महाशिलामा पर्यटकका लागि तीन करोडको आश्रम
पर्वत– पर्वतको महाशिलामा तीन करोड रुपैयाँको आश्रम भवन निर्माण गरिएको छ । यो एशियाकै ठुलो आश्रम भवन हो । महाशिलाको दर्शन र अवलोकनका लागि आउने पर्यटकहरुको सुविधाका लागि उक्त भवन निर्माण गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा भवन निर्माण गरिएको थियो ।
विसं २०७८ भदौदेखि उक्त भवनको निर्माण कार्य सुरु गरिएको थियो । तीन तला भएको पक्की भवनमा १७ कोठा रहेका छन् । जसमा पर्यटकहरुका लागि सुत्ने कोठाहरु, खाना पकाउने, खाना खाने, तालिम, गोष्ठि तथा सेमिनार गर्ने हल, योग तथा साधना गर्ने कोठाहरुको व्यवस्था गरिएको छ । धुलिखेल निर्माण सेवा प्रालि बानेश्वर काठमाडौंले भवन निर्माणको जिम्मा पाएको थियो ।
महाशिलामा दर्शन तथा अध्ययन, अवलोकनका लागि स्वदेश तथा विदेशवाट आउने पर्यटकहरुको सुविधाका लागि भवन निर्माण गरिएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए । आश्रम भवनको सबै जसो निर्माण कार्य सकिएको छ । अब भवनका लागि आवश्यक फर्निचर, सुत्ने बिस्तरालगायत खाना पकाउने भाँडाकुँडा तथा डाइनिङ रुमका लागि आवश्यक सामग्रीहरु खरिद गर्न बाँकी रहेको उनले बताए ।
उक्त भवन स्थानीय महाशिला गाउँपालिकालाई हस्तान्तरण भइसकेको छैन । भवनबाट सेवा सञ्चालनका लागि चालु आर्थिक वर्षमा समेत डेढ करोड रुपैयाँ विनियोजन भएको छ । उक्त रकमले भवन वरिपरि घेरा वार लगाउने काम समेत गरिने भएको छ । भवनमा एकै दिन ५० जनाभन्दा बढी पर्यटकहरु राख्न सकिने अध्यक्ष पौडेलले जानकारी दिए । यहाँ आउने पर्यटकहरु जतिदिन बस्न चाहे पनि आश्रममा नि:शुल्क बस्ने र खाने सुविधा दिइने भएको छ ।
केही वर्षअघिसम्म आवश्यक प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकहरु बढ्दै जान थालेका छन् । लुुंखुदेउरालीमा पक्की मोटर बाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङ्जा, गुल्मी, बुटवल, पाल्पालगायतका जिल्लाबाट सिधै पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताइन । अधिकारीका अनुसार महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती रहेको छ । एक पटक घुम्दा १० मिनेट भन्दा बढी समय लाग्ने उनले बताइन् । महाशिलामा हरेक एकादशी, बाला चतुर्दशी, शिवरात्रि, राम नवमी, अक्षय तृतीयालगायतका चाडपर्वमा मेला लाग्ने गर्छ ।
महाशिला गाउँपालिकाको नामकरण समेत यही शिलाको नामबाट गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै दश रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीहरुले नि:शुल्क जग्गा समेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए । महाशिला गाउँपालिकाले यसको विकासका लागि ७० करोड रुपैयाँको गुरुयोजना समेत बनाएको छ । गुरुयोजना अनुसार कामहरू अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए ।