र नयाँ परियोजना थपिने क्रममा छन् । २८ सय करोड भन्दा बढीका परियोजनाहरू कार्यान्वयनकै चरणमा अगाडि बढेका छन् । यो झट्ट हेर्दा हाम्रो लागि यो ठूलो उपलब्धि हो । यसमा ठूला प्रयोजनाका कार्यक्रमहरू पर्दछन् । कोत्रेदेखि विरौटासम्मको ठूलो मोटररेबल बाटो बन्दैछ । टेण्डर भएर काम अगाडि बढिरहेको छ । सिसुवा शीर्षघाटसम्मको बाटो बनिरहेको ।

तालचोक बेगनास खण्डको बाटो बनिरहेको छ । साढे ३ अर्बको यो परियोजना हो । यसरी अगाडि बढेका छन् सडकको हिसाबले । साँच्चै पोखरा के हो भन्दा पोखरा पर्यटनकै राजधानी होे । यसलाई मूर्त रूप दिनका लागि पनि हामीले १८ महिना यसमा धेरै मेहन गर्‍यौं । पोखरालाई हामीले गत चैत ४ गते पर्यटनको राजधानी सहरको रूपमा घोषणा गरेका छौं । गण्डकी प्रदेश सरकार पोखरा महानगरपालिका र केन्द्र सरकारको पनि सहकार्यमा घोषणा गरिएको हो । केन्द्रको पनि अब यसमा फोकस हुनुपर्छ भन्ने कुरा यो निर्णयले हामीलाई त्यहाँ पुर्‍याउन बाध्य हुनेछ ।

हामीले एसियाली विकास बैंकको दीगो पर्यटन विकासको लागि करिब साढे सात अर्बको परियोजना अघि बढाएका छौं । पोखराका नौ वटा ताललाई जोड्ने साइकल ट्रयाक । साइकल ल्याण्डको समेत कुरा चलिरहेको छ । साइकल ल्याण्ड र साइकल ट्रयाक तथा साइकल लेन बनाउने अभियानमा हामी छौं । ११७ किलोमिटरको साइकल ट्रेल हुन्छ भने साइकल प्रेमीका लागि ६० किलोमिटरको साइकल लेन हुन्छ । यसको सम्भाव्यता अध्ययन भइरहेको छ । केही दिनदेखि जापानिज कन्सल्टेन्टको टिम पनि यसमा लागिरहेको छ ।

सबै प्रयोजनालाई अगाडि बढाउन १८ करोडको कन्सलट्याण्टको काम अघि बढेको छ । दीगो पर्यटन परियोजना अन्तरगत छनौटमा पुगेर टेण्डर सबै सकिएर अन्तिम टेण्डरको काम बाँकी रहेको छ । सडकको स्तरोन्नतिदेखि सम्पूर्ण सम्भाव्यता अध्ययन गर्न सकिने पञ्चासेको बारेमा जान्न बुझ्न सकिने योजना अघि बढेको छ । भन्ज्याङमा एउटा सेल्टर बनाउने योजना रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखराको लेकसाइड क्षेत्रमा जानका लागि फास्ट ट्रयाक बनाउने अर्को परियोजना अघि बढाउँदै छौं ।

अर्को पोखराको पुरानो बजार भनेको रामकृष्ण टोल, गणेश टोललाई पुरानो सम्पदा क्षेत्र बनाउने गरी योजना अगाडि बढाइएको छ । पोखराको प्रवेशद्वार कोत्रेमा प्रवेश पार्क निर्माण गर्ने तयारी भइरहेको छ । पोखरामा के पाइन्छ भन्ने सम्पूर्ण जानकारी पनि त्यहाँ उपलब्ध हुनेछ । त्यसैगरी पोखराभित्र सेती नदी सहरभित्र लुकेर हिँडेको अवस्था देखिन्छ । सेतीगजको एउटा अध्ययन अवलोकन विशेष क्षेत्रको रुपमा विकास गर्ने योजना पनि अगाडि बढाइएको छ । पहिलो चरणमा एडिबीको परियोजना अन्तर्गत शान्ति वन बाटिकालाई बोटानिकल गार्डेन बनाउनेदेखि लिएर केही योजनाहरू अघि बढेका छन् ।

