तिहारअघि माथिल्लो तामाकोसी सञ्चालनमा नआउने

दोलखा– सडककै कारण माथिल्लो तामाकोसी जलविद्युत केन्द्र (४५६ मेगावाट) तिहार अघि सञ्चालनमा आउन नसक्ने भएको छ । माथिल्लो तामाकोसीको हेडवक्स भएको लामाबगर पुग्ने सडक नै अवरुद्ध भएकाले क्षतिग्रस्त जलविद्युतको मर्मत गर्न समय लाग्ने भएको हो । आयोजनाको भूमिगत क्यानल र कम क्षति भएको एउटा बालुवा थिग्राउने पोखरी मर्मत गरी सञ्चालन गर्ने तयारी थालेपनि सामान लैजान सडक नै नभएपछि मर्मतमा समेत अवरोध भएको छ ।
पहिरोले विगू गाउँपालिका–१ काभ्रेभीर भन्दा केही माथि करिब एक सय मिटर बाटो नै विच्छेद गरेको छ । भीरको सडक तल र माथि दुवैतिरबाट ग्याविनसहित खसेपछि हिड्नसमेत कठिन भएको छ । सडक सुचारु नभइ अरु काम सुरु गर्न नसकिने अवस्था भएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।
अहिले सडकको पुनर्निर्माण र क्षतिग्रस्त क्यानल र कम क्षति भएको बायाँ साइडको डिसाण्डर मर्मतका लागि रोल्वालिङ जलविद्युत आयोजनाको ठेकेदार हाइ हिमाल कन्ट्रक्सनलाई जिम्मेवारी दिइएको छ । सडक निर्माण भएपछि सामान लगेर क्षतिग्रस्त विद्युत केन्द्रको पुनर्निर्माण गर्नुपर्ने भएकाले समय लाग्ने उनले बताए । सडक निर्माणका लागि पनि ठूला ठूला ढुंगा विस्फोट गराउनु पर्ने बाध्यता रहेको छ भने सिंगटीको ४६ नं टावर भाँच्चिएको छ ।
सडक बन्द भएपछि लामाबगर आवत जावत नै बन्द छ । गत असोज १२ गते परेको वर्षाका कारण पहिरोले क्षतिग्रस्त भएको आयोजनाको उत्पादन बन्द छ । उत्पादन बन्द भएपछि विद्युत बिक्रीबाट २५ दिनदेखि दैनिक ४ करोड आम्दानी गुमेको छ भने भारत निर्यातसमेत प्रभावित भएको छ ।
यसरी चल्छ अस्थायी रुपमा
सडक सुचारु भएसँगै सामान्य ममर्तपछि नदी प्रवाही (आरओआर) प्रणालीबाट खोलामा पानी उपलब्ध भएसम्म बिजुली उत्पादन गर्ने तयारी भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । आयोजनाका क्षतिग्रस्त दुईवटा सेटलिङ बेसिन (बालुवा थिग्य्राउने पोखरी) मध्ये कम क्षति भएको संरचनाको मर्मत भइरहेको छ । त्यसको मर्मत गरी आंशिक रुपमा नदी प्रवाही प्रणालीमा बिजुली उत्पादन गर्न सकिने गौतमले जानकारी दिए ।
पहिरोले क्षति पुर्याउनुअघि आयोजनामा भदौ अन्तिमदेखि कात्तिकभर २४ सै घण्टा र नदीमा पानी घटेका बखत दिनभरि पानी जम्मा गरेर साँझपख जडित क्षमता ४५६ मेगावाट मै उत्पादन हुँदै आएको थियो । यसअघि समुद्र सतहदेखि १९८७ मिटरको उचाइसम्म पानी जम्मा गर्न सकिन्थ्यो । माथिबाट ढुंगसहितको पहिरोले सेटलिङ बेसिनमा क्षति पुर्याएपछि पानी जम्मा गर्न नसकिने अवस्था छ ।
आयोजनाले समुद्र सतहदेखि १८८३ मिटर उचाइको तह निर्धारण गरी खोलामा जति पानी छ, त्यति नै पठाएर बिजुली उत्पादन गर्ने तयारी भइरहेको गौतमले जानकारी दिए । आयोजनाको पानीको तह न्यूनतम सतह १९८२.५ र अधिकतम १९८७ रहेको छ । गौतमका अनुसार यसरी नदी प्रवाहीमा चलाउँदा कात्तिकमा ३०० मेगावाट, मंसिरमा १७०, पुसमा १५०, माघमा १०० र फागुन–चैतमा ७६ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ ।
आयोजनाका अनुसार पहिरोले दायाँतर्फको डिस्याण्डर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । त्यसैगरी बक्स कल्भर्टमा २० प्रतिशत क्षति पुगेको छ भने नियन्त्रण कक्ष रहेको भवन पूर्णरुपमा क्षतिग्रस्त छ । बायाँपट्टीको डिस्याण्डर कम क्षति भएको तर १० मिटर अग्लो ढुंगा झरेर बसेको छ । पहिरो र बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण अनुसार एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरिएको सीइओ गौतमले बताए ।
आयोजनाको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ । पहिरोले क्षति पुर्याए लगत्तै आयोजनाका पूर्व प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठको नेतृत्वमा एक प्राविधिक अध्ययन समिति गठन गरिएको छ । त्यसैको सिफारिसका आधारमा कम्पनीले पुनर्निर्माणको काम गर्ने छ । ‘आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल संरचनाको प्रारम्भिक क्षति अनुमान १ अर्ब ८० करोड रुपैयाँ छ’ गौतमले भने, ‘राम्रो ठेकेदार पर्यो भने आगामी वर्षको हिउँदअघि आयोजना पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य छ ।’
दशैं बिदा अवधि भर पनि निरन्तर कार्य भइरहेको तामाकोसीका प्रमुख प्रबन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिए । शनिबार ऊर्जा मन्त्री दिपक खड्कासहितको टोलीले स्थलगत भ्रमण गरी जलविद्युत केन्द्रको पुनर्निर्माण चाँडो गर्न निर्देशन दिएको छ । मन्त्रीसँगै मन्त्रालयका सचिव सुरेश आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहितका सुरक्षा अधिकारीसमेत थिए । यसअघि पहिरोले क्षति पुर्याए लगत्तै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तमाङ नेतृत्वमा स्थलगत भ्रमण गरेका थिए ।