प्रयोगविहीन कर्णालीको एकीकृत कृषि प्रयोगशाला

वीरेन्द्रनगर– कर्णालीमा स्थापना भएको एकीकृत कृषि प्रयोगशाला नाम मात्रको भएको छ । १० जिल्लाका बहुसंख्यक किसानको भविष्य र कृषिमा दिशाबोध गर्ने उद्देश्य बोकेको प्रयोगशाला गुमनाम हुँदा नागरिकहरु मर्कामा परेका छन् । वर्षेनी कर्णालीका किसानले लगाएको अन्नबालीमा रोगको प्रकोप देखिए पनि प्रयोगशाला बेखबर रहेको आरोप लाग्दै आएको छ ।
कर्णाली सरकारको मातहतमा रहेको प्रयोगशाला कृषि क्षेत्रमा प्रयोगमा आउन नसकेको गुनासो रहेको छ । अघिल्लो वर्षदेखि सुर्खेतनको सिम्ता गाउँपालिका भित्र लगाएको धान बालीमा मरुवा रोग लाग्दा उत्पादनमा गिरावट आउन थालेपनि हालसम्म समस्याको समाधानतर्फ ध्यान जान सकेको छै्रन । पाक्नै लागेको धानबालीमा रोग लागेपछि समस्या भएको कृषकले बताएपनि प्रयोगशालाबारे किसानहरु बेखबर छन् ।
बाली भित्र्याउने समयमा रोगबाट संक्रमित हुँदा आम्दानी घट्ने सम्भावना रहेको किसान यज्ञ रोकायले बताए । गाउँपालिकाको सबै भन्दा बढी धान उत्पादन हुने वडा–५, ८ र ९ मासमस्या देखिएको एकीकृत कृषि प्रयोगशालाका नयाँ कार्यालय प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए । रोयकाले भने, ‘यो मरुवा रोग हो । पात सुक्ने, बाला चुँडिएर जाने, गेडा नलाग्ने समस्या हुने गर्छ । ९० प्रतिशत बालीमा क्षति पुग्न सक्ने सम्भावना हुने गर्छ । सिम्तामा चाँही ५० प्रतिशत धानबालीमा क्षति पुग्ने मैले देखेको छु ।’
अघिल्लो वर्षसमेत मरुवा रोगले यहाँको धानबालीमा समस्या बनाएको पाइए पनि किसानले खबर नगरेको उनले जानकारी दिए । सिम्ताको सबै भन्दा बढी धान उत्पादन हुने ठाउँमा मरुवाको आक्रमण हुँदा किसानहरु बढी पीडित भएको उनले थपे । बिउबाटै यो रोगको संक्रमण हुने उनको दावी छ । धानको जात बदल्ने, कम्पोष्ट मलको प्रयोग गर्ने र माटो जाँच गराएर उपयुक्त जात सिफारिस भए यो रोगबाट बच्न सकिने प्राविधिकहरु बताउँछन् । सुर्खेतमा मरुवासँगै फड्के किराको प्रकोप पनि देखिएको उनले जानकारी दिए ।
प्रभावकारी बन्न नसकेको एकीकृत कृषि प्रयोगशाला
२०७५ साल असोज २४ मा बीउको गुणस्तर नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिन एकीकृत कृषि प्रयोगशाला स्थापना गरिएको थियो । प्रयोशालाले कर्णाली प्रदेशका १० जिल्लाका विभिन्न कृषक समुह, बीउ कम्पनी, सहकारी, कृषि विकास कार्यालय र फार्म केन्द्रमा उत्पादित बीउ, बाली निरीक्षण, बीज प्रमाणिकरण, बीउको उमार शक्ति, परीक्षण, भण्डारण निरीक्षणका साथै सबै निजी क्षेत्रबाट बिक्री हुने बीउको गुणस्तर नियन्तण गर्ने लक्ष्य रहेको छ ।
तर स्थापना भएदेखि हालसम्म कर्णालीका किसानले यसको लाभ लिन सकेका छैनन् । प्रयोगशालाको अगुवाईमा कृषि विकास कार्यालयमार्फत स्थानीय तह, तथा कृषि क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थासँग समन्वय गरी दिगो रूपमा माटोमा भएको उर्वराशक्ति बढाउने उद्देश्य भएपनि सो हालसम्म हुन सकेको छैन । माटो विश्लेषण सर्वेक्षण र अध्ययनको आधारमा विभिन्न समस्याको पहिचान गर्ने र समाधानका उपाय पत्ता लगाई सिफारिस गरी कृषि प्रसार कार्यलाई सहयोग पुर्याउने प्रदेश सरकारको लक्ष्य अझै प्रयोगशालाबाट हुन सकेको छैन ।
सामान्य रुपमा माटो परीक्षणको शिविर राखिए पनि कर्णालीका सबै जिल्लामा यसको प्रभाव तथा कार्यक्रमहरु सञ्चालन हुन सकेको छैन । माटोमा आउने विभिन्न किसिमका विकृति अमिलोपना, नुनिलोपना सुधारका लागि कृषि चुन तथा हरियो मल सिफारिस गर्ने भनिए पनि त्यो व्यवहारमा लागू हुन सकेको छैन । माटोको उर्वराशक्ति वृद्धिका लागि हरियो मल, प्राङ्गारिक मल, गोबर मलका अतिरिक्त रासायनिक मलले खेलेको भूमिकाबारे कृषकलाई अवगत गराउने उद्देश्य राखिएको थियो ।
उद्देश्य अनुसार कार्यालयको काम कर्मचारी पाल्ने मात्र भएपनि आफूहरु समस्यामा परेको कर्णालीका किसानले बताउन थालेका छन् । एकीकृत कृषि प्रयोगशाला भित्र बिउ विजन प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला र बाली संरक्षण प्रयोगशाला सञ्चालन रहेका छन् । तर नतिजाविहीन प्रयोगशाला हुँदा नागरिकले यसको अनुभूति गर्न नसकेका हुन् ।