अन्य २१ वटा योजनाहरू त्यसको पाइपलाइनमा छन् । त्योबाहेक पोखराको वातावरण र पर्यावरणको हिसाबले पनि पोखरा संसारको सुन्दर ठाउँ यसलाई हामीले त्यसरी नै कोइकाको सहयोगमा ग्रीन ट्रान्सपोर्टेशन पोखरामा सुरू भएको छ । पहिलो चरणको सामग्रीहरू बोर्डरमा आएर बसिसकेको छ । यसमा हामी केही बस स्ट्याण्डहरू बनाउनेदेखि लिएर हामी अझ व्यवस्थित बनाउने लैजाने योजनामा रहेका छौं । हाल पोखरामा जथाभावी सवारी साधनहरू हिँड्ने खाली माइक्रो बसहरू हिँड्ने यो समस्या रहेको छ ।

पोखरामा बसपार्क व्यवस्थित गर्नका लागि पोखराको पृथ्वीचोकमा रहेको १४८ रोपनीमै बसपार्कलाई व्यवस्थित गर्न हामीले योजना अघि सारेका छौं । हाल अस्थायी रूपमा बसोबास गरेका व्यक्तिलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि राजनीतिक दलहरूसँग पनि एक चरणको छलफल अगाडि बढिसकेको छ । पोखराभित्र रहेका सार्वजनिक जमिन संरक्षण र खोजी नीति गर्ने काममा पनि हामी अगाडि बढिरहेका छौं । भर्खरै झण्डै ४०० रोपनी जमिन नेपाल सरकारको नाममा आएको छ र यसरी हामी लुकेका सरकारी जग्गालाई पनि सरकारी मातहतमा ल्याउने अभियानमा लागेका छौं ।

केही बसपार्क र केही जोखिमपूर्ण ठाउँमा बसेका १९ हजार ८५६ जनालाई अहिले सेतो निस्सा दिएका छौं । सुकुम्बासी बस्ती जहाँ जोखिममा बसिराख्नु भएको छ उहाँहरुलाई पनि व्यवस्थापन गर्ने विषयमा पनि सोचिरहेका छौं । समग्रमा भन्दा पोखराको दीर्घकालीन हिसावले पोखरा बनाउने अभियानमा हामी जुटेका छौं । सडकमा राखेका सवारी भलपानीले बगायो । ढल भल व्यवस्थापनका लागि पनि पोखरालाई पाँच ठाउँमा बाँडेका छौं । एउटा हेम्जा एरिया अर्काे सेतीदेखि पश्चिमको एरिया, सेती र विजयपुर, लेखनाथको क्षेत्रलाई बाढेर जम्मा ४१ अर्बको परियोजना अगाडि बढाउँदैछौं ।

लामाचौर बाटुलेचौरदेखि फेवातालमा मिसिने फोहोर पानीको प्रशोधन गरी व्यवस्थापन गर्नेछौं । पानी शुद्धिकरण गरी फुस्रे खोलामा दूषित पानी फाल्ने गरी जाइकाको प्रोजेक्ट करिब ११ अर्बको परियोजना अघि बढाएका छौं । पोखरामा शुद्ध खानेपानीको आयोजना ९९ प्रतिशत पूरा भएको छ । यसको निर्माण अन्तिम चरणमा पुगेको छ र परीक्षण गर्न मात्र बाँकी छ । पोखरालाई सुन्दरता दिनका लागि क्लिन पोखरा ग्रीन पोखराको अभियान पनि अगाडि बढाएका छौं । यसमा युएसएडले जल जंगल भन्ने कार्यक्रमले सहयोग गरेको छ ।

हामीले पोखरामा २ लाख ५६ हजारका विभिन्न प्रजातिका बिरुवा रोप्ने योजना अगाडि बढाएका छौं । पोखरालाई सफा, सुन्दर र स्वच्छ राख्नका लागि विभिन्न अभियानमा हामी जुटेका छौं । दैनिक सडक सरसफाई गर्न पनि ठूलो मेनपावर लगाएका छौं । वातावरण, पर्यावरण र भौतिक संरचनाको हिसाबमा पनि पोखराको समग्र विकासका लागि र सांस्कृतिक धरोहर पनि संरक्षण र सम्वद्र्धन गर्न हामी सचेत छौं । पछिल्लो समयमा धार्मिक तथा पर्यटकीय गन्तव्यको चर्चाको शिखरमा रहेको पुम्दिकोटमा निर्माण भएको महादेव मूर्तिले अहिले एउटा छुट्टै पहिचान बनायो ।

