कृषिमा प्रविधि प्रयोग बढ्यो

दाङ– कृषिमा प्रविधि प्रयोग बढ्दो क्रममा रहेको छ । बाली लगाउँदादेखि काटेर घरमा भित्र्याउने बेलासम्म प्रविधिको प्रयोग हुन थालेको हो । धान काट्ने प्रविधिको प्रयोगले बाली काट्दा लाग्ने समय, श्रम र पैसाको बचतसँगै सहजता हुने भएपछि प्रविधिको प्रयोग बढ्दै गएको गढवा गाउँपालिका–६ वसन्तापुर निवासी किसान बंशराज यादवले बताए ।
मानिस लगाएर धान काट्दा समय धेरै व्यक्ति लाग्नुका साथै दु:ख बढी हुने भए पनि प्रविधिको सहयोगले छोटो समयमै धेरै काम गर्न सकिने उनले बताए । गाउँघरमा धान काट्नेदेखि दाउनसम्मका लागि मानिसहरू नपाइने भएकाले आफूले धान काट्नेदेखि खेतबारी जोत्न पावर टेलर किनेर कृषि व्यवसाय गरिरहेको उनले बताए । उनले भने,‘गाउँमा काम गर्ने मानिस नहुँदा कृषि व्यवसाय गर्न समस्या भइरहेको थियो । तर अहिले प्रविधिको प्रयोगले सहजता भएको छ । खेत जोत्न, बाली काट्नदेखि घरमा भित्र्याउन सहजता भएको छ ।’
धान काट्ने मेसिन रिपरको प्रयोगले आफ्नो मात्र नभएर गाउँघरमा अन्य किसानको समेत धान काट्ने गरेको र त्यसबाट आम्दानी हुने गरेको उनले बताए । धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको भन्दै उनले भने, ‘सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर पहेलैं भएको समयमा किसानलाई धान भित्र्याउन सहयोग पुग्ने गरेको छ ।’ हप्ता दिनसम्म हातले थोरै थोरै धान काट्ने गरेका किसान अहिले एकै दिनमा मेसिनको प्रयोगले धेरै धान काट्ने गरेको उनको भनाइ छ ।
गाउँघरमा खेतवारी जोत्नदेखि धान दाउनसम्मलाई गोरु तथा राँगा पाल्ने प्रचलन हराउँदै गएपछि आफूले पनि टयाक्टर र थ्रेसरको प्रयोग गरेर खेतवारी जोत्नेदेखि दाउनसम्मको काम गर्ने गरेको घोराही उपमहनगरपालिका– ५ का सन्तोष थापा बताउँछन् । प्रविधिको प्रयोगले कम श्रममा र छिटो छरितो काम गर्न सकिने भएकाले पछिल्लो समय गाउँमा धेरै टयाक्टरको सहयोगले खेतबारी जोतेर कृषि व्यवसाय गर्न थालेको उनले बताए ।
गाउँघरमा खेतबारी जोत्नका लागि गोरु वा राँगा पाल्ने प्रचलन नै हराउँदै गएको भन्दै उनले भने,‘प्रविधिको प्रयोग कृषिवाली गर्न थालेपछि गोरु वा राँगा पाल्ने प्रलचन हराएको जस्तै भएको छ ।’ घरमा एक्लै भए पनि प्रविधिको सहयोगले कृषि व्यवसाय गर्न सकिने भएकाले सहजता भएको भन्दै उनले भने,‘पहिले धान काट्न, घरमा ल्याउन र दाउनलाई करिब १५/१५ दिन लाग्ने गथ्र्यो, तर अहिले प्रविधिको प्रयोगले दुई/तीन दिनमै खेती भित्र्याउन सकिन्छ ।’
प्रविधिले सहजता बनाएपछि कृषिमा लाग्नेहरूको संख्यामा समेत वृद्धि हुँदै गएको छ । कृषिमा लाग्नेहरूको संख्या वृद्धि भएसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको छ । उत्पादन बढेसँगै बाहिर निर्यात समेत हुँदै आएको छ । पछिल्लो समय समय कृषि क्षेत्रमा युवाहरूको आकर्षण समेत बढेको छ । कृषिमा प्रविधिको प्रयोगले किसानलाई सहजतासँगै उत्पादनमा वृद्धि गर्न समेत सहयोग पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवं कृषि विज्ञ पृथ्वीराज लामिछाने बताउँछन् ।
उनका अनुसार पछिल्लो समय जिल्लामा धेरै जसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने गरेर कृषि कार्य गरिरहेको उनले बताए । उनले भने,‘पछिल्लो समय जिल्लामा पहिले जस्तो गोरु र राँगा पालेर खेती गर्ने चलन हराउँदै गएको छ । धेरै किसानले प्रविधिको प्रयोगले कृषि व्यवसाय गर्न थालेका छन ।’ उनका अनुसार जिल्लामा खेत जोत्ने साना तथा ठूला टयाक्टरदेखि धान दाउनलाई सबै जसो ठाउँमा थ्रेसर प्रयोग गर्ने गरिए पनि धान काट्ने प्रविधि बिस्तारै बढ्न थालेको उनको भनाइ छ ।