तिप्लिङको स्याउ गाउँमै खपत
धादिङ– तराई, पहाड र हिमाली हावापानी पाइने धादिङको तिप्लिङमा उत्पादित स्याउ गाउँमै खपत हुने गरेको छ । मुस्ताङको स्याउ जस्तै रसिलो र मिठो भएको कारण उत्पादित स्याउ गाउँमै खपत हुने गरेको हो । जिल्लाको भूभाग समुन्द्री सतहबाट तीन सय मिटरदेखि सात हजार एक सय मिटरसम्मको उचाइ रहेको छ ।
भौगोलिक विविधता र सम्भावनाले भरिपूर्ण यो क्षेत्रको दक्षिणमा महाभारत लेक र उत्तरमा पाविल हिमाल रहेको छ । पाविल हिमालको काखमा रहेको तिप्लिङ गाउँ आलु खेतीका रूपमा पनि चर्चित छ । केही वर्ष यता तिप्लिङ रुवी ढुंगाको चर्चामा रहेको थियो । यही रुवी ढुंगाकै नामबाट गाउँपालिकाको नाम रुवी भ्याली नामाकरण गरिएको हो । पछिल्लो पाँच वर्ष यता यस क्षेत्रमा स्याउ खेती गरिएको छ ।
रुवीभ्याली गाउँपालिका– १ तिप्लिङका योहान तामाङले ६ वर्षअघि लगाएको स्याउ यस वर्ष पनि गाउँबाटै विक्री गरेको बताए । आलु फल्ने बारीमा स्याउ फलेको देखेर योहान आफै दंग छन् । तर उनले करिब ३० वर्षअघि नै आफ्नै बारीको स्याउको स्वादले आकर्षित गरेको बताए । फुजी, गोल्डेन रेड, डेलियसियस र क्रिस्पिन जातका बिरुवा ल्याएर परीक्षणका लागि लगाइएका बिरुवाहरूले अघिल्लो वर्षबाट उत्पादन दिन सुरु गरेको उनले बताए ।
लामा दाजुभाइले व्यावसायिक रूपमा स्याउ खेती गर्न रुवी एग्रो तिप्लिङ नामको फर्म दर्ता गरी सोही फर्मबाट स्याउ खेती गरिरहेका छन् । स्याउ उत्पादन हुन थालेपछि बजार कसरी पुर्याउने चिन्ता बोकेका लामा दाजुभाइको यस वर्ष पनि बोटबाटै सजिलै सँग स्याउ बिक्री भएको छ । गाउँमै स्याउ उत्पादन भएको खबर थाहा पाएपछि रुवीभ्यालीका स्थानीयले यो वर्ष पनि बारीमै पुगेर स्याउ किनेका हुन् ।
स्थानीय मात्र होइन रुवीभ्याली गाउँपालिकामा कार्यरत सरकारी, बैंक तथा वित्तीय कार्यालय र गैर सरकारी संस्थाका कर्मचारी, शिक्षकलगायतले बारीमै पुगेर बोटबाटै छानी छानी स्याउ किनेर लगेको लामाले बताए । बगैंचाबाटै स्याउ किन्नेलाई प्रतिकिलो १७० रुपैयाँमा बिक्री गरिएको उनले जानकारी दिए । ‘पहिलो वर्ष ९ सय केजी स्याउ बिक्री गरेका थियौं । यस वर्ष ५ सय किलो मात्रै बिक्री गरिएको छ,’ उनले भने ।
समयमै वर्ष नहुँदा अघिल्लो वर्षको तुलनामा उत्पादन झण्डै ५० प्रतिशत घटे पनि उत्पादित स्याउको गुणस्तर भने मुस्ताङकै स्याउ सरह रहेको छ । तिप्लिङमा फलेको स्याउ जिल्लाका सदरमूकाम तथा बजारसम्म पुर्याउन सडक पहुँच सहज छैन । सडक सहज भएको भए अझ बढी मूल्यमा बिक्री गर्न सकिने लामा बताउँछन् । भण्डारणका लागि धादिङमा सुविधा सम्पन्न कोल्ड स्टोर छैन । स्याउ भण्डारण गर्नु पर्ने अवस्था पनि नआएको उनको भनाइ छ ।
तिप्लिङका अधिकांश गाउँवस्ती हिमाली भेग भएकाले यहाँको चिसो हावापानीमा स्याउ खेती सम्भावना राम्रो देखिएको रुवीभ्याली– १ का पूर्व वडाध्यक्ष पेम्वा घलेले बताए । यहाँ फलेको स्याउको स्वाद मुस्ताङकै सरह पाइएकाले खेती बिस्तार गरेर बजारीकरणको व्यवस्था गरेमा गरिबीको रेखा मुनी रहेका रुवीभ्यालीका किसानलाई आर्थिक रूपमा सवल बनाउन सकिने घलेले बताए । स्याउ खेती सुरु गरिएको मचेत गाँउ काठमाडौंबाट दुई सय तीन किलो मिटर र धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा छ ।
काठमाडौं–धादिङवेशी–तिप्लिङ करिब एक सय ७० किलोमिटर रहेको छ । धादिङको गल्छी, नुवाकोटको त्रिशूली हुँदै रसुवाको स्याफु्रबेसीबाट धादिङको सोम दाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ । सदरमुकाम धादिङ बेसीबाट साङकोष, कटुन्जे, चरङ्गे, किन्ताङफेदी, दार्खा, झार्लाङ, बोराङ हुँदै तिप्लिङ नजिकै सडक सञ्जाल जोडिएको छ । रुवीभ्यालीको मुख्य उत्पादन आलु नै हो । यसका अलवा भेडा र चौरीको उत्पादन पनि राम्रो हुने गरेको छ ।