त्यस्तै पोखराका अन्य विभिन्न क्षेत्रहरूमा पनि त्यही ढंगले विकास गर्न पनि हामी लाग्ने छाैं । कश्यप ताल नजिकै रहेको कास्कीकोट क्षेत्रको त्यसको ऐतिहासिकतालाई ध्यान दिँदै वन्दावन धाम बनाउन अमेरिकामा बस्ने नेपालीहरुसँगको सहकार्यमा अघि बढेको छ । केही ठूला धार्मिक विषयमा पनि कुरा अघि बढेको छ । टुंगो लागे पछि मात्र हामी सार्वजनिक गर्ने छौं । धार्मिक र सांस्कृतिक रुपमा विकास गर्न असोजभित्र २० वटा परियोजना, बेगनासतालमा वाटर स्पोट्र्स, हेलमेट डाँडाको प्रवर्द्धन, विन्ध्यवासिनी बस पार्क बनाउनेलगायतका योजना रहेका छन् । पोखरा सभागृह त महानगरले आफैं बनाउँदैछ ।

यदि कसैसँग पोखराको बृहत हित हुने प्रकारका कुनै योजना भए ल्याउनसमेत हामीले आह्वान गरेका छौं । विगतका वर्ष भन्दा यस वर्ष ८ हजार भन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । ५५ बुँदामा विद्यालय सुधारका कार्यक्रम गरेका कारण केही सुधार भएको हो । अमेरिकी विश्वविद्यालय र अष्ट्रेलियन विश्वविद्यालयको सहकार्यमा महानगरका सबै नागरिकको पर्सनल तथ्याङक राख्ने गरी काम गर्र्दै छौं । यसमा स्वास्थ्य अवस्थाका बारेमासमेत सम्बोधन गरिन्छ । यसरी पोखराको समग्र विकासका लागि एक साथ विभिन्न कार्यक्रम अघि बढाएका छौं । पोखराको फोहोर मैला व्यवस्थापनको लागि हामीले १ वर्ष अघिदेखि पोखरा–३३ मा प्रशोधन केन्द्र बनाउने अभियानमा लागेका छौं ।

१८८ मेट्रिकटन फोहोरबाट ७ मेगावाट विद्युत उत्पादन हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै अन्तर्राष्ट्रिय हवाई उडान हुन नसकेको अवस्थामा नोभेम्बरबाट कुनै न कुनै कम्पनीबाट पोखरादेखि अन्तर्राष्ट्रिय हवाई उडान हुन्छ भन्ने हामीले विश्वास लिएका छौं । पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्ने विषयमा हामीले आवश्यक पहल गर्ने छौं । पोखरा महानगरपालिकाका ३३ वटै वडाबाट प्रदान गर्ने सेवा चुस्त दुरुस्त बनाउने नागरिकहरुले कुनै प्रकारको झण्झट तथा दु:ख नपाउने प्रकारको सेवा दिन महानगर तत्पर छ ।

सूचना प्रविधिलाई के के विषयमा जोड्न सकिन्छ त्यसलाई जोड्नका लागि अधिकत्तम प्रविधिको प्रयोग गरी जिपिएस सिस्टमसहितको आधारमा डिजिटलाइजेशन गरेका छौं । हाम्रो घर नक्सादेखि ठेगनासमेत पत्तालगान जिपिएस ट्रयाकिङ सिस्टम अघि बढाएका छौं यो एक वर्षमा पूरा हुन्छ । हामीले अनुभूति हुने गरी महानगरपालिका भित्र प्रविधिलाई जोड्न सकिन्छ । .हुन त पहिला हामीले स्मार्ट सिटी भन्यौं तर सूचना प्रविधिलाई के कसरी जोड्न सक्छौं भन्नेतर्फ काम पनि गरी रहेका छौं । यसको परिणाम केही समय पश्चात देखिने नै छ ।

प्रतिक्रिया दिनुहोस्