हुम्लाको पहिचान चैतलो

हुम्ला – हरेक गाउँको फरक–फरक चालचलन र संस्कृति हुम्लाको पहिचान हो । एउटा गाउँमा एक खालको संस्कृति पाइन्छ भने अर्को गाउँमा अर्को । एक गाउँको बासिन्दाले अर्को गाउँको संस्कृतिमा सहयोग गर्नु अर्को विशेषता हो । पहिचान, संरक्षण र प्रवद्र्धनको अभावमा यस्ता चाडपर्व, रहनसहन, चालचलन, रितिरिवाज बाहिर ल्याउन सकिएको छैन ।
सदररमुकाम सिमिकोट र यसका आसपासका गाउँमा मनाइने चाडपर्वमात्र केही चर्चामा आउने गरेका छन् । सदरमुकाममा जिल्लाभरका मानिसको आवागमन हुनु र अन्य जिल्लाबाट पर्यटकको रूपमा सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने कर्मचारीले गर्दा यस्ता खालका चाडपर्वको चर्चा हुने गरेको छ । त्यसमध्येको एक महत्वपूर्ण चाड हो ‘चैतलो’ ।
हरेक वर्षको फागुन १२ गते मनाइने यो पर्वको नाम चैतलो किन राखिएको हो भन्ने बारेमा स्थानीयको भिन्न–भिन्न राय रहेको छ । फागुनदेखि जिल्लाका बस्तीमा चिसो कम हुने, बसन्त ऋतुको आवागमनको स्वागतार्थ यो पर्व मनाइएको हो भन्ने पनि गरिन्छ । केहीले चैत महिनाबाट अन्नपात हरियाली हुने, वनपाखामा हिउँदमा सुकेको घाँसपात पलाएर नयाँ पालुवा पलाउने हुँदा हर्षको रूपमा यो पर्व मनाइने प्रचलन रहेको स्थानीय तिर्थराज रोकायाले बताए ।
चैतलोलाई महिलाको शौभाग्यको रूपमा पनि मान्ने चलन छ । लोग्ने जीवित भएका महिलाले मात्र यो पर्वमा नृत्य गर्ने अवसर पाउने गर्छन् ।
चैतलो पर्व हुम्लाको सिमिकोट र ठेहे गाउँको एक रैथाने पर्व हो । अन्य भागमा यो पर्व मनाउने नगरिएको भए पनि सबै गाउँठाउँका दर्शकको उपस्थिति ठेहे र सिमिकोटमा हुने गर्दछ । चैतलो पर्वको सुरुको दिन सबै घरधुरीका विवाहित महिलाले पहेँलो पिताम्बर ओढेर गरगहनाको साथमा नजिकै रहेको सार्वजनिक स्थानमा भेला हुने गर्दछन् ।
साथमा ल्याइएको अक्षता पाती देवतालाई चढाएर ठड्याइएको लिंगोलाई धामी नृत्यको साथमा सिला हालिन्छ । सुरुको दिन मिठोमसिनो खाने र राम्रो लगाउने चलन रहेको छ । चैतलो गीत महिलाले मात्र गाउने चलन रहेको छ । महिलाको समूहले वर्षभरीका १२ महिनामा हुने गरेको सुख दुःख अनि गर्नुपर्ने चालचलनको बयानको साथमा मंगल गीत गाउने चलन रहेको छ । रातिको समयमा महिला र पुरुषको संयुक्त चुट्किला खेल खेलिन्छ ।
हरेक वर्ष फागुन १२ गतेबाट सुरु हुने यो पर्व हुम्लाको सिमिकोट र ठेहे गाउँमा मात्र मनाइने चलन छ । ३ दिनसम्म मनाइने यो पर्वमा जिल्लाभित्रका हरेक गाउँ र जिल्ला बाहिरबाट हजारौंको दर्शनार्थीको उपस्थितीमा यो पर्व मनाइने चलन छ । हरेक वर्षमा ऋतु परिवर्तनसँगै गाउँमा सुख शान्ति होस् भनेर विवाहित महिलाले मंगल गान गाउने प्रचलन रहेको छ । श्रीमान्लगायत घरका सबै परिवारलाई सुख स्वास्थ्य होस् भन्नको लागि पहेँलो रंगको पिताम्बर ओढेर दिनभरी गाउने चलन छ । नयाँ कपडा, मिठो खानपान, गरगहना लगाएर आपसी सद्भाव यो पर्वमा साट्ने गरिन्छ ।
हरेक घरको महिलाको अनिवार्य उपस्थिति हुने यो पर्वमा राति भने देउडा खेल्ने चलन छ । देउडामा समसमायिक परिवेश, माया भाव झल्कने गीतसमेत पुरुष तथा महिलाले गाउने चलन रहेको छ । कतिपय युवाको घरबार, बिहे पनि यही चैतलोको दिनमा जुर्ने गरेको छ । यस बेला कुनै दिन र साइत देखाउनु नपर्ने पौराणिक मान्यता रहेको छ । देउडा गीतमा मायाको गीतले ‘छोट्टी’अर्थात् केटी फकाएर भगाउने समेत चलन रहेको छ । रातभर देउडा गीत खेल्ने चलन छ । स्थानीय क्लब र बासिन्दाले चैतलो खेलमा सहभागी हुने महिलाको लागि खिर र जुसको समेत व्यवस्था गर्ने गरेका छन् ।
दोस्रो दिनमा अघिल्लो दिन गरेको लवाई–खवाई कोही कसैको आँखा नलागोस् भनेर राक्षसलाई विभिन्न क्रियाकलापले भगाउने पौराणिक मान्यता अनुसार ‘बाक्पा’ अर्थात् लाखे नृत्य देखाउने चलन छ । नृत्यकारले काठबाट बनेका विभिन्न आकृतिका मकुण्डो धारण गरी नृत्य गरिन्छ । घोडाको भेष, राक्षसको भेष गरी दैत्यलाई भगाउने क्रियाकलाप देखाउने चलन छ । चैतालो मनाइने हरेक राति युवाको जोडदार देउडा नृत्यले रौनक छर्ने गरेको छ ।
तेस्रो दिनमा भने दर्शक सबैको सहभागितामा खेलकुदका क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । सटपुट हान्ने, ढुंगा उठाउने लगायतको खेलले जिल्लाकै को पहलमान भन्ने निर्धारण गर्ने गरेको छ । हरेक खेलका खेलाडीको लागि नगद पुरस्कारसहित सम्मान समेत गरिन्छ ।चैतलो पर्व हेर्नकै लागि जिल्लाभित्र र बाहिरका गाउँबाट हजारौं दर्शकको उपस्थिति हुने गरेको छ । यस पर्वले आन्तरिक पर्यटकलाई निकै आकर्षण गर्ने गरेको छ । सिमिकोट र ठेहेमा भएका घर अनि होटेलमा राम्रै व्यापार व्यवसाय हुने गरेको छ । विशेषगरी सुन, चाँदी, कपडा र खानपानको पसललाई भ्याईनभ्याई हुने गरेको छ । गाउँमा आएका पाहुनालाई स्थानीयले स्वागत सत्कारको साथमा खानपिनसमेत गराउँछन् ।
हुम्लाका दूरदराजमा मनाइने यस्ता खालका पर्व र संस्कृतिको प्रचारप्रसार र उचित व्यवस्थापन गर्न सकिए पर्यटकलाई आकर्षण गर्न सकिने र आयआर्जन बढाउन सकिने सिमिकोट गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जयचन्द्र रोकाया बताउँछन् ।